तपेश्वरीमा पस्यो सप्तकोसीको बाढी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तपेश्वरीमा पस्यो सप्तकोसीको बाढी

त्रियुगा नदीमा तटबन्ध निर्माणको काम सुरू भएकै तीन वर्ष बितिसक्दा पनि पूरा भएन
डिल्लीराम खतिवडा

उदयपुर — सप्तकोसी र त्रियुगा नदीको तटीय क्षेत्रमा बर्सेनि डुबान र कटानको त्रास हुने गरेको छ । बेलका नगरपालिका १ र २ तपेश्वरीको तल्लो तटीय क्षेत्रमा दुई दिनयताको डुबान र कटानले जोखिम बढाएको हो ।

त्रियुगा र सप्तकोसीमा आएको बाढीले डुबानमा परेको बेलका–२ को करया बस्ती । तस्बिर : डिल्लीराम/कान्तिपुर

तपेश्वरीमा सप्तकोसी र त्रियुगा नदीसँगै खहरे खोलाको बाढीले गाउँ डुबानमा परेको छ । बाढीले झन्डै १ हजार ८ सय घर डुबानमा परेका स्थानीयले बताए ।

दुई दिनदेखि भारी वर्षा भइरहेकाले गाउँ डुबेको स्थानीय भोगेन्द्र चौधरीले बताए । ‘तपेश्वरी बर्सेनि डुबान र कटानको चपेटामा परिरहेको छ,’ उनले भने, ‘तर तपेश्वरी क्षेत्र डुबान र कटान रोक्न दीर्घकालीन योजना बन्न सकेको छैन ।’ दुई दिनयता वर्षात् भइरहेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढ्दा त्रियुगा नदी थुनिन्छ । त्यसैले गाउँबस्ती डुबान हुने गरेको छ । पानीको सतह घट्दै जाँदा बाढीले तीव्र रूपमा कटान गर्ने भएकाले बस्ती नै जोखिममा परेको छ ।

‘सप्तकोसी र त्रियुगा नदीले बर्सेनि जमिन कटान तथा डुबान गर्दै आएको छ,’ वडाध्यक्ष दिनेश चौधरीले भने । त्रियुगा नदी नियन्त्रणका लागि दीर्घकालीन गुरुयोजना संघीय सरकार पारित गर्दै योजनासमेत परिसकेको छ । तीन वर्षयता काम भए पनि दिगो काम हुन नसक्दा समस्या हुने गरेको स्थानीयले बताए । ‘त्रियुगा बाढीले बर्सेनि जमिन कटान र डुबान गरिहेको छ,’ तपेश्वरीका स्थानीय रतिलाल चौधरीले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने भनेको धेरै भयो ।’ तर अहिलेसम्म काम नहुदा बर्सेनि सयौँ बिघा जमिन खोलाले कटान गर्ने गरेको उनले बताए ।

त्रियुगा नदीमा तटबन्ध सुरु भएको ३ वर्ष बितिसक्दा पनि खासै काम भएको छैन । नदी नियन्त्रणको गुरुयोजना सुरु हुनुपूर्व बर्सेनि तटबन्धका नाममा करोडौं खर्च हुने गरेको स्थानीयले वताए । उदयपुरमा ३ हजार घरपरिवार नदीको बाढी कटान, डुबान र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।

८ वटा स्थानीय तहका ३ हजार घरपरिवारको बस्ती जोखिममा छन् । जोखिममा सबैभन्दा बढी बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा छन् । ३ नगरपालिकामा मात्रै २ हजार ४ बढी घरपरिवार जोखिम रहेको व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये बेलका नगरपालिकको १ र २ तपेश्वरीमा करिब १ हजार ८ सय परिवार बाढीको जोखिममा छन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

विस्थापित चिया गोदाममा

मंगलबार झरेको पहिरोले ६ घरका ३९ जना विस्थापित
कान्तिपुर संवाददाता

ताप्लेजुङ — पहिरोका कारण विस्थापित पाँचथरको फिदिम नगरपालिका–१ कार्तिकेका चार परिवारलाई कञ्चनजंघा टी स्टेटको गोदाममा राखिएको छ । मंगलबार बिहान झरेको पहिरोका कारण गोपाल विक, भवानी विक, अविनारायण विक र फूलकुमारी विकको परिवार विस्थापित भएको थियो । 

वडासदस्य बालानन्द अधिकारीले साउन र भदौ दुई महिना बस्ने गरी कम्पनीलाई अनुरोध गरिएको बताए । पहिरोबाट विस्थापित अमृत राईको परिवारले घर नजिकैको सुरक्षित ठाउँमा टेन्ट टाँगेका छन् । घरमा भल पसेर विस्थापित दीपेन्द्र श्रेष्ठको परिवार भने आफन्तकामा बस्दै आएको अधिकारीले जनाए । पहिरोबाट ६ घरका ३९ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

१ नम्बर प्रदेश सरकारको योजनाअन्तर्गत शिवालयदेखि रानीटार, लुङरूपा हुँदै गोरुजुरे जोड्ने सडकको कार्तिके खण्डमा सडकमाथिको भाग झरेको वडाध्यक्ष गजाधर भट्टराईले बताए । मध्यरातको २ बजेतिर पहिरो झर्न थालेपछि स्थानीयले भागेर ज्यान बचाएको विस्थापित राईले बताए । उनका अनुसार घरको आसपासको पूरै भाग सडकमा झरेको छ भने सडकमुनिका घर हिलोले पुरिएको छ । वडासदस्य अधिकारी १५/२० वटा पालले पहिरो बनेको क्षेत्रलाई ढाकेर बर्खामा जोगाउन सके हिउँदमा पर्खाल लगाएर घरहरू सुरक्षित गर्न सकिने बताउँछन् ।

यसका लागि जिल्ला प्रशासन, सडक डिभिजन र ठेकेदारसँग कुरा गरेको उनले बताए । विस्थापित परिवारका लागि फिदिम नगरपालिकाले व्यवस्थापन गरिदिनुपर्ने अधिकारीले बताए । ‘पर्खाल नलगाएसम्म त्यहाँ बस्नै मिल्दैन ।’ प्राविधिक, प्रहरीको टोली पठाएको र उनीहरूको सिफारिसअनुसार पुनर्वासको विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । फिदिमबाट यहाँ जाने सडकसमेत अवरुद्ध भएको छ । महाभीरको पहिरो फुटेर सडकमा झरेको र तत्काल पन्छाउन सक्ने अवस्था नभएको अधिकारीले जानकारी दिए ।

यहाँको बस्ती जोखिमको विषयमा भने स्थानीयले वडा कार्यालयमा ७ दिनअघि नै जानकारी गराएको बताए । मालबाँसे, कार्तिके खण्डमा मान्छे हिँड्नसमेत समस्या रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×