पुल भत्किएपछि फेरि डुंगाकै भर

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिकाका स्थानीयले त्रियुगा नदी तर्नका लागि फेरि पनि डुंगाकै भर पर्नुपर्ने भएको छ । १२ वर्षमा निर्माण सम्पन्न भएर पैदल यात्रीका लागि खुलासमेत गरिएको पक्की पुल भत्किएपछि वारिपारि गर्न डुंगा मात्रै विकल्प भएको हो । 

पुल भत्किएपछि फेरि डुंगाकै भर

पुल बनेपछि स्थानीयका लागि आवागमन सहज भएको थियो । चौदण्डीगढी–५ सिवाईमा निर्माण अन्तिम चरणमा पुगेको पक्की पुलमा पैदल यात्राका लागि अनुमति दिइसकिएको थियो । ‘दुई दिन मात्रै पुल तरेर बेल्टार बजार पुगियो, तेस्रो दिन जाँदा डुंगामा तर्नुपर्‍यो,’ चौदण्डीगढी–५ सुन्दरपुरका भागवत सुवेदीले भने । स्थानीय पक्की पुल तरेर आवतजावत गर्न पाइनेमा ढुक्क थिए । ‘अब त नदी तर्न डुंगा चाहिँदैन भन्ने थियो,’ स्थानीय नथुनी चौधरीले भने, ‘तर फेरि डुंगाबाट नतरी नहुने अवस्था आयो ।’ १२ वर्षमा बल्ल पक्की पुलबाट तरेर वारिपारि गर्ने सपना पूरा नहुँदै बाढीले बगाइदिएको उनले बताए ।

अविरल वर्षासँगै आएको बाढीले साताअघि पुलको एक स्पान ढाल्यो । अर्को स्पान ढल्किएपछि निर्माण भइसकेको पुल कामै नलाग्ने भएको चौदण्डीगढी–५ वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘एक त पुल निर्माण हुनै १२ वर्ष लाग्यो, त्यो पनि बाढीले भत्काइदियो,’ उनले भने । पक्की पुल ढलेपछि फेरि दुःखका दिन आएको उनले बताए । पुल किन भत्कियो भन्नेबारे सडक विभागले छानबिन गरेर विकल्प दिनुपर्ने चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले बताए । ‘नदीमा बाढी आउँछ भन्ने सबैलाई थाहा छ । सामान्य बाढी पनि नथेग्ने कस्तो पुल बनाइएको हो ?,’ उनले भने, ‘दक्षिणतर्फको भागमा दुई स्पान क्षति हुँदा कामै नलाग्ने भएको छ । छानबिन र विकल्पका लागि नगरपालिकाको दबाब रहन्छ ।’

चौदण्डीगढीको केन्द्र बेल्टार बजारलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने गरी ३ सय ७ मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त पक्की पुल डिजाइन गर्दै ढिला भएको थियो । निर्माणका लागि छनोट गरिएका ठाउँमा रूखका ठूल्ठूला ठुटा निस्किएपछि त्यसलाई खनेर हटाउँदा ढिला भएको थियो । योजना सुरु भएको १२ वर्षपछि निर्माण पूरा हुने अन्तिम चरणमा रहेको पुलको एउटा स्पान नदीमा झरेको र अर्को ढल्किएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय प्रमुख गोविन्द खकुरेलले बताए । ‘पुलमा २५/२५ मिटरका १२ स्पान छन् । दुई स्पान र एक पिलर धसिएको छ,’ उनले भने, ‘यसको विकल्पमा के गर्न सकिन्छ भनेर हामी छलफलमा छौं ।’

निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले पाएको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुको स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको हो । ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुल पुनर्मूल्यांकन गर्दा अहिले खर्च ११ करोड २७ लाख रुपैयाँ पुगिसकेको सडक योजना कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २९, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?