बालबालिकाका लागि छैन कोरोना वार्ड

भदौदेखि सबै अस्पतालहरुमा कोरोना वार्ड सञ्चालन गर्ने गरी तयारीको अनुगमन
जितेन्द्र साह

विराटनगर — कोरोना महामारीको तेस्रो लहरमा सबैभन्दा बढी जोखिममा पर्ने भनिएका बालबालिकाका लागि अस्पतालहरूमा सरकारले भनेअनुसार छुट्टै कोरोना वार्ड स्थापना गर्ने काम भएको छैन । प्रदेश १ का अधिकांश अस्पतालमा अझसम्म संक्रमित बालबालिकाका लागि छुट्टै वार्ड बनाइएको छैन ।

बालबालिकाका लागि छैन कोरोना वार्ड

वार्ड स्थापनाका लागि चाहिने भेन्टिलेटर र अक्सिजनलगायत सामग्री किन्न सूचना निकाल्ने तयारीमा रहेको विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले कति बेडको र कहिलेसम्म तयार भइसक्नेबारे यकिन भन्न नसकिने बताए । ‘अहिले संक्रमित बालबालिका आएमा ठूलाकै लागि छुट्टयाएको खाली बेडमा भर्ना गरेर उपचार गर्छौं,’ उनले भने । कोसी अस्पताल परिसरभित्रको कोरोना वार्डमा ६२ बेड, १० बेडको आइसोलेसन वार्ड र उक्त अस्पतालको मातहतमा सञ्चालित विराटनगरको जोगवनी मार्गस्थित कोभिड–१९ उपचार केन्द्रमा १ सय ३ बेड छ ।

कतिपय अवस्थामा ठूलासँगै राखेर उपचार गर्न नमिल्ने हुनाले कोभिड–१९ उपचार केन्द्रमै बालबालिकाका लागि छुट्टै वार्ड बनाइने मेसु डा.दासले बताए । प्रदेश १ सामाजिक विकास मन्त्रालयका डा.रवीन्द्र निरौलाले अस्पतालहरूमा अक्सिजन प्लान्ट लगाउने र आईसीयू सेवा सुरु गर्नेलगायतका गतिविधि भइरहेको बताए । विराटनगरस्थित कोसीको कोभिड–१९ उपचार केन्द्रमा आईसीयूसहितको बालबालिकाका लागि कोरोना वार्ड बनाइने उनले जनाए ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले अस्पतालको क्षमताअनुरूप यही प्रयोजनका लागि छुट्टयाएको बजेटअनुसार प्रदेश १ को अस्पतालहरूमा काम भइरहेको बताए । यस प्रदेशमा निजी र सरकारीका गरी ३१ अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् । केहीले मात्र बालबालिका लागि छुट्टै कोरोना वार्ड बनाएको मन्त्रालयले जनाएको छ । प्रसाईंका अनुसार ती वार्डका लागि कम्तीमा एक बालरोग विशेषज्ञ वा फिजिसियन राख्नैपर्ने भनिएको छ । ‘भदौदेखि सबै अस्पतालहरूमा कोरोना वार्ड सञ्चालन हुने आशा छ,’ उनले भने, ‘त्योअनुरूप अस्पतालहरूको तयारीको अनुगमन गरिरहेका छौं ।’

प्रदेशभर ३ साउनसम्म ७८ हजार १ सय ८९ संक्रमित भइसकेका छन् । तीमध्ये १० वर्ष उमेर समूहका २ हजार ४४ र ११ देखि २० वर्ष उमेर समूहका ६ हजार ३ सय २३ रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितको १० प्रतिशत बढी हो । हालसम्म २० वर्ष मुनि उमेर समूहका २० संक्रमितको मृत्यु भएको छ । प्रदेशभर ५ हजार ५ सय ७२ सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणले ३ साउनसम्म १ हजार ४ सय ५६ को मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले २१ जेठमा विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्टयाउन भनेको थियो । मन्त्रालयका अनुसार तेस्रो र चौथो लहर आउन सक्ने र यसमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था छ । पहिलो र दोस्रो लहरमा ८ देखि १० प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?