१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिलाम्मे सडकमा एम्बुलेन्सलाई सास्ती

आनन्द गौतम

ताप्लेजुङ — बिरामी लिन मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ जाँदै गरेको एम्बुलेन्स फुङलिङ नगरपालिका–३ सिम्लेको सितले भीरनजिकको बाटोमा अड्यो । जिल्ला अस्पतालको उक्त एम्बुलेन्स आधा घण्टासम्म प्रयास गर्दा पनि निकाल्न नसकेपछि भूपू सैनिक संस्थाको एम्बुलेन्स झिकाइयो ।

हिलाम्मे सडकमा एम्बुलेन्सलाई सास्ती

त्यो एम्बुलेन्स पनि सितले भीरको बाटो हुँदै एक किलोमिटर अगाडि सिम्ले पुगेर रोकियो । त्यसपछि एम्बुलेन्स चालक योगेश भट्टराईले बिरामीका आफन्तलाई सडक बिग्रेका कारण आउन नसक्ने जानकारी गराए । बाटोमा फसेका दुवै एम्बुलेन्स निकाल्न सिम्ले अस्थायी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापोसहितका प्रहरी टोली र स्थानीयले ठेल्ने, तान्ने गरे पनि बिरामीको उद्धार गर्न भने सकेनन् । पत्ती भाँचिएपछि दुवै एम्बुलेन्स ग्यारेजमा पुगे ।

यो ताप्लेजुङको निर्वाचन क्षेत्र क र ख जोड्ने एक मात्र सडक हो । उक्त सडक भएर आठराई त्रिवेणी, मिक्वाखोला, मैवाखोला र मेरिङदेन गाउँपालिकाका बासिन्दा सदरमुकाम फुङलिङ आउजाउ गर्छन् ।

लगातारको वर्षाका कारण अहिले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । ‘ट्रक र ट्र्याक्टरको ठूला पांग्राले बाटोमा खाल्टो पारेको हुन्छ,’ एम्बुलेन्स चालक भट्टराईले भने, ‘साना पांग्राका एम्बुलेन्स त्यहीं फस्छन् ।’ छेउतिर बलगरे भीरमुनि र भित्तातिर बलगरे पहरामा ठोकिएर उछिट्टिने डर हुने उनले बताए ।

नजिक भए तान्न मेसिन वा ट्र्याक्टर नत्र मान्छे खोजेर निकाल्नुपर्ने अवस्था धेरै सडकमा भएको उनले बताए । अहिले त सडक माथिबाट खसेको पहिरोले पनि अधिकांश सडकको भित्ताको भाग पुरिएकाले यातायात चलाउनै कठिन हुने एम्बुलेन्स चालकको गुनासो छ । एक नगरपालिका र आठवटा गाउँपालिका भएको जिल्लामा ६१ वटा वडा छन् । यीमध्ये ५९ वटा वडामा सडक पुगेको छ । हिउँदमा सबै ठाउँमा यातायात पुग्छ । तर ट्र्याक खोल्ने, स्तरोन्नति नगर्ने प्रवृत्तिका कारण अधिकांश सडक बर्खामा बन्द हुन्छन् ।

गाउँको त के सदरमुकामकै सडक पनि बर्खामा अवरुद्ध हुने गरेको चालकहरू बताउँछन् । ‘अहिले त कोरोनाका कारण कम यातायात चलेको छ,’ ट्याक्सी काउन्टरका इन्चार्ज टिकेन्द्र नेपालीले भने, ‘संक्रमण नहुँदा पनि बर्खामा साह्रै कम यातायात चल्छ ।’ हिउँदमा दुई/तीन सय साना गाडी चल्ने जिल्लामा बर्खामा ५०/६० वटाभन्दा बढी नहुने उनले बताए । बर्खा लागेपछि साना सवारी तराईतिर झर्ने र घरमै थन्किने गरेका छन् । जिल्लामा भएका पनि ताप्लेजुङदेखि पाँचथर–इलाम–झापा चल्ने गरेको नेपाली बताउँछन् ।

फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल ट्र्याक खोल्ने सडकहरू सकिँदै गएकाले अब स्तरोन्नतिमा लाग्ने बताउँछन् । भौगोलिक हिसाबले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्लामा कालोपत्र सडक भने ५५ किलोमिटर मात्रै छ । त्यो पनि काबेलीदेखि सुकेटारसम्मको मेची राजमार्ग र केही शाखा सडकहरू मात्रै छन् ।

प्रकाशित : श्रावण ३, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?