कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उर्लाबारीमा चक्कु प्रहार गरी किशोरको हत्या

देवनारायण साह

मोरङ — उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो ।

४ वटा मोटरसाइकलमा आएका उर्लाबारी–८ कदम टोलका ७/८ जनाको समूहले अपराह्न १२ बजेर १५ मिनेटतिर छिमेकी दाइ भुरन चौधरीको आँगनको ट्युबवेलमा पानी खाइरहेको बेला अभिषेक र उनका साथी सुशन धामीलाई चक्कु प्रहार गरी घाइते बनाएको उर्लाबारी–८ का वडा सदस्य लक्ष्मी ढुंगानाले बताए ।

‘मोटरसाइकलमा आएका केटाहरुले माछा मारेर घर आएपछि ट्युबवेलमा हातखुट्टा धोइ पानी खाइरहेको बेलामा जबर्जस्ती समातेर चौधरीको कोखालगायतको शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाका थिए,’ उनले भने, ‘घाइते अभिषेकलाई तत्काल उर्लाबारीको अरनिको अस्पताल लगिएको तर त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोडको बिएण्डसी अस्पताल रिफर गरिएको थियो ।’

बिएण्डसी अस्पताल लगेपछि चिकित्सकले अभिषेकलाई मृत घोषणा गरेको इलाका प्रहरी उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

खड्काका अनुसार उनीहरुको चक्कु प्रहारले तिघ्रालगायत शरीरका विभिन्न भागमा चोट लागेका धामीको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा कदम टोलका १८ वर्षीय निशान राई, राकेश कार्की र पवन कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । घटना के–कति कारणले भएको र कसको चक्कु प्रहारबाट अभिषेकको मृत्यु भएको लगायत विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक खड्काले बताए ।

स्थानीय समेत रहेका वडा सदस्य ढुंगानाले दुई छिमेकी टोल थारु टोल र कदम टोलका किशोरहरुको सामूहिक झगडामा अभिषेकको ज्यान गएको बताए । ‘कदम टोलका केटाहरुले आइतबार पनि थारु टोलमा आएर झगडा गरेर गएका थिए,’ उनले भने, ‘मोटरसाइकलमा आएका केटाहरुले ट्युबवेलमा पानी खाइरहेका अभिषेकसँग एक शब्द पनि नबोली समातेर नजिकैको शौचालयको पर्खाल नजिक लगेर चक्कु प्रहार गरेर भागेका थिए ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले दुई टोलका किशोरहरुले फुटबल खेल्ने क्रममा भएको विवादले घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी उर्लाबारीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेकोले अनुसन्धानबाट थप कुरो खुल्ने बताए ।

प्रकाशित : श्रावण ११, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?