२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँपालिकाहरूमा आँखा उपचार केन्द्र स्थापना

आनन्द गौतम

कुम्यायक, पाँचथर — पाँचथरको कुम्यायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको सल्लाहमा नेपाल नेत्रज्योति संघका आजीवन सदस्य रहेका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले संघसँग समन्वय गरेर आँखा उपचार केन्द्र स्थापनाको गृहकार्य बढाएका हुन् ।

पाँचथरमा कार्यालय नभएकाले ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेल र गाउँपालिका अध्यक्ष चेम्जोङले आर्थिक वर्षदेखि सुरु गर्ने गरी असार २६ गते सम्झौता गरेका छन् ।

केन्द्र स्थापनाका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्याएको छ । गाउँपालिकाले नेत्रज्योति संघलाई यो रकम एकमुष्ट र स्वास्थ्य पढेका दुई जना कर्मचारी छनोट गरेर दिने र संघले उपचार केन्द्र स्थापनादेखि उपकरण, कर्मचारीको तलबलगायतको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । प्रशासकीय अधिकृत अधिकारीका अनुसार गाउँसभा सकिएकाले विविध खर्चबाट दिने गरी कार्यपालिका बैठकले आँखा उपचार केन्द्र राख्ने निर्णय गरेको हो ।

ताप्लेजुङको आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाले पनि संयुक्त बजेट व्यवस्था गरी दोभान बजारमा उपचार केन्द्र राख्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाको केन्द्र पर्ने भएकाले दोभानमा राख्ने निर्णय गरिएको केन्द्रका लागि चार/चार लाख रुपैयाँ विनियोजन गरेका छन् । कर्मचारी छनोट गरी तालिमका लागि नेत्रज्योति संघलाई जिम्मा दिएका छन् । डिचेन डोङगला आँखा उपचार केन्द्र ताप्लेजुङका इन्चार्ज काजी गुरुङका अनुसार जनशक्ति दक्ष भइसकेको छ । साउनदेखि केन्द्र सञ्चालनमा आउने छ । कार्यालय व्यवस्थापन र उपकरण खरिदको काम भइसकेको गुरुङले बताए । दुवै गाउँपालिकासँगको समन्वयमा साउन पहिलो सातादेखि सुरु गर्ने तयारी छ ।

कोरोना संक्रमणपछि स्थानीय तह स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने र अरू थप गर्ने क्रममा लागेका छन् । प्रदेशमा अनुरोध गरेर आयुर्वेद केन्द्र ल्याएर सञ्चालन गरेको उनले सुनाए । आयुर्वेद केन्द्रका लागि जनशक्ति प्रदेशले दिएको छ भने व्यवस्थापन गाउँपालिकाले गरेको छ । गाउँपालिकामा डाक्टर राख्ने चाहना अझै पूरा नभएको उनले सुनाए । तर बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी छ । २५ किलोमिटर दूरीमा सदरमुकाम फिदिम रहेकाले बिरामी अलि सिकिस्त भए तत्काल फिदिम लैजाने गरी व्यवस्थापन गरिएको उनले बताए । धरानबाट ९२ किलोमिटर दूरी भएकाले विभिन्न किसिमका डाक्टर झिकाएर शिविर सञ्चालनका लागि पनि गाउँपालिकाले बजेट छुट्याएको छ ।

सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङ दरबन्दी भएर पनि सरकारले डाक्टर नपठाएपछि गाउँपालिकाले नै डाक्टर राखेको बताउँछन् । महिलालाई सुत्केरी गराउन आठ/नौ घण्टा लाग्ने सदरमुकाम फुङलिङ, पाँचथरको फिदिम लानुपर्ने र पोस्टमार्टमका लागि पनि सदरमुकाम नै पुर्‍याउनुपर्ने भएकाले डाक्टरका लागि बजेट छुट्याएको उनले बताए । यस गाउँपालिकाले त डाक्टर पढ्नेका लागि वार्षिक १३ लाख रुपैयाँ सहयोग गर्ने गरी बजेट विनियोजन गरेको छ । अहिले हरेक गाउँपालिका स्वास्थ्यचौकीमा डाक्टर र स्टाफ नर्स तथा आयुर्वेद, आँखा उपचार केन्द्र स्थापनामा लागेको जिल्ला स्वास्थ्य कार्यालयबाट अवकाश भएका पूर्वजनस्वास्थ्य अधिकृत डिल्ली पौडेल बताउँछन् ।

प्रकाशित : असार २९, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?