कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुलसँगै बग्यो स्थानीयको सपना

डिल्लीराम खतिवडा

उदयपुर — नथुनी चौधरी शनिबार त्रियुगा नदी किनारमा मलिन अनुहारमा भेटिए । लाग्थ्यो– चौदण्डीगढी नगरपालिका–५ बेल्हाका करिब ८० वर्षे उनले कुनै अमूल्य वस्तु गुमाएका छन् । 

पुलसँगै बग्यो स्थानीयको सपना

नदी किनारमा अरू पनि थुप्रै सर्वसाधारण जम्मा भएका थिए । बाढीले सताएका उनीहरू सबै जना आआफ्ना नाफा–नोक्सान हिसाब गर्दै थिए । त्यससँग जोडिएका आआफ्ना सपनाहरू सुनाउँदै थिए ।

‘१२ वर्षमा बल्ल मेरो सपना पूरा हुँदै थियो तर त्यो पनि बाढीले बगाइदियो,’ चौधरीले सुनाए । चौधरीको सपना खासै ठूलो थिएन । बस्, उनले यत्ति चाहेका थिए– त्रियुगा नदीको पक्की पुल तरेर आफ्नो गाउँ वारपार गर्न पाइयोस् ।

अविरल वर्षासँगै आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको त्रियुगा नदिको पक्की पुल शनिबार बगाइदियो । स्पान ढल्किएपछि निर्माण भइसकेको पुल कामै नलाग्ने बनेको चौधरीले बताए । ‘एक त पुल निर्माण हुनै १२ वर्ष लाग्यो,’ उनले भने, ‘त्यसमा पनि बाढीले भत्काइदियो ।’

विगतमा अहिलेभन्दा ठूलो बाढी आउँदा थामेको पुलको संरचना यसरी भत्कनुमा प्राविधिक गडबडी कारण हुन सक्ने चौदण्डीगढी–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘बाढीले सर्वसाधारणको सपना पुलसँगै ढाल्दियो,’ उनले भने ।

पुल निर्माणको अन्तिम चरणमा रहेको बेला फेरि भत्किएको चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईले बताए । ‘पुलको दक्षिण तर्पको भागमा दुई स्पान क्षति हुँदा कामै नलाग्ने भयो,’ उनले भने, ‘हस्तान्तरणको तयारी हुँदै थियो, यसै महिनाको अन्तिमसम्म गाडी तरेर वारपार गर्ने योजना थियो ।’

चौदण्डीगढीको केन्द्र बेल्टार बजारलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने गरी उक्त पक्की पुल १२ वर्षअघि निर्माण थालिएको थियो । पुलको दक्षिण (सिवाई)का दुई स्पानमा क्षति पुगेको गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रमुख गोविन्द खकुरेलले बताए । ‘एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ,’ उनले भने ।

पुलमा २५/ २५ मिटरका १२ स्पान रहेकामा दुई स्पान र एउटा पिलर धस्सिएको हो । पुलको लम्बाइ ३ सय ७ मिटर र चौडाइ ५ मिटर छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गर्दै आएको छ । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौंकै स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको हो । ९ करोड ७६ लाख रुपैयाँमा सुरु गरिएको पुलको लागत पुन:मूल्यांकन गर्दा अहिले ११ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : असार २०, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?