कोरोना संक्रमण र मृत्युदर अझै चिन्ताजनक

यस्तै खुकुलो अवस्था भइरहे स्थिति भयावह हुन सक्ने 
जितेन्द्र साह

विराटनगर — प्रदेश १ मा कोरोना संक्रमण दरको अवस्था अझै चिन्ताजनक अवस्थामा देखिएको छ । दैनिक संक्रमण दर औसत ३५ प्रतिशत र मृत्यु दर १५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण र मृत्युदर अझै चिन्ताजनक

‘संक्रमण दर स्थिर रहेकाले अहिले तत्काल केही भनिहाल्ने अवस्था छैन,’ मन्त्रालयको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालयका संयोजक डा. रवीन्द्र निरौलाले भने । उनका अनुसार निषेधाज्ञामा खुकुलोसँगै चहलपहल बढेको हुनाले चिन्ता बढाएको छ ।

अहिले पनि जनरल बेड, भेन्टिलेटर र आइसोलेसनमा उल्लेख्य संख्यामा संक्रमित छन् । प्रदेशमा शनिबारसम्म जनरल बेड, आईसीयू, भेन्टिलेटर र आइसोलेसन केन्द्रहरूमा गरी ७ सय ९१ जना भर्ना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशभर शनिबारसम्म ४ हजार ७ सय ९ जना होम आइसोलेसनमा छन् । ‘विचाराधीन अवस्थामै छौं, विश्लेषण गरिरहेका छौं,’ डा. निरौलाले भने । मन्त्रालयका अनुसार शनिबारसम्म प्रदेशमा २ हजार ९ सय ५२ पुरुष र २ हजार ५ सय १५ महिला गरी ५ हजार ४ सय ६७ सक्रिय संक्रमित छन् ।

गत वर्षको पहिलो चरणको कोरोना कहरदेखि यस वर्षको २६ असारसम्म यो प्रदेशभर ७५ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा ९ सय ५६ पुरुष र ४ सय ६ महिला गरी १ हजार ३ सय ६२ संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमण दर २० प्रतिशतमुनि नझर्नुले स्थिति भयावह रहेको संकेत गरेको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । ‘कुनै दिन थोरै बढ्नु र कुनै दिन थोरै घट्नुको कुनै अर्थ छैन,’ उनले भने । यादवका अनुसार दोस्रो चरणको सुरुवातको तुलनामा घटेको देखिए पनि स्थिति नियन्त्रणमा आइसकेको देखिन्न । कोभिड–१९ निर्मूल नै भइसके जस्तै बजार, सवारीसाधन र सरकारी कार्यालयमा अव्यवस्थित भीड देखिएकामा निर्देशक यादवले चिन्ता व्यक्त गरे ।

कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य एवं सुरक्षाका स्पष्ट मापदण्ड तोके पनि सर्वत्र अटेरी र लापरबाही देखिएको विराटनगर–१२ का समाजसेवी देवराज दाहालले बताए । ‘कोरोना नियन्त्रणमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्नुपर्ने नागरिक नै मापदण्डको पालना गरिरहेका छैनन्,’ उनले भने, ‘यही स्थिति रहेमा संक्रमण पुनः बढेर १० दिनमै सबथोक बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

कोरोना संक्रमणलाई नियन्त्रण गर्ने यो राम्रो मौका भएको डा. सरोज विशालले बताए । संक्रमणको उतारचढावका बारेमा अध्ययन गरिरहेका उनले सकारात्मक सोचको आवश्यकता भएको बताए ।‘अहिले पुनः बढे पनि सामान्य र लक्षण नभएका संक्रमित बढी छन्, अस्पताल भर्ना हुने खालका कम छन्,’ उनले भने, ‘यति बेला स्थानीय निकायसँगको संयोजनमा जनस्तरमा काम गर्न सक्यौं भने यसअघिको जस्तो खराब स्थितिको सामना गर्नु पर्दैन ।’

डा. विशालले संक्रमितबाट हेरचाह गर्नेमाहुँदै परिवारका अन्य सदस्यमा र समुदायमा फैलिने प्रवृत्ति देखिएको बताए । सरोकारवाला स्थानीय निकायका जनप्रतिनिधि एवं स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्दै जनचेतनाको पक्षमा जोड दिन सक्यौं भने यो भाइरस विस्तार हुन नपाउने उनले बताए ।

प्रकाशित : असार २८, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?