बराहक्षेत्रबाट १५० केजी गाँजा र नक्कली पेस्तोलसहित २ पक्राउ

सुनसरी — सुनसरीको बराहक्षेत्रबाट प्रहरीले मंगलबार एकथान नक्कली पेस्तोल र १ सय ५० केजी गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्रबाट १५० केजी गाँजा र नक्कली पेस्तोलसहित २ पक्राउ

पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे बस्ने २२ वर्षीय भुपेन राय र सुनसरीको रामधुनी नगरपालिका– ७ का बस्ने २५ वर्षीय अमिर लिम्बू रहेका छन् । प्रहरीले शुक्रबारेबाट उनीहरुलाई गाँजा, मोबाइल र नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बराहक्षेत्रको चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकल रोकेर चेक गर्दा भेनबाट १ सय ५० केजी गाँजा र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल बरामद गरेको थियो ।

प्रहरीलाई देख्‍ना साथ तत्काल फरार रहेका अन्य २ जनाको खोजी कार्य भइरहेको छ । गाँजा तस्करहरुले धनकुटाको आहाले, सहिदभूमि गाउँपालिका लगायत क्षेत्रबाट गाँजा तस्कर गरी भारतीय बजारमा बेच्‍ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?