धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–भोजपुर खण्डको पञ्चेमा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट भोजपुर बजार जाँदै गरेको १–०१–००१ ख–३४२९ नम्बरको बस पाख्रिबास नगरपालिका–५ पञ्चेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएपछि भित्तामा ठक्कर लागेर बस सडकमा पल्टिएको जिल्ला ट्राफिक इन्चार्ज सुरेन्द्र खड्काले बताए ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकांशको उपचार धनकुटा जिल्ला अस्पतालमा गरिएको छ । जसमध्ये केहीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

बसमा ३५ यात्रु सवार थिए ।

प्रकाशित : श्रावण १०, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

माझी बस्ती आधारभूत सुविधाविहीन

रमेशचन्द्र अधिकारी

धनकुटा — चौबिसे गाउँपालिका ४ भैंसेटारस्थित माझी बस्ती आधारभूत सुविधाबाटै वञ्चित छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता जनताका आधारभूत सुविधाबाट माझी समुदाय वञ्चित हुनुपरिरहेको छ ।

सिँचाइ अभावमा जमिन बाँझै छ । स्थानीय हर्कबहादुर माझीले रहरलाग्दो बारी भए पनि अन्न उब्जाउन कठिनाइ भएको बताए । ५–७ रोपनी जग्गामा जुनेलो, मकै खेती गर्दै आएको उनले सुनाए । ‘नेतादेखि गाउँ आउने सबैलाई समस्या राख्दै आए पनि सुन्दैनन्,’ उनले भने, ‘हाम्रो समस्या समाधान कहिले होला ?’

भैंसेटार क्षेत्रमा बसोबास गर्ने ३९ मध्ये २३ घर माझीका छन् । अन्य तामाङलगायत जाति पनि यहाँ बसोबास गर्छन् । शैक्षिक, आर्थिक तथा सामाजिक रूपमा पनि पछि परेका माझी समुदायको उत्थानमा चासो जान नसकेको स्थानीय युवा बिन्दे माझीको भनाइ छ । जग्गामा बालीनाली लगाउन आकाशे पानी कुर्नुपर्ने स्थानीय दिलबहादुर कुमाल माझीले बताए । वर्षे खेतीले उब्जाएको अन्नले ३ महिना पनि खान नपुग्ने उनको भनाइ छ । माछा मार्ने, जाल हान्ने वैकल्पिक पेसा बनाएका उनले जहान परिवार पाल्न धौधौ पर्ने गरेको दुखेसो सुनाए ।

बस्तीबाट वडा कार्यालय रहेको स्थान मानेडाँडा पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ । सानो कामले पनि वडा कार्यालय आउजाउ गर्दै दिन बित्ने स्थानीयले बताए । केही वर्षअघि नजिकैको गाउँ फलामेटारमा खुलेको स्वास्थ्य चौकीले केही राहत भएको इन्दिरा माझीले बताइन् । गाउँमा ५ कक्षासम्म पढाइ हुने विद्यालय छ । त्यसभन्दा माथिल्ला कक्षा पढ्न ३ घण्टा टाढा गढिगाउँ पुग्नुपर्छ । खानेपानीका लागि लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने भए पनि अझै व्यवस्थित हुन नसकेको त्रैलेक्यश्वर प्रावि भैंसेटारका प्रधानाध्यापक टीकामाया तामाङको भनाइ छ ।

प्रकाशित : असार २९, २०७८ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×