वन क्षेत्रमा फेरि खन्न थालियो खेल मैदान
खोटाङ — ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी वनक्षेत्रमा फेरि मंगलबारदेखि खेल मैदान खन्न थालिएको छ । हलेसी गढी क्षेत्र र त्यहाँस्थित सरकारी वन गैरकानुनी रुपमा एक्साभेटर लगाएर खनिएको भन्दै असार १८ गते अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द गरिएको थियो ।
हलेसी तुवाचुङ नगरपालिकाका बैशाख १९ गतेको बैठकले उक्त क्षेत्रमा खेल मैदान बनाउने निर्णय गरेको थियो । त्यसै आधारमा हलेसी तुवाचुङ नगरपालिका–५ का विक्रम राई अध्यक्ष रहेको खेल मैदान निर्माण उपभोक्ता समिति गठन गरी आइतबारदेखि एक्साभेटरले भत्काउन थालिएको थियो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारीको नेतृत्वमा दुर्छिम तालतेमाका भूपेन्द्र राई लगायतको पटक–पटकको छलफलपछि अहिले स्थानीयलाई अगाडि लगाएर खन्न थालिएको हो ।
वडाअध्यक्ष तिवारीले भने आफू त्यसमा संलग्न नगरहेको बताए । भूपेन्द्र राईले भने अख्तियारमा उजुरीपछि नगरपालिकाको बजेट रोक्का भएको र स्थानीय आफ्नै खर्चमा खेल मैदान खनिरहेको बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–५ साविक दुर्छिम गाविस–१ कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको सरकारी वनमा भएको विनास बारे जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालय खोटाङमा पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरिएको स्थानीय तथा साविक दुर्छिम गाविसका पूर्व अध्यक्ष कुबेर राईले बताए ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने समुदाय नै लागेर खेल मैदान खन्न थालिएकाले आफूले केही गर्न नसक्ने बताए ।
स्थानीयले करिब एक सयभन्दा बढी रुख काटिएको, ऐतिहासिक हलेसीगढीको पुरातात्विक महत्व हराउने, पर्यटकीय आकर्षणमा हराउने, वन विनाशले वातावरण प्रदूषण हुने गरी हलेसीगढी क्षेत्रको सरकारी वन एक्साभेटरले भत्काउन थालिएकाले यसमा संलग्नलाई कारबाही हुनु पर्ने भन्दै अख्तियार आयोगमा गत असार १४ गते उजुरी दिएका थिए ।
उजुरीमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी र खेल मैदान निर्माण उपभोक्ता समिति अध्यक्ष विक्रम राईलाई विपक्षी बनाएर उजुरी दिइएको थियो ।
हिन्दू, बौद्ध र किरातको त्रिधार्मिकस्थल अन्तर्गत किरात धर्मालम्बीहरुको क्षेत्र भएकाले यसको संरक्षण गर्नु पर्ने स्थानीयको माग छ । यसक्षेत्रमा साकेलाथान, तीनचुला र किरात ज्ञानकेन्द्र बनाइनु पर्ने उनीहरुको भनाइ छ ।
प्रकाशित : असार २२, २०७८ १८:२८