२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बिहे र दाइजो छाडेर शिक्षामा जोड

छोरासरह छोरीलाई पनि पढाउने बढे
जितेन्द्र साह

विराटनगर — मोरङको जहदा गाउँपालिका–५ का मिठाई कालिगड ५५ वर्षीय शुद्धिलाल मण्डलले ऋण लिएर साहिँली छोरी गीतालाई नर्सिङ पढाए । ‘चार छोराछोरीमा गीता पढाइमा तेज र आत्मविश्वासले भरिपूर्ण छिन्, विद्यालयमा पनि कक्षामा सधैं पहिलो हुन्थिन्,’ उनी भन्छन् ।

बिहे र दाइजो छाडेर शिक्षामा जोड

मण्डलका अनुसार छोरीको उपलब्धिले समाजमा हाम्रो इज्जत बढाएको छ । ‘छरछिमेक एवं गाउँले छोरीको काम र प्रतिभाको प्रशंसा गर्दा धेरै खुसी लाग्छ,’ उनी भन्छन्, ‘छोराछोरीमा कुनै फरक देखिनँ, छोराहरू जस्तै गीताले परिवारलाई मद्दत गरिरहेकी छन् ।’ गीताले २०७५ मा नर्सिङमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि डेढ वर्षसम्म खोटाङको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गरिन् । उनी ७ पुसदेखि आफ्नै गाउँपालिकाको मझारे हेल्थ पोस्टमा कार्यरत छिन् ।

बुबाआमाले पढाइका लागि लिएको ऋण चुक्ता गरिसकेको गीता बताउँछिन् । उनले मासिक तलब पनि बुबाआमालाई दिन्छिन् । ‘घरमै सबैभन्दा बढी पढेलेखेकी मै हुँ, बुबाआमाले छोरी भनेर कहिल्यै रोकटोक नगरेको हुनाले यो सम्भव भयो,’ गीता भन्छिन्, ‘उहाँहरूको धेरै सहयोग रह्यो ।’ सामान्य गृहिणी आमा ४५ वर्षीया प्रमिला पनि आफूले पढ्न नपाए पनि छोरीले सपना पूरा गरेकामा मख्ख छिन् ।

गीताका दुई दाजु र एक भाइले विद्यालय शिक्षा पूरा गरेका छन् । उनी भन्छिन्, ‘कमजोर आर्थिक अवस्थाले गर्दा दाजुभाइ पढ्न नसकेर वैदेशिक रोजगार र मजदुरीमा लाग्नुपरेकाले उच्च शिक्षा प्राप्त गर्न सकेनन् तर मलाई हौसला दिइरहे ।’

जहदापूर्वको अर्को मधेसी बहुल गाउँपालिका धनपालथान–१, नोचाकी २६ वर्षीया बबिता मण्डललाई बुबाआमाले जग्गा बेचेर बीएस्सी नर्सिङ पढाएका छन् । उनी फागुनदेखि जहदाकै लक्ष्मीनिया बस्तीस्थित दुर्गा माविमा स्कुल नर्सका रूपमा कार्यरत छिहन् । उनका बुबा लक्ष्मी मण्डल कृषक हुन् भने आमा गृहिणी । ‘बुबाले जग्गा बेचेर पढाउनुभयो, आफ्नै कमाइले बुबालाई जग्गा किनिदिने धोको छ,’ उनी भन्छिन् । उनको परिवारका सबै छोराछोरीले पढेका छन् । दुई दाइ र चार दिदीबहिनीमा बबिता कान्छी हुन् । एक दाइले स्नातकोत्तर, एक दिदीले बाह्र कक्षासम्म र बाँकी सबैले एसएलसी उत्तीर्ण गरेका छन् ।

‘पढाइमा राम्रो भएकाले सबैले मलाई प्रोत्साहन गरे,’ उनी भन्छिन् । जागिरका क्रममा कोठा लिएर बाहिर बस्दा पनि परिवारले कुनै अवरोध नगरेको बबिता बताउँछिन् । उनी भन्छिन्, ‘परिवारबाट प्राप्त हिम्मतले गर्दा सरकारले खटाएको ठाउँमा पुगेर सेवा दिन सकेको छु ।’

