धान बढी उत्पादन गर्न एसआरआई प्रविधि उपयोगी

विनोद भण्डारी

विराटनगर — प्रदेश १ कृषि मन्त्रालयले बर्खे सिजनमा तराईका सबै जिल्लामा बढी धान उत्पादन हुने एसआरआई प्रविधि (तीनपाते बेर्ना रोप्ने) लाई प्राथमिकता दिएको छ । यो प्रविधिले धान रोपाइँ गर्दा परम्परागत प्रविधिको भन्दा दोब्बर उब्जनी हुने जनाइएको छ । मोरङ, सुनसरी र झापामा दशकदेखि सीमित किसानले यो प्रविधि अपनाउँदै आएका छन् ।

धान बढी उत्पादन गर्न एसआरआई प्रविधि उपयोगी

परम्परागत प्रविधिबाट धान रोप्दा प्रतिहेक्टर बढीमा सरदर ४ टन धान उत्पादन हुँदै आएको राष्ट्रिय तथ्यांक छ । एसआरआई प्रविधिबाट रोपाइँ गर्दा मोरङमा प्रतिहेक्टर न्यूनतम ७ टनदेखि बढीमा १२ टनसम्म उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । मोरङमा ५ सयभन्दा बढी किसानले यो प्रविधिबाट धान रोप्दै आएका छन् ।

एसआरआई प्रविधि इन्डोनेसिया, कम्बोडिया, चीन, भारत, थाइल्यान्ड र भियतनामलगायतका मुलुकमा अपनाइएको विधि भएको कृषि मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीले बताए । उनले भने, ‘ती मुलुकमा यो प्रविधिबाट धान रोप्दा प्रतिहेक्टर सरदर १८ टनसम्म उत्पादन भएको छ ।’ भारतको बिहारमा यो प्रविधिबाट धान रोप्दा प्रतिहेक्टर २१ टनसम्म उत्पादन भएको छ । उनका अनुसार यो विश्व रेकर्ड हो । आठदेखि १२ दिनभित्रको तीनपाते बेर्ना रोप्नुपर्ने उक्त प्रविधिबाट धान रोपाइँ गर्दा प्रतिहेक्टर न्यूनतम ७ देखि १२ टनसम्म धान उत्पादन भएपछि मन्त्रालयले यो प्रविधिलाई राष्ट्रियकरण गर्न लागेको उप्रेतीको भनाइ छ ।

उप्रेतीले नेदरल्यान्ड्सको वगिनिगेन विश्वविद्यालयमा एसआरआई प्रविधिका बारेमा स्नातकोत्तर पनि गरेका छन् । यो प्रविधिबारे दशकअघि भारतको नयाँदिल्लीमा भएको दोस्रो विश्व धान सम्मेलनमा उप्रेतीले प्रविधिबारे प्रतिवेदन प्रस्तुत गर्दा उनलाई नेदरल्यान्ड्सको उक्त विश्वविद्यालयले प्रविधिका बारेमा थप अध्ययन गर्न छात्रवृत्ति दिएको थियो । यस प्रविधिबारे सुरुमा डर मान्दै कृषकलाई अपनाउन आग्रह गरे । धूलो माटोमा उमारिएको ८ देखि १२ दिनभित्रको तीन पातको बेर्ना करिब २५ सेन्टिमिटर फरकमा एउटा मात्र रोप्नुपर्छ ।

यसरी रोपिएको एउटा बेर्नाले कम्तीमा ८० वटासम्म बच्चा छाड्छ । परम्परागत रूपमा एउटा गाँजमा ४ देखि ५ वटा बेर्ना रोप्दा त्यो गाँजमा बढीमा १५ वटासम्म बच्चा छाड्ने उनको भनाइ छ । यो प्रविधिको आविष्कार मेडागास्कर भन्ने मुलुकमा सन् १९८३ मा गरिएको थियो । त्यहाँ प्रतिहेक्टर नौ टन धान उत्पादन भएपछि सन् १९९७ देखि इन्डोनेसिया, कम्बोडिया, चीन, भारत, थाइल्यान्ड र भियतनामलगायतले पनि यो प्रविधि अपनाएका हुन् ।

परम्परागत प्रविधिले धान रोपाइँ गर्दा एक बिघा जमिनमा ५०–६० केजी धानको बीउ लाग्छ भने एसआरआई प्रविधिबाट रोप्दा ५ केजी धानको बेर्नाले पुग्छ । रोप्न कम खर्च लाग्ने तर झार बढी आउने हुनाले गोडाइमा खर्च बढी लागे पनि उत्पादन लागत परम्परागत प्रविधिको तुलनामा अत्यन्तै न्यून लाग्ने हुन्छ । उप्रेतीका अनुसार परम्परागत रूपमा खेती गर्दा एक केजी धान उत्पादन गर्न ७ रुपैयाँदेखि १० रुपैयाँसम्म खर्च लाग्छ तर एसआरआई प्रविधिबाट खेती गर्दा एक केजी उत्पादनमा एक रुपैयाँ ९१ पैसादेखि दुई रुपैयाँ ७४ पैसासम्म लाग्ने गरेको पाइएको छ ।

प्रकाशित : असार २३, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?