२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बीपीमा बेथिति :‘रिएजेन्ट’ अभावमा रिपोर्ट दिन बन्द

तीन महिनादेखि आपूर्ति नहुँदा प्रतिष्ठानलाई दैनिक १० लाख रूपैयाँभन्दा बढी घाटा

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइग्नोटेक सपोर्ट प्राइभेट लिमिटेडले बदमासी गरेको पाइएको छ । ९ वर्षदेखि विभिन्न ल्याब परीक्षणका लागि ‘रिएजेन्ट’ आपूर्ति गर्ने ठेक्का पाएको डाइग्नोटेकले तीन महिनादेखि त्यसको आपूर्ति नगर्दा प्रतिष्ठानलाई दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको छ ।

बीपीमा बेथिति :‘रिएजेन्ट’ अभावमा रिपोर्ट दिन बन्द

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास र उनका समूहले डाइग्नोटेकका सञ्चालक सुशील थापासँग पाँचवर्षे सम्झौता गरेका थिए । थापाको कम्पनी डाइग्नोटेकले प्रतिष्ठानलाई चाहिने बायोकेमेस्ट्री एनालाइजर मेसिन पाँच वर्षका लागि निःशुल्क उपलब्ध गराउने भनिएको थियो । त्यसबापत विभिन्न ल्याब परीक्षणका लागि आवश्यक सम्पूर्ण रिएजेन्ट सोही कम्पनीबाट मात्र खरिद गर्नुपर्ने करार सम्झौता भएका थियो । खुलाबजारमा खरिद गर्दा लाग्ने मूल्य र डाइग्नोटेकले प्रतिष्ठानलाई बिक्री गर्ने रिएजेन्टको मूल्यमा फरक रहे पनि निःशुल्क बायोकेमेस्ट्री एनालाइजर मेसिन पाएको भन्दै सोही कम्पनीबाट पाँच वर्षसम्म प्रतिष्ठानले महँगो मूल्यमा रिएजेन्ट खरिद गर्दै आएको थियो ।

पाँच वर्षे करार सकिएको पनि चार वर्ष कटिसकेको छ । तर हालसम्म सोही कम्पनीबाट महँगोमा रिएजेन्ट खरिद गर्दै आएकोमा तीन महिनाअघिदेखि भने आवश्यक रिएजेन्ट आपूर्ति गर्न नसक्दा प्रतिष्ठानलाई दैनिक लाखौं रुपैयाँ घाटा सहनुपरेको हो । रगतमार्फत मुटु र शरीरमा राम्रो बोसो र नराम्रो बोसोको मात्रा पत्ता लगाउने बायोकेमेस्ट्री ल्याब टेस्टले गर्ने लिपिड प्रोफाइलअन्तर्गतको टोटल कोलेस्टेरोल, एचडीएल कोलेस्टेरोल, ट्राइग्लिसिराइड (टीएजी), एचडीएल कोलेस्टेरोलका रिएजेन्ट नहुँदा सेवाग्राही अन्यत्र धाउन बाध्य छन् ।

प्रतिष्ठानमा एनिमियासम्बन्धी रोग पत्ता लगाउन गरिने आइरन प्रोफाइल हेर्न फेरिटिन, दिसामा रगतको मात्रा भए/नभएको पहिचान गर्ने स्टुल फर अकल्ट ब्लड, लोनिजेट क्यटाल्सियमजस्ता सामान्य ल्याब परीक्षणको समेत व्यवस्था हुन छाडेको छ । प्रदेश १ र २ सहित भारतको सीमावर्ती क्षेत्रबाट आउने बिरामीले लिपिड प्रोफाइलसम्बन्धी सामान्य बायोकेमेस्ट्री ल्याब टेस्टको रिपोर्टसमेत प्रतिष्ठानजस्तो अस्पतालमा निकाल्न नसक्नु लज्जास्पद भएको छ । प्रतिष्ठान पदाधिकारीहरूले भने प्रत्येक विभागमा आन्तरिक सर्कुलर गरेर कुनै पनि ल्याब टेस्ट, एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रा साउन्डका लागि सेवाग्राहीहरूलाई बाहिरको ल्याबमा नपठाउन भन्दै आएका छन् ।

