नागरिक आवासमा मापदण्डविपरीत लाभग्राही छनोट

काल्पनिक व्यक्तिलाई लाभग्राही बनाइएको वडाध्यक्षको आरोप
डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा ११ खार्मीमा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको हो ।

नागरिक आवासमा मापदण्डविपरीत लाभग्राही छनोट

पाथेकाका वडाध्यक्ष मुगाधन राईका अनुसार हुँदै नभएको व्यक्ति, टिनको छाना भएका र बसाइँ सरेकाहरूको नाममा लाभग्राही बनाइएको हो । वडाले गरेको सिफारिसमा उल्लिखित १८ लाभग्राहीको नाम परिवर्तन गरिएको राईले सुनाए । वडाले २६ लाभग्राहीको मात्र नाम सिफारिस गरेको तर सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले ३५ जनाको नाम छनोट गरेको राईले जनाए ।

उनका अनुसार हुदै नभएका खइबहादुर राई, बसाइँ सरेका तुलसी गिरी लगायतको नाम समावेश गरेर पठाइएको हो । वडाले सिफारिस गरेको लाभग्राहीको सूचीमै नभएको व्यक्तिको नाम उल्लेख भएकाले आफूलाई अचम्म लागेको राईले बताए । ‘हाम्रो वडामा हुदै नभएको व्यक्ति, बसाइ सरेका, टिनका छाना भएकाहरूलाई लाभग्राही बनाइएको छ’ उनले भने, ‘यो मापदण्ड विपरीत छ ।’ खार्मीमा पनि उस्तै समस्या देखिएको छ । काल्पनिक व्यक्तिलाई लाभग्राही बनाइएको वडाध्यक्ष रामचन्द्र राईले बताए । उनका अनुसार हुँदै नभएको ललितबहादुर श्रेष्ठलाई लाभग्राही बनाइएको छ ।

ललितबहादुर श्रेष्ठ भन्ने व्यक्ति खार्मीमा नभएको र उनका नाम वडाले सिफारिस गरेको सूचना समेत नभएको राईले सुनाए । खार्मीमा भएका एक सय ९६ वटा फुसको छाना भएको व्यक्तिको नाम पठाएकोमा जिल्ला समन्वय समितिले २९ जनाको मात्र छनोट गरेर पठाएको राईले बताए । सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समिति संयोजक समेत रहेका विशाल भट्टराईले भने यस विषयमा आफूलाई थाहा नभएको बताए ।

समिति सदस्यसमेत रहेका नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने प्राविधिकले घरधुरी सर्वेक्षण गरेर ल्याएको आधारमा निर्णय गरेको जानकारी दिए । सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिमा प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख सदस्य, सहरी विकास डिभिजन प्रमुख सदस्य र सम्बन्धित पालिका प्रमुख सदस्य सदस्य रहने प्रावधान छ ।

प्रकाशित : श्रावण ६, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?