निस्फिक्री सीमा वारपार गर्नेको घुइँचो

- स्वास्थ्य सावधानी छैन
- दैनिक हजारौंको आउजाउ
- सुरक्षाकर्मीले नै चोर बाटो देखाइदिने
देवनारायण साह

मोरङ — सरकारको निर्णयअनुसार विराटनगरको रानीस्थित मुख्य भन्सार नाका बन्द नै छ । मूल नाका बन्द भएकाले सुनसान देखिए पनि अरू नाकाबाट भारत आउने–जाने सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । भारत आउने जानेमध्येका कतिपयले सामान्य स्वास्थ्य सुरक्षासमेत अपनाएको देखिँदैन ।

सीमामा खटिएका सुरक्षाकर्मीले भारततर्फ जाने आउनेलाई कुनै रोकतोकसमेत गरेको देखिएन ।

विराटनगर–१६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैया र वडा १७ स्थित इस्लामपुर र मटेरुवाबाट लर्को लागेरै भारततर्फ आउने जाने भइरहेको हो । सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीकै अगाडिबाट खुल्लमखुल्ला चोर बाटोबाट भारततर्फ आउने जाने क्रम दिनभरि हुने गरेको छ । मूल भन्सार नाकाबाट भारततर्फ जान खोज्नेलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै चोर बाटोबाट जानका लागि बाटो देखाइदिने गरेको पाइयो । सीमावर्ती भारतीय बजार जोगबनी दैनिक उपभोग्य सामग्री किनमेलका साथै भारतका विभिन्न ठाउँमा दिनभरि आउने जाने क्रम चल्ने गरेको देखियो ।

सीमा सिल यथावत् रहेकोले सीमामा खटिएका प्रहरीले भारत आउने जानेलाई रोक्नुपर्ने हो । तर सुरक्षाकर्मीले व्यवस्थित रूपमा जाँच गरेर भारततर्फ आवतजावत गराइरहेका छन् । भारतबाट मालासामान बोकेर आउनेलाई सुरक्षाकर्मीले कडाइका साथ रोकेर जाँच गर्ने र दैनिक उपभोग्य सामग्री बढी परिमाणमा लिएर आउनेहरूबाट अवैध रूपमा रकमसमेत असुली गर्ने धन्दासमेत चलाइरहेको पाइएको छ । भारतबाट व्यवसायका लागि मालसामान ल्याउने खुद्रे व्यापारीहरूसँग लाइन मिलाएर नै व्यवस्थित रूपमा सुरक्षाकर्मीले लाइन चलाउने गरेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

विराटनगर १७ का मोहम्मद अस्लमले इस्लामपुर र मटेरुवाबाट दैनिक हजारौंले भारत आउजाउ गरिरहेको बताए । ‘जोगबनीबाट दैनिक उपभोग्य सामग्री अलिकति बढी लिएर आउने सर्वसाधारणलाई सीमामा खटिएका सुरक्षाकर्मीले घूस रकम असुलीका लागि दुःख दिने गरेको छ,’ उनले भने, ‘सानो व्यापारीहरूसँग सुरक्षाकर्मीले सेटिङ मिलाएर लाइन चलाउने गरेको छ ।’ सुरक्षाकर्मीले अवैध रकम असुलीका लागि नै चोर बाटोबाट भारत आवतजावत खुल्ला गरेको अस्लमको भनाइ छ ।

भारतमा कोरोनाको तेस्रो भेरिएन्ट आइरहेको र नेपालमा पनि सरकारले तेस्रो भेरिएन्टका लागि आवश्यक तयारी गर्न स्थानीय तहसम्मलाई निर्देशन दिइरहेको बेला चोर नाकाबाट सर्वसाधारणलाई भारत आवतजावतका लागि खुल्ला गर्नु उचित नभएको स्थानीय मोहम्मद रसुलले गुनासो पोखे ।

