१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाढीले भत्कियो त्रियुगा पुल

डिल्लीराम खतिवडा

उदयपुर — दुई दिनयता लगातारको वर्षासँगै आएको बाढीले शनिबार दिउँसो उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाईस्थित त्रियुगा नदीको पक्की पुल भत्किएको छ । बाढीले पुल भत्कँदा एउटा स्पान नदीमा झरेको छ र अर्को ढल्किएको छ ।

बाढीले भत्कियो त्रियुगा पुल

निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति हुँदा समस्या भएको छ । सातायता मात्र सर्वसाधरणलाई पैदलयात्रा अनुमति दिइएको पुल भत्किँदा एक स्थानीय घाइते भएका छन् । चौदण्डीगढी नगरपालिका–५ सिवाईका ४८ वर्षीय अख्तर मियाँ घाइते भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । उनको अनुहार र खुट्टामा चोट लागेको छ । मियाँ पैदलयात्रा गरेर बेल्टारबाट घर जाँदै गर्दा पुलको स्लाब नदीमा झरेको थियो । स्थानीयले उनको तत्कालै उद्धार गरेका हुन् ।

चौदण्डीगढीको केन्द्र बेल्टार बजारलाई पूर्वपश्चिम महेन्द्र राजर्मागसँग जोडने गरी बनाउन लागिएको उक्त पुल निर्माणको अन्तिम चरणमा थियो । १२ वर्षयता पुल निर्माण भइरहेको छ । पुलको दक्षिण( सिवाई)का दुई स्पानमा क्षति पुगेको गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रमुख गोविन्द खकुरेलले बताए । बाढीले क्षति पुर्‍याउँदा एउाटा स्पान नदीमा झरेको र अर्को ढल्किएको प्रमुख खकुरेलले बताए । खकुरेलका अनुसार पुल सञ्चालनको अन्तिम चरणमा पुगेको थियो ।


बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गर्दै आएको छ । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको हो । ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुल पुनर्मुल्यांकन (भिओ) गर्दा अहिले ११ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : असार १९, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?