कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विस्थापित चिया गोदाममा

मंगलबार झरेको पहिरोले ६ घरका ३९ जना विस्थापित

ताप्लेजुङ — पहिरोका कारण विस्थापित पाँचथरको फिदिम नगरपालिका–१ कार्तिकेका चार परिवारलाई कञ्चनजंघा टी स्टेटको गोदाममा राखिएको छ । मंगलबार बिहान झरेको पहिरोका कारण गोपाल विक, भवानी विक, अविनारायण विक र फूलकुमारी विकको परिवार विस्थापित भएको थियो । 

वडासदस्य बालानन्द अधिकारीले साउन र भदौ दुई महिना बस्ने गरी कम्पनीलाई अनुरोध गरिएको बताए । पहिरोबाट विस्थापित अमृत राईको परिवारले घर नजिकैको सुरक्षित ठाउँमा टेन्ट टाँगेका छन् । घरमा भल पसेर विस्थापित दीपेन्द्र श्रेष्ठको परिवार भने आफन्तकामा बस्दै आएको अधिकारीले जनाए । पहिरोबाट ६ घरका ३९ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

१ नम्बर प्रदेश सरकारको योजनाअन्तर्गत शिवालयदेखि रानीटार, लुङरूपा हुँदै गोरुजुरे जोड्ने सडकको कार्तिके खण्डमा सडकमाथिको भाग झरेको वडाध्यक्ष गजाधर भट्टराईले बताए । मध्यरातको २ बजेतिर पहिरो झर्न थालेपछि स्थानीयले भागेर ज्यान बचाएको विस्थापित राईले बताए । उनका अनुसार घरको आसपासको पूरै भाग सडकमा झरेको छ भने सडकमुनिका घर हिलोले पुरिएको छ । वडासदस्य अधिकारी १५/२० वटा पालले पहिरो बनेको क्षेत्रलाई ढाकेर बर्खामा जोगाउन सके हिउँदमा पर्खाल लगाएर घरहरू सुरक्षित गर्न सकिने बताउँछन् ।

यसका लागि जिल्ला प्रशासन, सडक डिभिजन र ठेकेदारसँग कुरा गरेको उनले बताए । विस्थापित परिवारका लागि फिदिम नगरपालिकाले व्यवस्थापन गरिदिनुपर्ने अधिकारीले बताए । ‘पर्खाल नलगाएसम्म त्यहाँ बस्नै मिल्दैन ।’ प्राविधिक, प्रहरीको टोली पठाएको र उनीहरूको सिफारिसअनुसार पुनर्वासको विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । फिदिमबाट यहाँ जाने सडकसमेत अवरुद्ध भएको छ । महाभीरको पहिरो फुटेर सडकमा झरेको र तत्काल पन्छाउन सक्ने अवस्था नभएको अधिकारीले जानकारी दिए ।

यहाँको बस्ती जोखिमको विषयमा भने स्थानीयले वडा कार्यालयमा ७ दिनअघि नै जानकारी गराएको बताए । मालबाँसे, कार्तिके खण्डमा मान्छे हिँड्नसमेत समस्या रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?