एउटै गाईबाट २८ लाख आम्दानी !

विप्लव भट्टराई

इलाम — एउटै गाईबाट २८ लाखभन्दा धेरै आम्दानी भएको सुन्दा अपत्यारिलो लाग्ला । तर इलामको सूर्योदय नगरपालिकास्थित आठघरेका पुष्प अधिकारीले २४ वर्षदेखि एउटा गाई निरन्तर पालेका छन् । त्यो गाईबाट उनले दूध मात्र २२ लाख रुपैयाँको बिक्री गरेका छन् । अनि बाच्छाबाच्छीबाट ६ लाख रुपैयाँ जति हात परेको उनले जानकारी दिए ।

एउटै गाईबाट २८ लाख आम्दानी !

सुरुदेखि दूध बिक्री गरेको हिसाब देखाउँदै उनले घरमा प्रयोग गरेको दूधलाई भने मूल्यमा रुपान्तरण नगरेको प्रतिक्रिया दिए । पूर्वी फिक्कलबाट ३ किलोमिटर कच्ची सडक हिँडेपछि पुगिने आठघरे क्षेत्र उन्नत गाईपालनका लागि कहलिएको छ । २०५४ सालमा नजिकैको माघेगाउँबाट ल्याएको यो गाई ११ बेत ब्याइसकेको छ । उनले अढाई वर्षको कोरली गाई २२ हजारमा खरिद गरेका थिए । यो मूल्य त्यतिबेलाको अति धेरै हो ।

‘वर्षौंसम्म यो गाईले दैनिक २९ लिटर दूध दियो,’ उनले भने, ‘अहिले निकै पाको भएको छ । तर पनि दैनिक ११ लिटर दूध दिन्छ ।’ २ लाख रुपैयाँ मूल्यमा खरिद गर्ने आए पनि बिक्री नगरेको उनको भनाइ छ । ‘यो गाई घरको सदस्यजस्तै हो,’ उनले थपे, ‘यसलाई बाँचुन्जेल पाल्ने योजनामा छौं ।’ सामान्यतः २/३ बेत ब्याएपछि गाई बिक्री गर्ने चलन छ । तर सुरुदेखि नै गाईको गुनिलो स्वभाव, दूध र बाच्छाबाच्छी उत्पादनका लागि अब्बल भएपछि बिक्री नगरेको उनी बताउँछन् । अहिले यो गाईको उमेर २५ वर्ष नाघेको छ । ७ वटा बाच्छी र ११ वटा बाच्छा पाएको गाईलाई एआई प्रविधिमार्फत गर्भधारण गराउने गरिएको छ । अझै पनि केही बेत ब्याउन सक्ने अधिकारीको दाबी छ ।

आठघरेसहित जिल्लाको माघे, सुन्तले, बागबिरेलगायतका ठाउँ उन्नत जातका गाईपालनका लागि अग्रणी छन् । यस क्षेत्रबाट २ लाख रुपैयाँसम्ममा गाई बिक्री हुने गरेका छन् । यहाँबाट धनकुटा, पाँचथर, तेह्रथुमलगायत जिल्लामा गाई खरिद गरेर लगिने गरेको छ ।

प्रकाशित : असार २२, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?