बिमा कार्डका बिरामीलाई सास्ती

ज्येष्ठ नागरिकलाई उपचारका लागि टोकन लिन घण्टौं कुर्नुपर्ने बाध्यता
विनोद भण्डारी

विराटनगर — विराटनगर–४ की ७९ वर्षीया कोपिला कटुवाल कान दुख्ने समस्या भएपछि उपचारका लागि स्वास्थ्य बिमा कार्ड बोकेर आइतबार बिहान ८ बजे कोसी अस्पताल पुगिन् । टोकन र पुर्जीका लागि लाममा उभिइन् । सवा ११ बजेसम्म लाम बसेपछि उनले अस्पतालको ३०० नम्बर टोकन र पुर्जी हात पारिन् ।

बिमा कार्डका बिरामीलाई सास्ती

उनले स्वास्थ्य बिमा कार्डका आधारमा उपचार गर्न अस्पतालको टोकन लिन र पुर्जी काट्नै मात्र सवा तीन घण्टा लाममा बस्नुपर्‍यो । त्यसपछि उनी डाक्टरसमक्ष पुगिन् । त्यहाँ पनि भीड देखेपछि कटुवाल दिक्दार भइन् । छोरा रामकुमारलाई भन्दै थिइन्, ‘यस्तो सकस भोग्दै बिमा कार्डका आधारमा उपचार नगरौं, बरु निजी क्लिनिक जाऊँ ।’

ढाडको समस्या लिएर कोसी अस्पतालमै उपचारका लागि पुगेका कटहरीका नरेश राय पनि टोकन लिन र पुर्जी काट्न तीन घण्टा लाइनमा बस्नुपरेपछि हैरान भए । स्वास्थ्य बिमा कार्डमा उपचार गराउन आइतबार विराटनगरको कोसी अस्पताल आइपुगेका सयौं बिरामीले त्यस्तै सकस भोग्नुपरेको देखियो ।

सरकारले एक परिवारका ५ जना बराबर ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराए वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार र औषधि निःशुल्क दिँदै आएको छ । त्यो सुविधा लिन बिमितले पहिला सरकारी अस्पताल पुग्नैपर्ने बाध्यकारी नियम भोग्नुपरेको छ । सुरुवाती सरकारी अस्पतालले अन्यत्र रेफर गरेमात्र बिरामीले निजी अस्पतालमा बिमा कार्डका आधारमा उपचार र औषधि पाउने प्रावधान छ ।

‘सरकारी अस्पतालमा सास्ती नभोगी उपचार पाइँदैन । फेरि त्यो अस्पतालले अन्यत्र रेफर पनि दिँदैन’ छातीको उपचार गर्न चार दिनसम्म लगातार धाएको गुनासो गर्ने ध्रुव घिमिरेले भने, ‘डाक्टरसँग सुरुकै दिनमा अन्यत्र उपचार गराउन रेफर मागें तर मानेनन् ।’ रेफर नदिएपछि डाक्टरकै सल्लाहअनुसार छातीको उपचार गराउन धाएको चार दिन बितेको उनले बताए ।

बिमाअनुसार उपचार गर्न सरकारी अस्पतालमा सुरुमा टोकन लिन लाइनमा बस्नुपर्छ । घण्टौंसम्म लाइनमा बसेपछि टोकन पाइन्छ । त्यसपछि पुर्जी काट्न फेरि घण्टौं लाइनमा बस्नुपर्छ । स्वास्थ्य बिमा कार्डका आधारमा उपचार गराउन आउने बिरामीले सास्ती भोग्नुपरेको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले स्विकारे । ‘स्वास्थ्य बिमा कार्डका आधारमा उपचार गर्न एक ठाउँमा मात्र इन्ट्री गरेपछि हुने प्रावधान लागू गर्न माग गरेका छौं,’ दासले भने, ‘ठाउँ–ठाउँमा इन्ट्री गराउनुपर्ने हालको प्रावधानले बिमितहरूले सास्ती भोग्नुपरेको हो ।’

कोसी अस्पतालमा सामान्य अवस्थामा दैनिक हजारभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । ‘त्यसमध्ये आधा स्वास्थ्य बिमा कार्डवाला हुन्छन्,’ डा. दासले भने, ‘केही सास्ती भोग्नुपरे पनि उनीहरू सबैको स्वास्थ्य उपचार भइरहेको छ ।’

बिरामीलाई अन्यत्र रेफर नगर्न माथिल्लो निकायको निर्देशन रहेको दासले बताए । उनका अनुसार कोसी अस्पतालले मुटु, एमआरआई र न्युरोसम्बन्धीका स्वास्थ्य बिमाका बिरामीलाई मात्र अन्यत्र रेफर गर्दै आएको छ । स्वास्थ्य बिमा गर्ने जो कोहीले उपचारका लागि पहिला सरकारी अस्पताल नै पुग्नुपर्ने प्रावधान छ । ती सरकारी अस्पतालले रेफर दिएमात्र अन्य निजी अस्पतालमा बिरामीले उपचार पाउँछन् । यहाँको नोबेल शिक्षण अस्पतालमा अहिले पनि दैनिक सरदर अढाई सय जना स्वास्थ्य बिमा भएका बिरामी आउने गरेको र उनीहरूलाई उक्त अस्पतालमा उपचार गर्न नमिल्ने भन्दै सबैलाई उपचारका लागि कोसी अस्पताल जान भन्ने गरेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

उनका अनुसार अहिले दैनिक सरदर ३० जना रेफर भएका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित : असार २८, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?