बस्ती नै कटानको जोखिममा

डिल्लीराम खतिवडा

उदयपुर — निरन्तरको वर्षासँगै त्रियुगा नदीमा आएको बाढीका कारण तटीय क्षेत्रका गाउँबस्ती कटानको जोखिममा परेका छन् । तीव्र रूपमा भइरहेको कटानले चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका थिए ।

बस्ती नै कटानको जोखिममा

बाढी घट्दै जाँदा कटान बढेपछि तीनै बस्ती जोखिममा परेका हुन् । दुई दिनयता वर्षा कम भए पनि कटान बढेको छ । कटानले चौदण्डीगढी नगरपालिकको ५, ९ र १० वडा जोखिममा छन् । बेलका नगरपालिकको १ र २ नम्बर वडा प्रभावित भएका छन् ।

बाढीले चौदण्डीगढी नगरपालिका–५ सिवाइघाटमा निर्माणको अन्तिम चरणमा रहेको पुल बगाएको छ । बाढी रोकिएपछि पुलका लागि बनाइएको पहुँच मार्ग (एप्रोज रोड) कटान गरिरहेको छ । पहुँच मार्ग कटान गरेपछि नदी सिवाई बजारतर्फ पस्ने खतरा रहेको स्थानीयले बताए । ‘नदीले पुल बगाएर पहुँच मार्गसमेत कटान गरिसक्यो,’ चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘अहिलेकै अवस्थामा कटान हुँदै जाँदा सिवाई बजार, विद्यालय र आसपासको बस्ती बग्ने जोखिम छ ।’

कटान भइरहेको क्षेत्रबाट नदी पस्यो भने सिवाई उच्च माध्यमिक विद्यालय, बजार, मन्दिर र मस्जिदसमेत जोखिमा पर्ने छन् । अहिले नदीले कटान गरिरहेको स्थानबाट मन्दिर करिब ५० मिटर र उच्च मावि ३ सय मिटरको दूरीमा छन् । ‘नदीले अहिले विद्यालयको जग्गा नै कटान गरिहेको छ,’ प्राचार्य दिनेश ढुंगानाले भने, ‘कटान रोकिएन र फेरि बाढी आयो भने विद्यालय बगाउँछ ।’ कटान रोक्न सकिएन भने विद्यालयसँगै सिवाई बजारमा नदी पस्ने खतरा बढेको उनले बताए ।

नदीले अहिले चौदण्डीगढीको शिवनगर, देवधार, विष्णुजग, भिमा, ज्यामिरे, सिवाईलगायत स्थानमा कटान गरिरहेको छ । कटान गरिएको क्षेत्र आसपास बस्ती रहेकाले जोखिम छ । त्यसैगरी बेलकाको भागलपुर, बोची, करैयालगायतका बस्ती नजिकै कटान भइरहेको बेलका नगरपालिका–१ का वडाध्यक्ष दिनेश चौधरीले बताए । स्थानीयस्तरबाट कटान रोक्ने प्रयास भइरहेको चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले बताए ।

प्रकाशित : श्रावण ११, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?