कुनै बेला मधेसी समुदायका मातापिताले घरदेखि थोरै टाढा पनि छोरीलाई पढ्न पठाउन डराउँथे । अहिले भने समय फेरिएको छ । उदाहरणका लागि जहदा गाउँपालिकास्थित प्राविधिक शिक्षालय शैलजा आचार्य स्मृति पोलिटेक्निकको छात्रावासमा बसेर कृषि विषय पढिरहेका सप्तरी, सुनसरी र मोरङका आँटिला छोरीहरूलाई लिन सकिन्छ । स्वाभिमान र आत्मसम्मानको दिशामा अगाडि बढिरहेका उनीहरू सामान्य पारिवारिक पृष्ठभूमिका हुन् ।

‘खुट्टामा उभिएपछि दाइजो दिएर बिहे गर्नुपर्दैन, सकेजति पढाउने हो भनेर बुबाआमाले भन्नुहुन्छ,’ सुनसरी देवानगन्ज–४ की १७ वर्षीया प्रतीक्षा मेहता भन्छिन्, ‘अभिभावक एवं परिवारजनको सपना पूरा गर्न मिहिनेत गरेर पढ्दै छु ।’ पेसाले कृषक उनका बुबा ४५ वर्षीय उमाकान्तले आईए र आमा ४२ वर्षीया उर्मिलाले १० कक्षासम्म पढेका छन् ।

उनीहरूका पाँच दिदीबहिनी र एक भाइ छन् । जेठी दिदी १९ वर्षीया मिलन औषधि विषयमा डिप्लोमा गर्ने क्रममा दोस्रो वर्षमा अध्ययनरत छिन् भने बाँकी सबै बहिनी र एक भाइ विद्यालय तहमा अध्ययनरत छन् । ‘शिक्षा र पालनपोषणमा भेदभाव महसुस गर्नुपरेको छैन,’ उनी भन्छिन्, ‘अभिभावकले व्यक्तिगत खर्च कटौती गरेर भए पनि आवश्यकता पूरा गर्नुभएको छ ।’

कृषि विषयको वनस्पति विज्ञानकी छात्रा मोरङको सुन्दरहरैंचा–१ की १६ वर्षीया जस्मिना खवास छोरीलाई अवसर दिने बुबाआमा पाएकामा भाग्यशाली ठान्छिन् । उनका पिता ४९ वर्षीय हरिचरण शिक्षक हुन् भने आमा ४० वर्षीया कविता गृहिणी हुन् । तीनै सन्तान छोरी भए पनि बुबाआमाले छोरासरह अवसर दिएको उनले बताइन् । जस्मिनाकी दिदी सुशीला बीबीएस र कान्छी बहिनी निकिता ९ कक्षामा अध्ययनरत छन् ।

सप्तरी तिरुहुत–१ की १८ वर्षीया लक्ष्मीरानी यादवले चार दिदीबहिनी र एक भाइलाई समान हैसियतमा राखेर बुबाआमाले पढाइरहेको बताउँछिन् । उनका एक भाइ र तीन बहिनी विद्यालय शिक्षा लिँदै छन् । उनी भन्छिन्, ‘बुबाआमालाई मेरो प्रतिभामा विश्वास भएको हुनाले घरदेखि टाढा मोरङको एक छात्रावासमा राखेर पढाइराखेका छन् ।’ उनी भविष्य कृषि क्षेत्रमा केही गरेर देखाउन चाहन्छिन् ।

तीन दिदीबहिनी र एक भाइमा जेठी मोरङको सुनवर्षी–९, डायनिया बजारकी १८ वर्षीया विनीताकुमारी साहले छोराछोरीलाई समान अवसर दिने बुबाआमाको सर्वत्र सम्मान हुने बताउँछिन् । सामान्य कृषक भए पनि बुबाआमाले आफूलाई उच्च शिक्षा दिनुका साथै एक भाइ र बहिनीलाई पनि एउटै खाले विद्यालयमा राखेर पढाइरहेको उनी बताउँछिन् । साह भन्छिन्, ‘फलानोकी छोरी हुँ भन्दा मलाई नि गर्व लाग्छ ।’ विनीताका बुबा ४५ वर्षीय जितेन्द्रप्रसाद साह कृषि व्यवसायी हुन् भने आमा गृहिणी ।

अभिभावकले छोराजत्तिकै आफ्नो अध्ययनमा खर्च गरेको सुनसरी इनरुवा–८ की रिनाकुमारी उराब बताउँछिन् । उनका बुबा परमेश्वर किसान र आमा कमलादेवी गृहिणी हुन् । तीन छोराछोरीमा उनी माहिली हुन् । उनका दाजु श्रवणकुमार स्नातक र भाइ विनोद कक्षा–१० मा अध्ययनरत छन् ।

प्रकाशित : श्रावण ९, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?