प्रतिष्ठानको बायोकेमेस्ट्री ल्याबमा दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म विभिन्न ल्याब टेस्ट हुने गरेका छन् । तीमध्ये लिपिड प्र्रोफाइलको टेस्ट मात्र कम्तीमा ३० प्रतिशत बिरामीको हुने गरेको छ । लिपिड प्रोफाइल टेस्ट गर्न प्रतिष्ठानले ११ सय ५० रुपैयाँ शुल्क राखेको छ ।

प्रतिष्ठानका डाइग्नोस्टिक इन्चार्ज राजेन्द्र चौधरीले भने, ‘लिपिड प्रोफाइलका लागि रिएजेन्ट सकिएकाले एक सातादेखि त्यो सेवा बन्द गरेका छौं । सायद केही दिनभित्रमा रिएजेन्ट प्राप्त भएपछि फेरि सुरु गर्नेछौं ।’उनले प्रतिष्ठान व्यवस्थापन पक्षले रिएजेन्ट जर्मनबाट एयर कार्गोमार्फत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिसकेको र भन्सारसम्बन्धी कागजपत्र मिलाउन समय लागेकाले केही ढिलाइ भएको जानकारी पाएको बताए । उनले भने, ‘ल्याबका तर्फबाट रिएजेन्ट सकिन लागेको भनेर तीन महिनाअघि नै जानकारी दिँदै माग गरेको हो तर के कारणले ढिलाइ भयो, त्यो त हामीलाई पनि थाहा हुँदैन ।’

बायोकेमेस्ट्री एनालाइजर मेसिन डिजिटल प्रविधि भए पनि पुरानो भएको र प्रतिघण्टा तीन सयवटा मात्र ल्याब टेस्ट रिपोर्ट दिन सक्छ । चौधरीका अनुसार ल्याब टेस्ट गर्नुपर्ने संख्या धेरै भएकाले एउटा पुरानो मेसिन मात्र भएकाले जनशक्ति हुँदाहुँदै पनि रातभरि बसेर काम गर्नुपर्ने अवस्था आएको छ ।

बजारमा हाल प्रतिघण्टा ८ सयवटा ल्याब टेस्ट रिपोर्ट निकाल्न सक्ने मेसिन आइसकेको छ । तर प्रतिष्ठानले थापाकै कम्पनीको मेसिन चलाएबापत सोही कम्पनीबाट महँगोमा रिएजेन्ट खरिद गर्दा कमिसन आउने भएकाले पटक–पटक मर्मतसम्भार गर्दै आएको छ । मर्मतसम्भारमा वार्षिक २० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । लगातार सञ्चालनमा आइरहेको र पुरानो डिजिटल प्रविधिमा आधारित भएकाले उक्त मेसिनले देखाएको रिपोर्टलाई प्राविधिकहरूले टिपेर फेरि कम्प्युटरमा टाइप गरेर भर्ने गरेका छन् । पुरानो मेसिन र हातैले टाइप गरेर ल्याबको अर्को कम्प्युटरमा टाइप गरेर डाटाका रूपमा राख्दा कहिलेकाहीँ रिपोर्ट नै गलत र टेस्ट रिपोर्टहरू त्रुटिपूर्ण आउने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

प्रतिष्ठानले थापासँगको करार सम्झौता सकिएकाले अर्को आधुनिक बायोकेमेस्ट्री एनालाइजर मेसिन खरिद गर्ने र सस्तो दरमा रिएजेन्ट पनि खरिद गर्ने उद्देश्यले २०७५ सालमै नयाँ मेसिन किन्नका लागि टेन्डरसमेत आह्वान गरेको थियो । तर त्यसबेला थापाले आफ्नो कम्पनीको टेन्डर नपर्ने सम्भावना देखेर प्रतिष्ठान पदाधिकारीहरूलाई प्रभावमा पारेर दुई पटकसम्म टेन्डर रद्द गर्न सफल भएका थिए ।

प्रकाशित : श्रावण १, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?