जनशक्ति कम हुँदा उपचार प्रभावित

इलाम — जिल्ला अस्पताल इलाममा क्षमताअनुसार जनशक्ति नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । अस्पतालको सुधार गर्न स्थानीय बासिन्दाले माग गर्दै आएका छन् ।

जनशक्ति कम हुँदा उपचार प्रभावित

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री राम रानासमक्ष अस्पताल स्तरोन्नति गरेर ५० शय्याको बनाइए पनि जनशक्ति नहुँदा सेवा प्रभावकारी नभएको गुनासो स्थानीयले गरेका छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले अन्य जिल्लामा १ सय शय्याको अस्पताल निर्माण हुने क्रममा रहे पनि यहाँ भएको सुविधा पनि स्थानीयले नपाएको गुनासो गरे । उनले संस्थाको तर्फबाट अस्पतालको स्तरवृद्धिका लागि ज्ञापन पत्रसमेत बुझाए । स्थानीय प्रकाश परियारले भौतिक पूर्वाधार निर्माण गरिए पनि अन्य सेवा नहुँदा प्रत्यक्ष मार खेप्नुपरेको उल्लेख गर्दै दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्थाका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रभु शाहले जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको स्विकारे । ‘स्टाफलाई कोभिड हुँदा पनि दस दिनभन्दा धेरै आराम दिन सकिएको छैन,’ उनले भने, ‘तर पनि सक्दो उपचार सेवा पुर्‍याउँदै आएका छौं ।’

१५ शय्याको जिल्ला अस्पतालाई २०६९ असोजमा ५० शय्यामा स्तरवृद्धि गरिएको हो । तर कहिले पनि दरबन्दी अनुसारको विषेशज्ञसहितका डाक्टर यहाँ उपस्थित नहुँदा स्थानीयले महँगो खर्चमा उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि १ जना स्थायी र २ जना करारका डाक्टर मात्र छन् । ‘आवश्यकताअनुसार विशेषज्ञ डाक्टरको व्यवस्था गर्न पहल नभएको हैन,’ कृषिमन्त्री रानाले भने, ‘भेन्टिलेटर, आईसीयू सेवा सञ्चालनका लागि पनि जनशक्तिकै अभाव भएकाले प्रदेश सरकारले विशेष पहल गरिरहेको छ ।’

पछिल्लो समय कोभिड–१९ कारण देशविदेशबाट स्वास्थ्य सामग्री र उपकरण जम्मा हुने क्रम बढे पनि जनशक्तिकै अभावमा सबै सामग्रीको उपयोग हुन सकेको छैन । सामाजिक विकासमन्त्री राईले प्रदेशका सबै सरकारी अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई सुविधा थप गर्दै सम्बन्धित जिल्लाका अस्पतालमा सेवा गर्ने वातावरण मिलाउन निर्णय भएको बताइन् ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?