कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को बजेट पारित

देवनारायण साह

मोरङ — प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट शुक्रबार बहुमतले पारित भएको छ ।
मन्त्री आङ्बुहाङले प्रदेशसभामा प्रदेश विनियोजन विधेयक २०७८ पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्ताव सभामुख प्रदिपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत ध्वनि मतले बजेट पारित गरेको हो ।

प्रदेश १ को बजेट पारित

प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवनारायण गनगाईले विनियोजन विधेयक २०७८ को बजेट शीर्षक अन्तर्गतको अर्थ विविध शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी सदनमा प्रस्ताव गरेका थिए ।

यस्तै, विपक्षी दल माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य मोहन खड्काले विधेयकमा भएको बजेट शीर्षकअन्तर्गतको राजनेता पार्क निर्माण खर्च शीर्षकलाई घटाइ एक रुपैयाँ गरियोस् भन्ने खर्च कटौती प्रस्ताव गरेका थिए ।

सभामुख भण्डारीले आर्थिक मामिला तथा योजनामन्त्री आङ्बुहाङलाई खर्च कटौती सम्बन्धी प्रस्तावको बारेमा प्रष्ट पार्न समय दिएका थिए । मन्त्री आङ्बुहाङले बजेटमाथि घनिभूत छलफल भएकाले खर्च कटौतीको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए । त्यसपछि सभामुख भण्डारीले खर्च कटौती प्रस्ताव फिर्ता लिन दिएको समयमा गनगाई र खड्काले फिर्ता नलिएपछि सदनमा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत ध्वनि मतले अस्वीकृत भएको थियो ।

मन्त्री आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

प्रदेशसभामा विनियोजन विधेयक २०७८ अन्तर्गतका विषयगत छलफल पनि शुक्रबार नै सकिएको थियो । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विषयगत छलफल भएको थियो ।

प्रकाशित : असार २५, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?