गलत आशयले ठेक्का दिएको ठहर

डम्बरसिं राई

खोटाङ — उजुरीपछि रोकिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झर्ना पर्यटकीय विकास आयोजनाको ठेक्का प्रक्रिया पुनः बढाउन सार्वजनिक खरिद पुनरावलोकन समितिले निर्देशन दिएको छ । 

गलत आशय देखिने गरी ठेक्का प्रक्रिया बढाइएको ठहर गर्दै सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार ठेक्का प्रक्रिया बढाउन निर्देशन दिएको हो । सार्वजनिक खरिद ऐन, नियमावलीलगायत कानुनलाई प्रभावित गरी सेटिङ गरेर फुल रेटमा ठेक्का पार्न खोजिएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो ।

उजुरीपछि सार्वजनिक खरिद पुनरावलोकन समितिको मंगलबारको निर्णयले सार्वजनिक खरिद ऐन, नियमावलीलगायत कानुनलाई पालना गरी ठेक्का प्रक्रिया बढाउन निर्देशन दिएको हो । उक्त ठेक्का प्रक्रियामा गलत आशयका विभिन्न गतिविधि देखिएको औंल्याउँदै ऐन, नियम, कानुनलाई पालना गर्न सुझाएको छ । पाँच करोड ६ लाख ३५ हजार आठ सय ६९ रुपैयाँको लगत इस्टिमेट गरी धिप्लुङ झर्ना पर्यटकीय विकास आयोजनाको काम सम्पन्न गर्ने गरी चैत १ गते टेन्डर आह्वान गरिएको थियो ।

त्यसपछि चैत ३१ गते ठेक्काको प्राविधिक प्रस्ताव खोलिएको थियो । असार ७ गते आर्थिक प्रस्ताव खोल्नका लागि जेठ ३० गते सूचना प्रकाशित गरिएको थियो । उजुरी परेपछि ठेक्का प्रक्रिया स्थगित भएको थियो । उक्त टेन्डरमा आशीर्वाद पीआर जेभीलाई ठेक्का पार्न अर्को निर्माण कम्पनी स्काई सगरमाथा जेभीलाई अयोग्य बनाई ठेक्का प्रक्रियाबाट हटाइएको थियो ।

सार्वजनिक खरिद पुनरावलोकन समितिले स्काई सगरमाथा जेभीलाई पनि ठेक्का प्रक्रियामा समावेश गर्नुसमेत निर्देशन दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालको अध्यक्षतामा गठन भएको बोलपत्र मूल्यांकन समितिले आशीर्वाद पीआर जेभीलाई ठेक्का पार्न स्काई सगरमाथा जेभीलाई अयोग्य ठहर गरेकाले उजुरी दिनुपरेको निर्माण व्यवसायी शम्भु घिमिरेले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?