कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फाल्गुनन्द राजमार्गको पनि अवस्था उस्तै

कान्तिपुर संवाददाता

इलाम — गएको साउन पहिलो साता मोटरसाइकल दुर्घटनामा इलामको माङ्सेबुङ गाउँपालिकाका वडा सदस्य धनबहादुर राईको ज्यान गयो । दमक–चिसापानी पञ्चमी सडक खण्डको रतुवा खोलामा भीरबाट खसेर उनको ज्यान गएको थियो । वर्षौंदेखि निर्माण थालिएको सडक निर्माण पूरा नहुँदा उनले ज्यान गुमाउनुपर्‍यो । 

कोरोनाका कारण असार २४ गते माङ्सेबुङ–५ लारुम्बामा श्रीमान् श्रीमतीको एकै दिन निधन भयो । कोरोनाले घरका सबै परिवार प्रभावित भएको अवस्थामा टेकबहादुर र लक्षीहाङ्माको ज्यान गएको थियो । त्यतिबेला भारी वर्षाका कारण सवारीसाधन नचल्दा बुबाआमा गुमाउनुपरेको छोरा सुमनको भनाइ छ । जिल्लाको पश्चिमी क्षेत्र र पाँचथरसम्मका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने ३४ किलोमिटर लामो फाल्गुनन्द राजमार्गको अवस्था नसुध्रिँदा यस क्षेत्रका बासिन्दा सधैं प्रभावित हुने गरेका छन् । कतिले अकालमा ज्यान गुमाउँछन् त उपभोग्य सामग्री ल्याउन र उत्पादित सामग्री बजार पुर्‍याउन नसक्दा दैनिक जीवनयापनमा नै समस्या हुने गरेको छ ।

सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ । दमकदेखि चिसापानीसम्मको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भए पनि भौगोलिक कठिनाइ–लगायतले काम अपेक्षा गरेअनुसार अघि बढेको छैन ।

दमकमाथिदेखि लारुम्बाको फेदीसम्म रतुवा तिरैतिर चुरे क्षेत्रमा हिउँदमा सवारीसाधन चले पनि बर्खायाममा मुस्किल छ । इलाम–पाँचथर सीमावर्ती क्षेत्रमा चल्ने सवारीसाधन बिर्तामोडबाट माईनगरपालिका हुँदै लारुम्बा भएर गुड्ने गरेका छन् ।

‘तर खोलामा पुल नहुने र कतिपय स्थानमा पहिरो खस्ने भएकाले यो सडकमा नियमित सवारीसाधन चलाउन सकिँदैन,’ सवारी चालक पेरिस पराजुलीले भने । इलामको चिसापानीदेखि झापाको दमकसम्मको सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्र थालिएको हो । दुई लेनको सडक कालोपत्र सक्ने गरी काम थालिएको हो । झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा काठमाडौंको महालक्ष्मी किरातेश्वर जेभीले ठेक्का पाएको हो ।

सडकको दोस्रो खण्ड लुम्बिनी गणपति जेभीले ठेक्का पाएको छ । १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ । तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्र गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

काम ढिलो हुनुमा स्थानीयले ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेका छन् । तीनै खण्डमा सडक विस्तार, नाली, ड्रेनवाललगायतका पूर्वाधारका काम भएका छन् । उक्त सडक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ ।

प्रकाशित : श्रावण १०, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?