कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना संक्रमितसँग विभेद

जितेन्द्र साह

विराटनगर — कोरोना भाइरसको कहरको मारमा परेका घरभाडामा बस्नेलाई गत वर्ष र यस पटक पनि केही घरभेटीले उदारता देखाउँदै एक/दुई महिनाको भाडा लिएनन् । संक्रमित भएकाहरूलाई कतिपयले औषधोपचार एवं खानपिनमा सहयोग पुगोस् भनेर भाडा मिनाहा गरे । केहीले घरदैलोसम्म पुगेर रासन एवं नगद दिए । 

कोरोना संक्रमितसँग विभेद

समाजमा यस्ता मनकारी कमै हुन्छन् । त्यही भएर बहालमा बस्ने र कुनै नयाँ टोलमा घर बनाएर सरेकाहरूले कठिनाइ सामना गर्नुपर्छ । ‘एकपछि अर्को गर्दै परिवारका पाँचै सदस्य संक्रमित भयौं,’ विराटनगर–७ का एक पीडितले भने, ‘हेरचाह गर्ने कोही थिएन, जसोतसो पानी तताएर र जाउलोसम्म पकाएर खान्थ्यौं ।’

छरछिमेकलाई थाहा भए पनि केही सहयोग चाहिन्छ कि भनेर कहिल्यै सोध्न नआएको उनले बताए । ‘त्यो घरमा कोरोना लागेका मान्छे बस्छन्, उता नजाऊ’ वरिपरिकाले भनेको सुन्दा बाक्लो बस्तीमा समेत एक्लिएको महसुस गरेको उनले बताए । ‘कोही मद्दत गर्ने नभएपछि दूध, औषधि, तरकारी र दैनिक उपभोगका सामग्री किन्न परिवारका एक जना घरबाट निस्कनै पर्दथ्यो,’ उनले भने, ‘वरिपरिकाले बाहिर किन निस्केको भनेर हप्काउँथे, तर हामी नै सामान ल्याइदिन्छौं भनेर कसैले भन्न सकेनन् ।’

‘पोस्ट कोभिड’ को उपचारका क्रममा कोसी अस्पतालमा भेटिएकी विराटनगर–३ की एक महिलाले यो संकटका बेलामा सहरमा घर नहुनेले निकै पीडा भोग्ने गरेको सुनाइन् । ‘एक प्राइभेट कम्पनीमा जागिर खाने क्रममा पोजिटिभ भएँ, श्रीमान्ले नलुकाई जानकारी गराए पनि घरभेटीले आइसोलेसन वा कोभिड अस्पतालमा भर्ना हुन भन्न थाले,’ उनले भनिन्, ‘स्वास्थ्य अवस्था सामान्य भएकाले छुट्टै कोठामा राखेर राम्रो हेरचाह हुने श्रीमान्ले बुझाउँदा पनि घरभेटीले मानेनन् ।’

कोरोना संक्रमणको अहिलेसम्मको अनुभवले यो आलोपालो सबैलाई लाग्न सक्छ भन्ने छर्लंग भइसकेको हुनाले घरभेटी वा कसैले पनि विभेद गर्नु मूर्खताको प्रदर्शन भएको समाजशास्त्री मुकेश सिंहले बताए । ‘सुख र खुसीमा मात्र नभएर पीडामा पनि साथ रहोस् भनेर समाज चाहिन्छ, नत्र जंगलमा बस्दा भइगयो नि, घरभन्दा टाढा भाडामा बसेकालाई त झन् बढी सहयोग गर्नुपर्छ,’ उनले भने, ‘भोलि आफैंलाई पनि त्यही समस्या पर्न सक्छ भनेर मानवीय व्यवहार गर्नुपर्छ ।’

आवश्यक कामले बाहिर जानुपर्ने र आफन्त पनि आउजाउ गर्ने हुनाले भाडामा बस्नेलाई जस्तै आफूलाई समेत कुनै पनि बेला कोरोना भाइरस सर्न सक्ने घरभेटीले बुझ्नुपर्ने डा.रविनराज सिंहले बताए ।

प्रकाशित : असार ३१, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?