३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पढ्छन् तर लोक सेवा भिड्न पाउँदैनन्

विप्लव भट्टराई

इलाम — बिहीबार दिउँसो २ बजे इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस पुग्दा विद्यार्थीहरू नाराबाजीमा व्यस्त थिए । कोभिड–१९ को सन्त्रास कायमै रहेका बेला पनि मास्कधारी विद्यार्थी जम्मा भएर जोडतोडले नाराबाजी गर्दै थिए । तीन दिनदेखि उही दैनिकीमा देखिएका विद्यार्थीहरू कुनै संघ/संगठनका माग लिएर आन्दोलनमा होमिएका भने थिएनन् ।

पढ्छन् तर लोक सेवा भिड्न पाउँदैनन्

लाखौं खर्चेर अध्ययन गरे पनि लोक सेवा भिड्न नपाउने र स्नातक गरेको विषयमा थप पढाइमा कठिनाइ भएको भन्दै इलाम क्याम्पसस्थित बीएससी इन हर्टिकल्चरका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

२०६९ सालमा नयाँ विषयका रूपमा सुरु भएको यो विषय पढ्न देशभरका विद्यार्थी मोहित भए । १ सय २० जना विद्यार्थीले यो कोर्स पूरा गरिसकेका छन् भने १ सय ८ जना अध्ययनरत छन् । यी सबै विद्यार्थी जस्तै कैलालीबाट आएका पाँचौं ब्याचका सुरेन्द्र विष्ट पासआउट मात्र हुने तर बागवानीबाहेक लोक सेवा दिन नपाउने र एग्रिकल्चर फरेस्ट युनिभर्सिटीमा मास्टरको इन्ट्रान्स लेख्न नपाउने समस्याले पिरोलिएपछि आन्दोलन गर्नुको विकल्प नभएको बताउँछन् ।

यहाँबाट उत्तीर्ण हुने ५ वटा विषयमध्ये बागवानीमा मात्र लोक सेवा दिने व्यवस्था रहेको छ । मापदण्ड पुगे पनि कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विज्ञानमा लोक सेवा सुनिश्चित भएको छैन । सुरुमा बीएससी हर्टिकल्चर एन्ड फ्लोरिकल्चर म्यानेज्मेन्टको नाममा पढाइ सुरु भएको थियो । पछि संशोधन गर्दै बीएससी इन हर्टिकल्चरमा रूपान्तरण गरिएको हो ।

यही सम्बन्धमा गएको पुस २६ गते कृषि मन्त्रालयलाई त्रिभुवन विश्व विद्यालयको तर्फबाट उपकुलपति धर्मकान्त बाँस्कोटाले ५ वटै विषयलाई लोक सेवामा मान्यता प्रदान गर्ने वातावरण मिलाउन कृषि मन्त्रालयलाई पत्राचार गरेका थिए । यो अवसर नदिँदा सयौं विद्यार्थीको भविष्य अन्योल हुने र विद्यार्थी र सरकारको लगानी नास हुने तर पढाइ सुरु भएको यति लामो समय बित्दा पनि लोक सेवा भिड्न नपाएको उनीहरूको गुनासो छ । ‘क्याम्पस शुल्कसहित १० लाख रुपैयाँभन्दा धेरै खर्चेर टाढाबाट पढ्न आइयो,’ विद्यार्थी महिमा गौतमले भनिन्, ‘तर लोक सेवा दिने वातावरण अहिलेसम्म नबन्दा निराश बनेका छौं ।’

त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गर्दा ’एमएससी एग्रिकल्चर’ भित्र जुनकुनै विषय छनोट गर्न पाए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मास्टर्स गर्न सबै प्रक्रिया पुगे पनि हर्टिकल्चरबाहेक अरू विषय रोज्न नपाइएको विद्यार्थीहरूको भनाइ छ । यही समस्यालाई लिएर विद्यार्थीहरू हेरेक वर्षजस्तो आन्दोलन गरिरहेका छन् । अब पनि माग पूरा नभए यसअघिका कुनै पनि परीक्षामा सहभागी नहुने विद्यार्थी एलिजा घिमिरे बताउँछिन् ।

कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा कृषि पढाइ हुन्छ । यीमध्ये हर्टिकल्चर पढाइ हुने इलाम एकमात्र क्याम्पस हो । लामो समयको मिहिनेत र लगानी खर्चेर अध्ययन गरेपछि पनि विषयकै कारण लोक सेवाबाहेक पनि जागिरमा भिड्न नपाएको अनुभव धेरै विद्यार्थी सुनाउँछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त यो क्याम्पस स्वायत्ततामा गएसँगै हर्टिकल्चरको पढाइ सुरु भएको हो ।

क्याम्पस प्रमुख दिलनाथ फूएल लामो समयदेखि यो समस्या देखिएको बताउँदै समाधानका लागि पहल जारी रहेको जानकारी दिए । ‘यही विषयलाई लिएर समाधानका लागि केही दिनमा सरोकारवाला सबै पक्ष राजधानी जाँदै छौं,’ उनले भने, ‘शैक्षिकस्तरदेखि अनुभव सबै राम्रो रहे पनि लोक सेवामा प्रतिस्पर्धा गर्न नपाउनु दुःख लाग्दो विषय हो ।’ यो विषयको पढाइ सुरु भएपछि ६ जना क्याम्पस प्रमुख आइसकेका छन् । यस्तै विषय पढाइ हुने अरू क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्ने व्यवस्था नभए पनि यहाँका विद्यार्थीले त्यो सुविधासमेत पाएको प्रमुख फूएलको भनाइ छ ।

राजपत्र अंकित तृतीय श्रेणी अर्थात् अधिकृत वा सोसरहको पदमा उनीहरूले भिड्न पाउनुपर्ने हो । समस्या समाधान गर्न क्याम्पस प्रशासनले राजनीतिक व्यक्तित्वदेखि विश्व विद्यालय, लोक सेवा आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सबै पक्षसँग पहल भने निरन्तर बढाएको जनाएको छ ।

प्रकाशित : असार १८, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?