३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

परिवार नै संक्रमित हुँदा सकस

‘सबै ओछ्यान परेपछि तातोपानी दिने पनि कोही भएन’
विप्लव भट्टराई

इलाम — एकातर्फ आमा छटपटाउँदै थिइन् भने अर्कोतर्फ बुबालाई सास फेर्न गाह्रो हुन थाल्यो । आमाको भन्दा बुबाको स्वास्थ्य अवस्था जटिल थियो । बुबाको अक्सिजन सकिएपछि उनले आमाले प्रयोग गर्नुभएको अक्सिजन बुबालाई लगाउने निधो गरे । 

परिवार नै संक्रमित हुँदा सकस

‘आफू पनि कोरोनाले जीउ चलाउन सक्ने अवस्थामा थिइनँ । विस्तारै आमाको छेउमा गएर अक्सिजन सिलिन्डर खुस्काएँ र बुबाकोसम्म पुर्‍याएर जोडिदिएँ । तर बुबालाई बचाउन सकिनँ,’ माङ्सेबुङ–५ लारुम्बाका सुमन लावतीले आँखैअगाडि बुबाको निधन भएको कारुणिक दृश्य सम्झँदै थिए । लावतीका आमाबुबा मात्रै नभई आफूसहित श्रीमती र परिवार सबै कोरोना संक्रमणको चपेटामा परेका हुन् । बिहान ५ बजे बुबा गुमाएका लावतीले दिउँसो साढे ३ नबज्दै आमालाई पनि गुमाउनुपर्‍यो ।

समयमा नै बुबा टेकबहादुर र आमा लक्ष्मी हाङ्मालाई अस्पताल पुर्‍याउन नसक्दा लावतीले दोहोरो बज्रपात सहनुपरेको थियो । परिवारका सबै सदस्य एकैसाथ संक्रमित भएकाले पनि समयमै अस्पताल पुर्‍याउन नपाएको उनको दुखेसो छ । ‘निरन्तर वर्षा भएकाले रतुवा खोला तरेर दमकतर्फ गाडी जाने अवस्था थिएन,’ लावतीले थपे, ‘माई नगरपालिकातिरको सडकमा पनि ठाउँठाउँमा पहिरो खसेको थियो । लोदिया खोला पनि तर्ने अवस्था नभएर कुनै पनि गाडी आउजाउ गर्न सकेनन् ।’

एकसाथ सबै ओछ्यान परेपछि बिरामीलाई तातोपानी दिने पनि कोही मान्छे नभएको उनले सुनाए । आमालाई सामान्य समस्या भएपछि उनले २ वटा अक्सिजन सिलिन्डरको जोहो गरेका थिए । एकपटक त जसोतसो ट्र्याक्टरबाट उनले सिलिन्डर दमक पठाएर रिफिल गरे । तर सडक अवरुद्ध भएपछि फेरि रिफिल गर्न सकेनन् । गत असार १९ मा एन्टिजेन चेक गराउँदा ७ जनामा कोरोना पोजिटिभ देखिएपछि परिवारका सबै जना होम आइसोलेसनमा बस्दै आएको माङ्सेबुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप राईले बताए । लावती दम्पती, एक भाइ र दुई जना भतिजा पनि संक्रमणमा परेका हुन् । एक जना भतिजाको अवस्था नसुध्रिएपछि गाडी खुलेकाले थप उपचारका लागि दमकतर्फ लगिएको छ ।

परिवार नै संक्रमित भएकाले लावतीका बुबाआमाको काजकिरिया पनि हुन सकेको छैन । लावती रेडियो माङ्सेबुङका स्टेसन म्यानेजर हुन् । केही समयदेखि रेडियोसमेत बन्द रहेकाले समस्यामा रहेका उनी अहिले अकल्पनीय पीडामा फसेका छन् ।

कोभिड–१९ को दोस्रो भेरिएन्टका कारण जिल्लामा ५६ जनाको ज्यान गइसकेको छ । २ हजार ३ सय १९ जनामा संक्रमण देखिएको छ । तर पनि अधिकांश क्षेत्रमा कठिन अवस्था आए के गर्ने भन्ने तयारी भएको पाइँदैन । हिउँद याममा जिल्लाका हरेक टोलमा गाडी पुग्ने गरे पनि वर्षा याममा धेरै स्थानमा गाडी पुग्दैनन् । जिल्लाकै विकट मानिने माङ्सेबुङका धेरै क्षेत्र बर्खा लाग्नासाथ यस्तो समस्यामा पर्ने गर्छन् । निर्माणाधीन दमक–रवि–पञ्चमी जोड्ने फाल्गुनन्द राजमार्गको रतुवा खोलामा क्षेत्रमा भारी वर्षा भएपछि सवारीसाधन गुड्दैनन् ।

प्रकाशित : श्रावण २, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?