स्वास्थ्य उपकरण त्यसै थन्किए

दक्ष जनशक्तिको व्यवस्था नहुँदा भेन्टिलेटर चलाउने अवस्था भएन
अर्जुन राजवंशी

बिर्तामोड — असार पहिलो साता गायिका आनी छोइङ डोमा फाउन्डेसन र प्रारम्भ सामाजिक संस्था ललितपुरले संयुक्त रूपमा बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई एक–एक थान भेन्टिलेटर, दुई–दुई थान अक्सिजन कन्सन्ट्रेटर र १५–१५ थान पीपीई सेट सहयोग गरेका थिए ।

अक्सिजन अभाव टार्न तथा कोभिडका गम्भीर बिरामीको उपचारमा सहयोग पुर्‍याउन भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण सहयोग गरेको गायिका आनीले बताएकी थिइन् ।

ती मेसिन अहिले पनि कार्यालयको स्टोर बाहिर नै राखिएका छन् । ‘भेन्टिलेटर सहयोगमा आयो तर अहिले चलाउने अवस्था छैन,’ नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले भने, ‘दक्ष जनशक्तिको व्यवस्था नभई भेन्टिलेटर चलाउने कुरा हुँदैन ।’ उनका अनुसार नगरपालिकासँग १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । ‘१० मध्ये अहिले ३ वटा मात्र प्रयोगमा छन्,’ उनले भने ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले असार ८ मा जिल्लाका १० वटा पालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन वितरण गरेका थिए । तर सबैजसो पालिकाले अक्सिजन कन्सन्ट्रेटर पूर्णरूपमा सञ्चालनमा ल्याउन सकेका छैनन् । सिटौलाबाट ३ वटा सहयोग पाएपछि भद्रपुर नगरपालिकासँग अहिले ९ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । तर ती मेसिनहरू प्रयोगमा छैनन् ।

‘संक्रमितको चाप बढेका बेला ३ वटा कन्सन्ट्रेटर केही समय चलायौं । खासै प्रभावकारी देखिएन’ भद्रपुरका कोभिड फोकल पर्सन मनोज भट्टराईले भने, ‘सुरुमा त राम्रो हुन्छ भन्ने सुनेर नगरपालिकाले नै २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरेको थियो । तर अक्सिजन फ्लो राम्रो नहुने भएकाले प्रयोगमा आएको छैन ।’

अर्जुनधारा नगरपालिकासँग २ वटा भेन्टिलेटर मेसिन छन् । दुवै मेसिन कोभिडको दोस्रो लहरपछि सहयोग प्राप्त भएका हुन् । तर जनशक्तिको अभावमा दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । ‘अहिले दुईवटै भेन्टिलेर प्रयोगमा ल्याउन सकेका छैनौं,’ मेयर हरि रानाले भने, ‘सामान त पायौं । तर भेन्टिलेटर चलाउन सक्ने विषयविज्ञ डाक्टरलगायतका जनशक्ति हामीसँग छैन ।’ उनले भेन्टिलेटरबाट सेवा लिन अझै एक वर्ष लाग्न सक्ने बताए । ‘विज्ञ डाक्टर पठाउने कुरा छ । भयो भने भेन्टिलेटर चलाउन सकिन्छ,’ उनले भने ।

दमक नगरपालिकाले छुट्टै कोभिड अस्पताल सञ्चालन गरेको छ । भुटानी शरणार्थी शिविरनजिक कोभिड अस्पतालमा संघीय सरकारले उपलब्ध गराएको एउटा भेन्टिलेटर राखिएको छ । तर दक्ष जनशक्तिको अभावमा उक्त भेन्टिलेटरबाट बिरामीलाई सेवा दिन नसकिएको नगरपालिकाका स्वास्थ्यकर्मीले बताए । जनशक्ति व्यवस्थापन गरेर भेन्टिलेटर सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरेको दमक अस्पतालका कोभिड फोकल पर्सन देवी दंगालले जानकारी दिइन् ।

मेची प्रादेशिक अस्पतालसँग १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । ती सबै मेसिनलाई उपयोग गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.टंक बाराकोटीले बताए । मेची अस्पतालमा दुईवटा भेन्टिलेटर छन् । तर लामो समयदेखि एउटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहँदै आएको छ ।

कोभिडको दोस्रो लहरमा राष्ट्रिय आविष्कार केन्द्रले ५ वटा भेन्टिलेटर अस्पताललाई सहयोग गरेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । ती भेन्टिलेटर प्रयोगमा ल्याउन सकिएको छैन ।

प्रकाशित : श्रावण ९, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?