१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हलेसीगढी क्षेत्रको वन विनासबारे छानबिन सुरु

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढी र त्यस क्षेत्रको वन विनासबारे छानबिन सुरु भएको छ । उक्त ठाउँमा खेल मैदान खन्न थालिएपछि त्यहाँ भएको वन विनासबारे छानबिन सुरु भएको हो ।

हलेसीगढी क्षेत्रको वन विनासबारे छानबिन सुरु

डिभिजन वन कार्यालय खोटाङका सहायक वन अधिकृत जगदीश रेग्मीका अनुसार वन विनासमा संलग्नमाथि छानबिन सुरु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाख १९ गते साबिक दुर्छिम गाविस–१ कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको वनमा खेल मैदान निर्माण गर्ने निर्णयपछि स्थानीय विक्रम राई अध्यक्ष रहेको खेल मैदान निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले असार १३ गतेदेखि एक्स्काभेटरले वन क्षेत्रमा खेल मैदान खन्न थालेको थियो । राईको अध्यक्षतामा बनेको निर्माण उपभोक्ता समितिले दस लाख रुपैयाँ नगरपालिकाबाट पेस्की लिएर वन क्षेत्र विनास थालेको थियो ।

गैरकानुनी रुपमा वन विनास गर्न थालिएपछि असार १४ गते अख्तियार आयोगमा उजुरी परेपछि वन क्षेत्र खन्न छाडिएको थियो । यद्यपि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारीको नेतृत्वमा दुर्छिम सालतेमाका भूपेन्द्र राई लगायतको पटकपटकको छलफलपछि फेरि वन विनास गरिएको स्थानीयको भनाइ छ । वन विनासपछि अहिले छानबिनको प्रक्रिया बढाइएको सहायक वन अधिकृत रेग्मीको भनाइ छ । वडाअध्यक्ष तिवारी र राईले भने आफू त्यसमा संलग्न नगरहेको बताएका छन् ।

उक्त वन क्षेत्रमा करिब एक सयभन्दा बढी रुख काटिएको, ऐतिहासिक हलेसीगढीको पुरातात्त्विक महत्त्व नष्ट भएको, पर्यटकीय आकर्षण हटाइएको, वन विनासले वातावरण प्रदूषण हुने गरी हलेसीगढी क्षेत्रको वन एक्स्काभेटरले भत्काइएकाले यसमा संलग्नलाई कारबाही हुनुपर्ने भन्दै अख्तियार आयोगमा उजुरी परेको थियो । उजुरीमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी र खेल मैदान निर्माण उपभोक्ता समिति अध्यक्ष विक्रम राईलाई विपक्षी बनाएर उजुरी दिइएको छ ।

स्थानीयले पटकपटक वन विनास रोक्न डिभिजन वन कार्यालय, जिल्ला प्रशासन लगायतमा अनुरोध गर्दा पनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ । गैरकानुनी रुपमा वन विनास हुने गरी खेल मैदान खन्न सहमतिका लागि प्रहरी पठाइएको दुर्छिम गाविसका पूर्वअध्यक्ष कुबेर राईले बताए । ‘प्रहरी प्रशासन नै लागेर वन विनास गरिएको छ,’ राईले भने, ‘यसमा संलग्नमाथि कारबाही हुनुपर्छ ।’

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले भने उक्त ठाउँमा नगरपालिकाले खेल मैदान बनाउनबाट पछि हटेको बताएका छन् । उक्त खेल मैदान खन्न स्थानीय विक्रम राईको अध्यक्षतामा बनेको निर्माण उपभोक्ता समितिले लिएको दस लाख रुपैयाँ पेस्की पनि फिर्ता लिइने नगरप्रमुख राईले बताए ।

प्रकाशित : असार २५, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?