यस्तै, विराटनगर १६ का मुकेश खड्काले विराटनगर जुट मिलको दक्षिण गेट र दरैयाबाट दैनिक बिहान ५ बजेदेखि राति ८ बजेसम्म २ देखि ३ हजार जना भारततर्फ जाने र आउने गरेको बताए । ‘भारतमा कोरोनाको तेस्रो लहर आइरहेको बेला सुरक्षाकर्मीले सरकारको निर्णयविपरीत अवैध रुकम असुलीका लागि व्यवस्थित रूपमा चेकजाँच गरेर भारततर्फ आवतजावत गराउँदा कोरोना संक्रमणको अत्यन्तै धेरै जोखिम बढेको छ,’ उनले भने, ‘भारतबाट आउनेहरू नेपालको विभिन्न क्षेत्रमा पुग्ने भएकाले मुलुकभरि नै कोरोनाको तेस्रो लहर फैल्ने जोखिम बढाएकोले तत्काल सरकारले अनधिकृत रूपमा भइरहेको आवतजावतलाई रोक्नुपर्छ ।’

स्थानीय मनोज श्रेष्ठले दैनिक हजारौं मानिस सीमा वारिपारि जाने आउने गरेकाले कोरोनाको तेस्रो लहरको जोखिम बढेको गुनासो पोखे । उनले सरकारको निर्णयविपरीत सुरक्षाकर्मीले चोर नाका खुल्ला गरेर भारततर्फ खुलेयाम आवतजावत गराउने सीमा क्षेत्रका बासिन्दा कोरोनाको तेस्रो लहरको अत्यन्तै धेरै जोखिम रहेको सुनाए । रानी नाकास्थित हेल्थ डेस्क प्रमुख डा.कमलकिशोर यादवले भारतबाट औपचारिक रूपमा नेपालतर्फ आउनेको स्वास्थ्य परीक्षण गरिँदै आएको बताए । ‘स्वास्थ्य परीक्षण गर्ने क्रममा आशंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘असार २५ गते भारतबाट आउनेमा एन्टिजेन परीक्षण गर्दा एक जना नेपालीमा कोरोना संक्रमण फेला परेयता अर्को कसैमा संक्रमण पुष्टि भएको छैन ।’ उनले दैनिक २०/२५ भारतबाट नेपालतर्फ आउने गरेको बताए ।

अस्थायी प्रहरी चौकी मटेरुवाका प्रमुख प्रहरी सहायक निरीक्षक शिव कटुवालले भारततर्फ आउने जानेलाई कडाइ गरेको दाबी गरे । लुकीछिपीबाहेक कसैलाई भारततर्फ आवतजावत गर्न नदिएको उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले भारत आवतजावत गर्नेलाई नियन्त्रणको प्रयास गरिरहेको तर स्थानीयको दबाब अत्यधिक रहेकाले समस्या भएको बताए । उनले भारतबाट माल सामान ल्याउनेबाट सीमामा खटिएका सुरक्षाकर्मीले अवैध रूपमा रकम असुली गरेको पाइए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले सीमामा कडाइ गर्न निर्देशन दिएको दाबी गरे । ‘कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले तत्काल सीमालाई व्यवस्थित गर्छौं,’ उनले भने, ‘सीमामा खटिएका सुरक्षाकर्मीले भारतबाट दैनिक उपभोग्यलगायतका मालसामान ल्याउनेबाट अवैध रूपमा रकम असुली गरेको बारे तत्काल छलफल गरेर यस्तो कार्यमा रोक लगाउने र अटेरी गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउँछु ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बजार, पसल, यातायातलगायत सबै क्षेत्र खुल्ला भइसकेको अवस्थामा भारत आउने जानेको दबाब बढेकाले सीमामा समस्या भएको बताएका छन् । उनले जिल्ला सुरक्षा समितिको निर्णयले अन्य नाकाहरू बन्द राखेर रानी नाका खुल्ला गर्न केन्द्रमा पत्राचार गरेको बताए । केन्द्रले रानी नाका खुल्ला गरिसकेपछि समस्या समाधान हुने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण १०, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?