साहित्यकार फाइवालीको निधन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार फाइवालीको निधन

पर्वत पोर्तेल

काँकडभिट्टा — किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ७८ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा र साहित्यको विकासमा फाइवालीको कलम चलायमान थियो ।

‘अहिले किरात भाषा संकटग्रस्त बनेको स्थिति छ’, अर्जुनधारास्थित निवासमा केही समयअघिको भेटमा उनले भनेका थिए,‘त्यसको पुनःउत्थानका लागि लागिरहेको छु, हेरौं कहिलेसम्म सफल बन्छु ।’ फाइवाली किरात भाषा पुनःउत्थानका काम अधुरै छाडेर सदाका लागि अस्ताएका हुन् ।

तीनताका लिम्बुको छोराको पहिलो रोजाइ सेनाको जागिर हुन्थ्यो । तर, यिनलाई लाहुरप्रति खासै मोह भएन । ‘घरमा बुबाआमाको सपना पनि लाहुरे होस् भन्ने नै थियो’, उनले भनेका थिए, ‘तर, आमा बुबाको सपनालाई तुषारापात गर्दै साहित्यमा लागें ।’ यिनी स्कुले उमेरदेखि नै कविताका अम्मली बनिसकेका थिए ।

आधुनिक पुस्ताले किरात भाषाबारे सायदै थाहा होला । तन्नेरी पुस्ताले बेवास्ता गरिरहँदा फाइवालीले भने पाको जोश र जाँगरलाई यसैको उत्थानमा खर्चिए । ‘हाम्रो भाषा नाजुक बन्दै गएको छ’, यिनी सधैं चिन्तित बन्थे, ‘युवा पुस्ताले भाषा बिर्सन थालेका छन् बिर्सनु नदिने मेरो अभियान हो ।’

यिनको व्यक्तिगत विश्लेषणलाई आधार मान्ने हो भने किरात र लिम्बु भाषाको दायरा अचेल साँघुरिँदै गएको छ । बुढा पाकाहरुमा मात्रै सीमित बन्दै गएको किरात भाषा र लिपिको प्रवर्द्धनमा यिनी युवा जोसका साथ लागेका थिए । ‘यसको संरक्षण ज्यादै चुनौतीपूर्ण छ’, उनी भन्थे ।

फाइवालीले ‘अन्यायको हार’ नामको कृति २०३६ सालतिर प्रकाशित भएको थियो । त्यसपछि संक्षिप्त खस लिम्बु शब्दकोश (२०४९), किरात ऐतिहासिक सवाइ(२०५०), मुक्पान सुम्(लिम्बु उखान, २०६१)लगायतका करिब दर्जन कृति प्रकाशित गरे । ‘नेपाली पुस्तकका पाठक पाउन धौधौ हुन्छ’, लिम्बु भाषा साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति समेत रहेका फाइवालीको गुनासो थियो,‘लिम्बु भाषाका पाठक पाउन त सिलो नै खोज्नु पर्ने अवस्था छ ।’

२०३४ सालमा लोकसेवा पास गरेर सरकारी जागिरे बनेका फाइवाली २८ वर्षे जागिरे जीवनबाट करिब ७ वर्षअघि ‘रिटायर्ड’ भएका थिए ।

प्रकाशित : श्रावण ५, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

र्‍यापर क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित चिनियाँ र्‍यापर तथा कलाकार क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । कम उमेरका किशोरी तथा युवतीसँग यौन सम्बन्धका लागि प्रलोभन देखाएको आरोप लागेसँगै विभिन्न ब्रान्डले उनीसँगको सम्झौता तोडेका छन् ।

सामाजिक सञ्जालमा यो आरोपमाथि बहस चर्किएको छ । कतिले उनलाई मनोरञ्जन क्षेत्र त्यागेर देशसमेत छोड्नुपर्ने अभिव्यक्ति दिएका छन् । वू चिनियाँ-क्यानडेली र्‍यापर एवं कलाकार हुन् । १९ वर्षिया डु मैज्हुले यौन दुर्व्यवहारको आरोप लगाएसँगै क्रिस विवादमा तानिएका हुन् । डुले केही हप्तादेखि सामाजिक सञ्जालमा वूले किशोरीहरुलाई संगीत र अभिनय क्षेत्रमा काम दिने भन्दै यौन सम्बन्ध राख्न प्रलोभन देखाएको कुरा सार्वजनिक गर्दै आएकी छन् ।

आइतबार मात्रै एक अन्तर्वार्तामा उनले आफूसहित वूबाट पीडित अन्य ७ जना महिलाबारे जानकारी रहेको बताएकी छन् । तीमध्ये दुई त निकै कम उमेर समूहका रहेको उनले बताएकी छन् । वूसँग पहिलोपटक भेट्दा आफू १७ वर्ष रहेको उनले दाबी गर्दै आएकी छन् । डुले आफूलाई अन्य किशोरीहरुसँग घर बोलाएर वूले मद्यपानका लागि दबाब दिएको र भोलिपल्ट आफू वूको ओच्छ्यानमा ब्युँझिएको बताएकी छन् ।

वूले भने आफूमाथि गलत आरोप लगाएको भन्दै गालीबेइज्जती सम्बन्धी उजुरी दर्ता गराएको कुरा बीबीसीले उल्लेख गरेको छ ।

के–पप ब्यान्ड 'एक्सो'को सदस्यका रुपमा एसियामा वू चिनिएका थिए । तर सन् २०१४ मा चीन फर्केर उनले गायनसँगै मोडलिङ र अभिनयमा करियर सुरु गरे । उनले मिस्टर सिक्स(२०१५), जर्नी टु दि वेस्ट : द डेमन्स स्ट्राइक ब्याक(२०१७) लगायत भिन डिजेलसँग 'त्रिपल एक्स : रिटर्न अफ जान्डर केज' र 'भलेरियन एण्ड दि सिटी अफ अ थाउजेन्ड प्लानेट्स'मा अभिनय गरेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्समा वूले डुलाई आफ्नो कुरा बाहिर नल्याउन ७७ हजार १ सय ६६ डलर दिन खोजेको समेत उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १४:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×