१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हुनै छोडे सांस्कृतिक गतिविधि

ताप्लेजुङ — हिमाली तथा पहाडी जिल्लाका किसानको वार्षिक ‘रुटिन’ हुन्छ । खेत र बारी भएका किसानहरू खेतीको सुरुवात जेठबाटै गर्छन् । धान रोप्ने खेतमा जेठदेखि आली अचिला गर्छन् र झारपात पन्साएर सर्लक्क सफा बनाउँछन् ।

हुनै छोडे सांस्कृतिक गतिविधि

लेकाली क्षेत्रमा असार पहिलो साता धान रोपिसक्छन् । बारीमा कोदो रोप्ने पनि यही बेला हो । धेरैले मकै बालीभित्रै कोदो रोप्छन् । औलमा पनि साउन दोस्रो सातासम्म धान र कोदो लगाइसक्छन् ।

साउन अन्तिमदेखि भदौ दोस्रो सातासम्ममा जात्रा पर्व हुन्छ । विशेषगरी नागपञ्चमीदेखि सुरुवात हुन्छ । त्यसका लागि समय मिलाएर बाली लगाउने र गोडमेल गर्ने गर्छन् । हिलो, मैलो, झरी, बादलसँग जुधेर खेती लगाएका यिनै किसान जात्रा, मेला भर्न सहर पस्छन् । बाली लगाएपछि फुर्सदका किसानलाई लक्षित गरी ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखे नाचदेखि धान नाच, च्याब्रुङ नाच, फुटवललगायत गतिविधि हुँदै आएको थियो । तर यस्ता गतिविधि यतिबेला कोरोना संक्रमणको चपेटामा परेका छन् । लिम्बू संस्कार, संस्कृतिका संरक्षक हाङमाया लिम्बू दुई वर्षदेखि ढोलक बजाउन नपाएको बताउँछिन् । ‘हल्लाखल्ला हुन्छ भनेर विवाहमा पनि च्याब्रुङ बजाउन हराइसक्यो,’ उनले भनिन्, ‘जात्रा पर्व त दुई वर्षदेखि ठप्प नै छ, यहाँ त बाजा पनि बिग्रन थालिसक्यो ।’

तिथिअनुसार साउन अन्तिमदेखि भदौ पहिलो साता हुने लाखे जात्रा, असोज कात्तिकमा हुने दसैं, तिहार र हिउँदमा हुने महोत्सवमा विभिन्न संस्कृति प्रदर्शन गरिन्थ्यो । सामाजिक सद्भावका लागि लिम्बू समुदायको चासोक तङनाम र साकेला, गुरुङ, शेर्पा, भोटेको ल्होसार, राई, सुनुवारको उँधौली, उँभौलीमा सबै जातजातिले आफ्नो संस्कृति देखाउँथे । यी सबै पर्व अहिले प्रभावित छन् । संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले फुटबलको प्रारम्भ र समापनमा सांस्कृतिक कार्यक्रम गर्ने परम्परा रहेको लाखेजात्रा फुटबल आयोजक समितिका सचिव लक्ष्मी काफ्ले बताउँछन् ।

उनका अनुसार उद्घाटन र समापनको दिन अनिवार्य सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ । यो बीसौं वर्षअघिदेखिको प्रचलन भएको काफ्ले बताउँछन् । जनैपूर्णिमादेखि श्रीकृष्ण जन्माष्टमीको प्रत्येक साँझ धाननाच र च्याब्रुङ नाचसमेत हुने गरेको थियो । कोरोनाकाल सुरु भएपछि सांस्कृतिक प्रदर्सन गर्ने थलो नभएको संस्कृतिकर्मीको गुनासो छ । विवाह, व्रतबन्ध, पर्व महोत्सव नै प्रभावित भएपछि सांस्कृतिक परम्परा थाती छन् ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?