अदालत परिसरमा कर्मचारी मृत भेटिइन्- प्रदेश १ - कान्तिपुर समाचार

अदालत परिसरमा कर्मचारी मृत भेटिइन्

विप्लव भट्टराई

इलाम — उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी विमलाकुमारी पराजुली मृत भेटिएकी छिन् । सुरक्षा घेराभित्र रहेको कार्यालय परिसरमा नै ४८ वर्षीया पराजुलीको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । पराजुलीको घर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २८, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्

युरो-२०२० का ७ खास विशेषता

कान्तिपुर संवाददाता

काठमाडौँ — धेरै आशंकाबीच युरो २०२० आइतबार राति टुंगेको छ । कोरोना भाइरस संक्रमण महामारीबीच आयोजना भएको यस प्रतियोगिताको सफलतालाई लिएर धेरै प्रश्न थिए, तर यो युरो संस्करण सफल साबित भएको छ ।

फाइल तस्बिर : एपी

यो प्रतियोगिताका केही खास खास विशेषता रहे । ती कुन–कुन हुन् त ? द डेली मेलले तयार पारेका धेरै विशेषतामध्ये प्रमुख ७ विशेषता यी हुन् । तय छ, यी सात विशेषताले धेरै हदसम्म प्रतियोगिताको बखान गर्छ ।

एरिक्सनलाई भएको हृदयाघात

डेनमार्कको पहिलो खेल यसपल्ट फिनल्यान्डविरुद्ध थियो, त्यो कोपनहेगममै । यो डेनमार्कको मात्र पहिलो खेल थिएन, प्रतियोगिताकै सुरुआती केही खेलमध्ये एक थियो । यही खेलको पहिलो हाफ सकिएको पनि थिएन, मैदानमा एउटा यस्तो घटना भयो, जसले सबैलाई स्तब्ध पारेको थियो । डेनमार्क फुटबलका सबैभन्दा ठूला स्टार क्रिस्टियन एरिक्सन मैदानमै ढले हृदयाघातका कारण । मैदानमै लामो समय उपचारपछि उनलाई अस्पताल लगियो । धन्न, उनलाई थप केही खराब भएन ।

रोनाल्डोलाई कोक मन पर्दैन

तस्बिर : रोयटर्स

युरो २०२० मा यसलाई बिर्सनलायक घटनाभन्दा हुन्छ, जतिबेला क्रिस्टियानो रोनाल्डोले प्रेस कन्फ्रेन्सका क्रममा कोकको बोतल हटाए । यो घटना पोर्चुगल र हंगेरीबीचको खेलपछि भएको थियो र रोनाल्डोले त्यस क्रममा भनेका थिए, कोकको सट्टा पानी खानु नै ठीक । कोक विश्व फुटबलमा लामो समयदेखि सबैभन्दा ठूलो प्रायोजकका रूपमा रहेको छ, त्यसैले धेरैका लागि रोनाल्डोको यो काम चित्त बुझेन । पछि कोकको सेयर मूल्यमा गिरावट आएको समाचार आए, तर त्यसमा सत्यता भने थिएन ।

मैदानमा फर्किए दर्शक

कोभिड–१९ का कारण युरो २०२० त्यसै पनि एक वर्ष पछाडि सुरु भएको थियो । तर प्रतियोगिता यही महामारीका कारण अझै धेरै हदसम्म प्रभावित रह्यो । युरोपेली फुटबल महासंघले कम्तीमा २५ प्रतिशत दर्शकले प्रवेश पाउनुपर्ने बताएको थियो । त्यसै कारण डब्लिनमा खेल भएनन्, स्पेनको बिल्बाओमा हुनुपर्ने खेल सेभियामा भयो । यही युरो २०२० का क्रममा दर्शकले भने रंगशालामा प्रवेश पाए । यो प्रतियोगिताको सबैभन्दा सुखद पक्षमध्ये एक थियो ।

तस्बिर : रोयटर्स

‘भार’ प्रयोग हुनुपर्छ

युरो २०२० मा कुनै प्रविधिले मज्जासँग काम गरेको छ भने त्यो हो भार । अर्थात भिडियो एसिस्टेन्ट रेफ्री । इंग्लिस प्रिमियर लिगमा त सबैले भारको अत्यधिक प्रयोग भएको देख्न पर्छ, यसपल्टको युरोमा पनि उत्तिकै प्रयोग भएको देखियो । त्यतिमात्र होइन, यसपल्टको युरोमा रेफ्रीको निर्णयको स्तर पनि निकै माथिल्लो दर्जाको रह्यो । रेफ्रीका यी निर्णय अधिकांश समय सटिक रहनु पछाडिको प्रमुख कारण अरू केही होइन, भार नै प्रमुख रह्यो ।

इंग्ल्यान्डलाई प्राप्त फाइदा

यसपल्टको युरोको सबैभन्दा ठूलो विशेषता हो विभिन्न देशका सहरमा हुनु । यो एक देशका विभिन्न सहरमा भएको प्रतियोगिता रहेन । यो त धेरै देशका धेरै सहरमा आयोजना भएको प्रतियोगिता रह्यो । यसले केही देशका लागि निकै कठिन स्थिति रह्यो, तर एक टिमका लागि यो खुबै फाइदाको तथ्य रह्यो । यो टिम अन्य कोही होइन, इंग्ल्यान्ड रह्यो । उसले जति खेल खेलेको छ, एकलाई छाडेर सबै आफ्नै घरेलु मैदानमा खेलेको छ । त्यो भनेको वेम्बलीमा हो । इंग्ल्यान्ड फाइनलसम्म पुग्नुमा यो कारणले राम्रै भूमिका खेलेको छ ।

तस्बिर : रोयटर्स

टिमको हजारौं माइलको यात्रा

सबै टिम इंग्ल्यान्ड जत्तिको भाग्यमानी रहेन । केही टिम वास्तवमै अभाग्यशाली रहे । जस्तो, स्विट्जरल्यान्ड । स्विस टिमले १२ हजार माइलको दूरी यात्रामै तय गरेको थियो । बाकुमा दुईपल्ट पुगेको स्विस टिम रोम, बुखारेस्ट र सेन्ट पिटर्सबर्ग पनि पुगेको थियो । यस्तै वेल्सले अजरबैजानमा खेल्न मात्रै ५ हजार माइलको दूरी पार गरेको थियो । अब ठूला प्रतियोगिता एकै देशमा मात्र हुने छैन, अहिलेको युरो जस्तै धेरे देशका धेरै देशमा हुनसक्छ ।

ठूला टिमको नमिठो हार

युरो २०२० केही स्तब्धपूर्ण नतिजाबाट मात्र अछुतो रहेन । यसमा सबैभन्दा अगाडि रह्यो, विश्व च्याम्पियन फ्रान्स । उसलाई स्विट्जरल्यान्डले मज्जाले हराएको थियो । फ्रान्स ग्रुप अफ डेथमा थियो ।

तस्बिर : रोयटर्स

यसका अन्य टिम थिए जर्मनी, पोर्चुगल र हंगेरी । सबैको विश्वासअनुसार फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिम नकआउट चरण पुगेका थिए । तर फ्रान्स जुन चरणमा पराजित रह्यो, जर्मनी र पोर्चुगल पनि त्यही चरणमा ढलेका थिए ।

प्रकाशित : असार २८, २०७८ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×