कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गनिए कञ्चनजंघा क्षेत्रका नाउर

गत वर्षभन्दा यसपटक नघटेको गणनाको निष्कर्ष 
आनन्द गौतम

ताप्लेजुङ — दुर्लभ वन्यजन्तु नाउर कञ्चनजंघा क्षेत्रमा विगतकै संख्यामा रहेको पाइएको छ । नाउरको बासस्थान रहेको ३ हजार मिटरभन्दा माथिको क्षेत्रलाई चारवटा ब्लक बनाएर गणना गरिएको थियो ।

गनिए कञ्चनजंघा क्षेत्रका नाउर

गणनामा गत वर्षकै हाराहारीमा पाइएको संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ओलाङचुङगोला क्षेत्रको गणना गर्न बाँकी रहँदा १ हजार ४ सय २१ वटा पाइएको छ । स्थानीयमा देखिएको कोरोना संक्रमण र बन्दका कारण गोला क्षेत्रमा भने गणना हुन बाँकी छ ।

घुन्सा खम्बाछेन ब्लकमा ६ सय ४२, याङमामा ५ सय ३२ र रामजेलमा २ सय ४७ वटा पाइएको तिवारीले बताए । दुई वर्षअघिको गणनामा पनि यही हाराहारीमा रहेको थियो । पोथीको तुलनामा भाले नाउरको संख्या दोब्बरले बढी छ । तथ्यांकअनुसार पोथीको संख्या ४ सय ९५ छ । ८० बच्चा छन् । भालेपोथी नछुट्टिएका २७ छन् भने भाले मात्रैको संख्या ८ सय १६ छ । भालेमा वयस्कको संख्या २ सय ८ छ भने तरुण भाले २ सय ७ वटा छन् । किशोर २ सय ६ र अर्धवयस्क १ सय ९८ वटा छन् ।

कञ्चनजंघा क्षेत्रमा घुन्सादेखि पाङपेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजंघा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलादेखि मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक बनाइएको छ । ३८ सय मिटर माथि नाउर देखिने ठाउँमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गरिन्छ । पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । गणनामा स्थानीयको प्रयोग हुन्छ । विश्व वन्यजन्तु कोष नेपालले कार्यक्रम गर्दा गणनामा स्थानीयलाई दक्ष बनाएको छ । उनीहरूलाई स्थानीय साइन्टिसको उपाधि दिइएको छ । ‘नाउरको मुभमेन्ट भएको ठाउँमा पारिपट्टिको डाँडाबाट लुकेर हेर्दा ठ्याक्कै छुट्टिन्छ,’ तिवारीले भने, ‘उनीहरूको अनुहार र टाउको हेरेर सबै छुट्याउन सकिन्छ ।’ गणनामा ३० जनासम्म प्रयोग हुने गरेका छन् । एकबाट अर्को ब्लकमा नजावस् भनेर एकै समयमा गणना गर्ने गरिएको छ ।

सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिन्छ । यो वर्ष गणना अवधिमा कुहिरो अधिक लागेकाले गणनामा केही समस्या भएको तिवारीले बताए । ‘चैत, वैशाखमा कोरोना संक्रमणका कारण गणना गर्न सकिएन, जेठ, असारमा मौसमले केही डिस्टर्ब भयो’ तिवारीले भने । समूहमा लस्करै लागेर हिँड्ने भएकाले पहिचान गर्न भने सहज हुने हिउँ चितुवा उपसमितिका सदस्य तेन्जिङ शेर्पा बताउँछन् । कञ्चनजंघाको अलावा लाङटाङ, मकालु वरुण, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र ढोरपाटन सिकार आरक्षमा नाउर पाइन्छ । ढोरपाटनमा विदेशीका लागि समेत सिकार खेल्न खुला गरिएको छ । साँझ–बिहान आहारामा निस्कने र दिउँसो पहराहरूमा बस्ने नाउरको भाले बच्चा मस्तले चर्ने र पोथीले खतरा छ कि भनेर नियाल्ने संरक्षणकर्मी बताउँछन् ।

प्रकाशित : श्रावण ८, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?