१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

फेरि गाँज्यो कोरोनाले, तेस्रो लहरको जोखिम

भारतसँगको खुला आवागमनलाई तत्काल रोकेर व्यवस्थित गर्न विज्ञको सुझाव 
दैनिक संक्रमण बढिरहे पनि सर्वसाधारणले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइरहेका छैनन्
देवनारायण साह

विराटनगर — निषेधाज्ञा खुकुलो बनाएपछि प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेको छ । यस प्रदेशमा शनिबार २७ दशमलव ६८ प्रतिशत रहेको संक्रमण दर आइतबार बढेर २८ दशमलव ६१ पुगेको छ । 

फेरि गाँज्यो कोरोनाले, तेस्रो लहरको जोखिम

आइतबार १ हजार ५ सय ८५ जनाको पीसीआर परीक्षण गरिएकामा ४ सय ५७ र एन्टिजेन परीक्षण गरिएका ७ सय ६७ जनामध्ये २ सय १६ गरी कुल ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश १ मा शनिबार १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकामा तीन सय ३८ र २ हजार २ सय ८१ जनाको एन्टिजेन परीक्षण गरिएकामध्ये ७ सय ५३ गरी कुल १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार नै ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

प्रदेशमा शुक्रबार २४ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ३ हजार चार सय ८६ जनाको कोरोना परीक्षण गर्दा आठ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना संक्रमणले ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार २ हजार ६ सय ४ जनाको कोरोना परीक्षण गर्दा २९ दशमलव ८८ प्रतिशत अर्थात् सात सय ७८, बुधबार ३ हजार ८७ जनाको परीक्षण गर्दा ३० दशमलव ३९ प्रतिशत अर्थात् नौ सय ३८ र मंगलबार ३ हजार ६ सय ६० को परीक्षण गर्दा ३० दशमलव १९ प्रतिशत अर्थात् १ हजार एक सय ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

झापामा एक सय ७५, मोरङमा एक सय ८०, सुनसरीमा एक सय २१, इलाममा ११, उदयपुरमा ३२, संखुवासभामा १२, तेह्रथुममा २०, धनकुटामा १६, खोटाङमा १४, ताप्लेजुङमा ६, पाँचथरमा ३६, भोजपुरमा २५, ओखलढुंगामा १३ र प्रदेश १ बाहिरका ११ जनामा आइतबार संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्ममा पीसीआर परीक्षणमा ८१ हजार ३ सय ९३ र एन्टिजेन परीक्षणमा २६ हजार ६ सय ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये हाल ६ हजार दुई सय ६६ जना सक्रिय संक्रमित छन् । जसमा विभिन्न अस्पतालमा पाँच सय २६ र आइसोलेसन केन्द्रमा दुई सय ४५ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

एन्टिजेन परीक्षणमा संक्रमण देखिएकाको उपचारको अवस्थाबारे मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छैन । यस प्रदेशमा आइतबार तीन सय ५२ जना संक्रमणमुक्त भएका छन् भने ५ महिला र ४ पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय दैनिक संक्रमण बढिरहे पनि सर्वसाधारणले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइरहेको भने देखिँदैन । कोरोना संक्रमण पुनः तीव्र गतिमा बढ्ने देखिएकाले सचेतता अपनाउनुको विकल्प नभएको चिकित्सकहरूको भनाइ छ । कोरोनाको तेस्रो लहरले संक्रमितको संख्या बढिरहेको भारतसँग पूर्व र पश्चिममा सिमाना जोडिएको यस प्रदेशस्थित सीमा नाकाहरूमा सर्वसाधारणले निस्फिक्री भारततर्फ आउजाउ गरिरहेकाले संक्रमणको जोखिम उच्च रहेको छ ।

यस प्रदेशमा संक्रमण बढिरहेका जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न सर्तसहितको निषेधाज्ञा साउन १५ गतेसम्मका लागि जारी गरेको छ । प्रदेशको राजधानी मोरङ जिल्ला प्रशासनले बिहान ५ बजेदेखि साँझ बजेसम्म मात्रै पूर्ण रूमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बजार पसल सञ्चालन गर्न पाउने गरी साउन १४ मध्य रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण बढिरहेकाले गुद्री बजार, साप्ताहिक हटिया, पार्टी प्यालेस, जिमखाना, खेलकुद गतिविधि, धार्मिक, सांस्कृतिक, मेला, सामूहिक भेला, सभा, गोष्ठी, शैक्षिक संस्था, विवाह, व्रतबन्ध र सीमानाका बन्द रहने व्यवस्था गरेको बताए ।

प्रजिअ निरौलाले सीमानाका बन्द रहने व्यवस्था गरे पनि सुरक्षाकर्मीहरूले तस्करीको लाइन चलाउन सहायक तथा चोर नाकाहरू खुला गरेकाले भारततर्फ आउने जानेको घुइँचो लाग्ने गरेको छ । विज्ञहरूले तेस्रो लहर कोरोनाको दोस्रो लहरभन्दा पनि खतरनाक हुने र बालबालिकाहरू बढी जोखिममा पर्ने भएकाले पूर्वतयारी गर्न सुझाव दिँदै आएका छन् ।

कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले निषेधाज्ञा खुलेसँगै संक्रमणमा वृद्धि भइरहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्नुको विकल्प नभएको बताए । उनले भारतमा कोरोनाको तेस्रो लहरका संक्रमित बढिरहेकाले नेपालमा पनि यसको जोखिम उच्च रहेको हुँदा सबैलाई सचेतता अपनाउन आग्रह गरे । उनले भारतबाट भइरहेको खुला अवागमनलाई तत्काल रोकेर व्यवस्थित अवागमन गराउनतिर सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।

सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाको तेस्रो लहर फैलिने जोखिम भएकाले सीमानाकामा भइरहेको आउजाउ तत्काल रोक्न सीसीएमसीको बैठकमा प्रस्ताव राख्ने र मुख्यमन्त्रीसँग पनि कुरा गर्ने बताइन् ।

‘तेस्रो चरणको कोरोना संक्रमणमा बालबालिकाहरू जोखिममा पर्ने विज्ञहरूको भनाइलाई गम्भीरतापूर्वक लिएर तयारी थालेका छौं,’ उनले भनिन्, ‘प्रदेश मातहतका अस्पतालहरूलाई कोरोनाको तेस्रो लहरका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै आवश्यक छलफल गर्दै आएको छु ।’ स्थानीय तहहरूसँग पनि तेस्रो लहरका लागि आवश्यक तयारी गर्न लागिपरेको मन्त्री राईले बताइन् ।

प्रकाशित : श्रावण ११, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?