२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रकम अभावमा स्वास्थ्य बिमा प्रभावित

सरकारले माग रकमको आधा पनि उपलब्ध नगराएपछि अस्पताल संकटमा
विनोद भण्डारी

मोरङ — सरकारले समयमा स्वास्थ्य बिमाको रकम उपलब्ध नगराउँदा मोरङका अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । सरकारी अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेका छन् । निजी अस्पतालले पनि उपचार गराएबापतको करोडौं रुपैयाँ नपाएको गुनासो गरेका छन् ।

रकम अभावमा स्वास्थ्य बिमा प्रभावित

विराटनगरमा निजीतर्फ नोबेल र विराट शिक्षण अस्पतालले बिमा कार्ड भएका बिरामीको उपचार गर्दै आएका छन् ।
सरकारले सर्वसाधारणलाई स्वास्थ्य बिमा गराएर २०७२ चैतदेखि एक लाख रुपैयाँ बराबरको औषधि र उपचार खर्च निःशुल्क गराउँदै आएको छ । कोसी अस्पतालले बिमा कार्ड भएका बिरामीको उपचार गरेबापत सरकारबाट असारसम्ममा ४ करोड ३४ लाख रुपैयाँ पाउन बाँकी छ ।

सरकारले समयमै रकम उपलब्ध नगराउँदा सेवा सञ्चालनलाई निरन्तरता दिन गाह्रो भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । सरकारसँग माग गरेको रकमको आधाभन्दा कम मात्र उपलब्ध गराउँदा अस्पताल आर्थिक रूपमा संकटमा परेको उनको भनाइ छ । एक वर्षयता उपचार र वितरण गरेको औषधिबापतको ४ करोड ३४ लाख रुपैयाँ सरकारबाट लिन बाँकी रहेको उनले सुनाए ।

स्वास्थ्य बिमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् रेफर सेन्टरमध्येको एक पथरी शनिश्चरे नगर अस्पतालले पनि आर्थिक समस्याले सेवा बन्द गर्ने तयारी गरेको छ । रेफर लिन आउने बिरामीको सामान्य परीक्षण गरेर औषधि वितरण गरेबापतको ५५ लाख रुपैयाँ अस्पतालले औषधि सप्लायर्सलाई तिर्न बाँकी छ । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार औषधि सप्लायर्सलाई ५५ लाख रुपैयाँ तिर्न नसक्दा औषधि नै आपूर्ति हुन छाडेको छ । सरकारसँग ५५ लाख माग गर्दा ९ लाख रुपैयाँ मात्र उपलब्ध गराएको उनले बताए । सप्लायर्सले औषधि आपूर्ति बन्द गरेसँगै अस्पतालले स्वास्थ्य बिमा उपचार सेवा नै बन्द गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।

स्वास्थ्य बिमा कार्ड भएका बिरामीको उपचार र औषधिबापत यहाँको नोबेल शिक्षण अस्पतालले सरकारसँग दुई वर्षको अवधिमा ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको जनाएको छ । यति धेरै रकम सरकारसँग बक्यौता राखेर बिमाको उपचार सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको अस्पताल प्रशासन प्रमुख दीपेश राईले बताए । यो अस्पतालमा दैनिक सात सयभन्दा बढी बिमाका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।

राईका अनुसार अस्पतालले बिमाका बिरामीको उपचार गरेबापत पाउनुपर्ने रकम माग गर्दा त्यसको आधा पनि उपलब्ध गराउँदैन ।

प्रकाशित : श्रावण ५, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?