माझी बस्ती आधारभूत सुविधाविहीन- प्रदेश १ - कान्तिपुर समाचार

माझी बस्ती आधारभूत सुविधाविहीन

रमेशचन्द्र अधिकारी

धनकुटा — चौबिसे गाउँपालिका ४ भैंसेटारस्थित माझी बस्ती आधारभूत सुविधाबाटै वञ्चित छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता जनताका आधारभूत सुविधाबाट माझी समुदाय वञ्चित हुनुपरिरहेको छ ।

सिँचाइ अभावमा जमिन बाँझै छ । स्थानीय हर्कबहादुर माझीले रहरलाग्दो बारी भए पनि अन्न उब्जाउन कठिनाइ भएको बताए । ५–७ रोपनी जग्गामा जुनेलो, मकै खेती गर्दै आएको उनले सुनाए । ‘नेतादेखि गाउँ आउने सबैलाई समस्या राख्दै आए पनि सुन्दैनन्,’ उनले भने, ‘हाम्रो समस्या समाधान कहिले होला ?’

भैंसेटार क्षेत्रमा बसोबास गर्ने ३९ मध्ये २३ घर माझीका छन् । अन्य तामाङलगायत जाति पनि यहाँ बसोबास गर्छन् । शैक्षिक, आर्थिक तथा सामाजिक रूपमा पनि पछि परेका माझी समुदायको उत्थानमा चासो जान नसकेको स्थानीय युवा बिन्दे माझीको भनाइ छ । जग्गामा बालीनाली लगाउन आकाशे पानी कुर्नुपर्ने स्थानीय दिलबहादुर कुमाल माझीले बताए । वर्षे खेतीले उब्जाएको अन्नले ३ महिना पनि खान नपुग्ने उनको भनाइ छ । माछा मार्ने, जाल हान्ने वैकल्पिक पेसा बनाएका उनले जहान परिवार पाल्न धौधौ पर्ने गरेको दुखेसो सुनाए ।

बस्तीबाट वडा कार्यालय रहेको स्थान मानेडाँडा पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ । सानो कामले पनि वडा कार्यालय आउजाउ गर्दै दिन बित्ने स्थानीयले बताए । केही वर्षअघि नजिकैको गाउँ फलामेटारमा खुलेको स्वास्थ्य चौकीले केही राहत भएको इन्दिरा माझीले बताइन् । गाउँमा ५ कक्षासम्म पढाइ हुने विद्यालय छ । त्यसभन्दा माथिल्ला कक्षा पढ्न ३ घण्टा टाढा गढिगाउँ पुग्नुपर्छ । खानेपानीका लागि लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने भए पनि अझै व्यवस्थित हुन नसकेको त्रैलेक्यश्वर प्रावि भैंसेटारका प्रधानाध्यापक टीकामाया तामाङको भनाइ छ ।

प्रकाशित : असार २९, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

जिल्ला प्रशासन धनकुटा र पाख्रिबास नगरपालिका घेराउ

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिकाको नगरसभामा भएको घटनालाई लिएर जिल्लामा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सत्ता पक्ष एमाले र विपक्षी गठबन्धन नारा जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् ।

नगरपालिकामा क्षति पुर्‍याएका १५ जनालाई पक्राउ गर्न दबाब दिन एमालेले प्रदर्शन गर्दै आएको छ । यस्तै, अर्को पक्षले पक्राउ गरिएकालाई रिहाईको माग राख्दै प्रदर्शन गरेका हुन् । असार १० गते नगरसभाका क्रममा पाख्रीबास नगरपालिकामा एक समूहले तोडफोड र क्षति पुर्‍याएको घटनाले पछिल्लो एक सातादेखि दिनहुँ पाख्रीबास र सदरमुकाम धनकुटामा प्रदर्शन हुँदै आएको छ ।

नगरपालिकाले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र एमाले (माधव नेपाल समूह) ले नगरसभा चलिरहेको स्थानमा तोडफोड गरी क्षति पुर्‍याएको नगरपालिकाको भनाइ छ । संलग्नलाई पक्राउ गर्न १५ जना विरुद्ध प्रहरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको नगरप्रमुख बिर्खबहादुर राईले बताए । यसक्रममा १५ मध्येका पाख्रीबास नगरपालिका ४ का वडाध्यक्ष सोभित निरौलाले प्रहरीमा आफै उपस्थित भएर पक्राउ दिएका थिए । उनी एमाले नेपाल पक्षका हुन् ।

दुवै समूहले आलोपालो रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ र प्रदर्शन गर्दै आएका छन् । मंगलबार र बुधबार दुवै समूहबाट चार वटा प्रदर्शन गरिएको छ ।

पाख्रीबास नगरपालिका घेराउ र कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । पक्राउ गरिएका वडाध्यक्ष निरौलाको शीघ्र रिहाइ गरिनु पर्ने र समग्न अन्यको कारबाही फिर्ता गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गठबन्धन दलमध्ये कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले बताए । घटनापछिको परिस्थिति न्युनिकरण गर्नुको सट्टा सत्ताको आडमा बढावा दिएको उनको भनाइ छ । उक्त समूहले बुधबार जिल्ला प्रशासन घेराउ र नारा जुलुस प्रदर्शन गरेको छ । त्यसअघि पाख्रीबास बजारमा मसाल जुलुस र प्रदर्शन गरेको जनाएको छ । यस्तै, एमालेको युवा संघले पनि मंगलबार जिल्ला प्रशासनमा घटनामा संलग्नलाई कारबाही गरिनु पर्ने दबाब दिन प्रदर्शन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थलाई भेटेर सम्लग्नलाई तत्काल पक्राउ गर्न दबाब दिएको युवा संघका जिल्ला इन्चार्ज बलदेव राईले बताए । प्रशासनले पक्राउ नगरे आफूहरु आफै अघि सरेर संलग्नको खोजी गर्ने उनले चेतावनी दिए ।

सीडीओ मौन

दिनहुँ प्रमुख जिल्ला प्रशासन कार्यालय घेराउ र कार्यालय परिसरमा प्रदर्शन हुँदै आएको छ । पाख्रीबास घटनामा हुने गरेका प्रदर्शनबाट कार्यालयको दैनिकी प्रभावित बनेको छ । यस्तो परिस्थितिमा घटनाबारे आफू केही प्रतिक्रिया नदिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । ‘घटनाबारे म केही बोल्दिनँ’, उनले भने, ‘जे सोध्नु छ, प्रहरीलाई सोध्नु ।’ जिल्ला प्रशासन कार्यालयमा भएको घटनाबारे प्रहरी भन्दा प्रजिअ स्वयंले अवस्थाबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिनु पर्नेमा उनले घटनाबारे समाचार लागि केही नबोल्ने कान्तिपुरलाई बताए ।

घटनालाई लिएर यस अघिका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालयमा तानिएका छन् । यसै साता आएका प्रजिअ पन्थलाई घटनाबाट उब्जिएको परिस्थिति व्यहोर्नु पर्ने अवस्था आएको जनाइएको छ । एक पक्षले पक्राउ गर्न र अर्कोले रिहाई गर्न दबाब दिने गरेपछि भर्खरै सरुवा भइ आएका प्रजिअ पन्थले घटनाबारे आधिकारीक प्रतिक्रिया नदिने अवस्थामा पुगेका छन् ।

प्रकाशित : असार २३, २०७८ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×