१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पाख्रिबास नगरपालिकाका वडाध्यक्ष प्रहरीको सम्पर्कमा

धनकुटा — पाख्रिबास नगरपालिका–४ का वडाध्यक्ष सोभित निरौला प्रहरीको सम्पर्कमा आएका छन् । पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा मुख्य दोषी भएको जनाउँदै नगरपालिकाले अभद्र व्यवहारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिइएको थियो ।

पाख्रिबास नगरपालिकाका वडाध्यक्ष प्रहरीको सम्पर्कमा

पाख्रिबास नगरपालिकामा गत असार १० गते आयोजित नगरसभाका क्रममा बजेट सिलिङमा असन्तुष्ट व्यक्तिहरुले कार्यक्रमस्थलमा विरोध र तोडफोड गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न १५ जनाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको आरोपमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए । केही दिन सम्पर्क बाहिर रहेका वडाध्यक्ष निरौलाले बिहीबार प्रहरीमा आफै गिरफ्तारी दिएका हुन् ।

कार्यालयको झ्यालका सीसा फुटेको, ५५ वटा कुर्सी तोडफोड गरी पाँच लाख बढीको क्षति भएको नगरप्रमुख बिर्खबहादुर राईले बताए । नगरपालिकाका सबै पदाधिकारी एमालेका हुन् । वडाध्यक्ष निरौला मात्र माधव नेपाल समूहमा रहेका छन् । फरक समूहमा रहेकोले आफूलाई बजेटमा विभेद गरेकोले विरोध गर्दा फसाइएको उनको प्रतिक्रिया छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा छानबिनको लागि अघि सारिने जनाएको छ ।

घटनालाई लिएर एमाले, कांग्रेसलगायत विभिन्न गठबन्धनबीच आरोप–प्रत्यारोप चुलिएको छ । नेकपा एमाले पक्षका मेयर बिर्खबहादुर राईले प्रहरी प्रशासनलाई दबाब दिएर विपक्षी गठबन्धनका नेता कार्यकर्तालाई झूटा मुद्दा दर्ता गरेको गठबन्धन पक्षको आरोप छ । कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले (माधव नेपाल समूह) का १५ जनाविरुद्ध अभद्र व्यवहारमा प्रहरीमा उजुरी परेको जनाइएको छ । झूटा मुद्दा खारेजीको माग गर्दै विरोधमा उत्रिएको कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।

घटनामा शान्ति सुरक्षा कायम गर्न नसकेको जनाउँदै प्रजिअ दाहालको आकस्मिक सरुवा गरिएको छ । उनी गृह मन्त्रालयमा तानिएका छन् । घटनामा प्रहरी पठाउन नगरप्रमुखले प्रजिअलाई भनेपनि अटेर गरेको भन्दै दुवैबीच भनाभन भएको जनाइएको छ ।

प्रकाशित : असार १८, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?