१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संक्रमण दर घटे पनि छैन सन्तोषजनक

अर्जुन राजवंशी

बिर्तामोड — झापामा कोरोना संक्रमितको संख्यामा अझै कमी आउन सकेको छैन । जिल्लामा सात सातादेखि निषेधाज्ञा जारी छ । तर, संक्रमितको संख्यामा कमी आउन नसक्दा जिल्लामा सरदर दैनिक ३ जनाले कोरोनाबाट ज्यान गुमाइरहेका छन् । 

संक्रमण दर घटे पनि छैन सन्तोषजनक

स्वास्थ्य कार्यालयका अनुसार वैशाखयता असार १३ सम्म कोरोनाको दोस्रो लहरबाट मात्र २ सय १५ जनाको मृत्यु भएको छ । जसमा १ सय ३८ पुरुष तथा ७७ जना महिलाको ज्यान गएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जनाए ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गरी जिल्लामा ३ सय ४४ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म १३ हजार ५ सय ५७ जना संक्रमित भएका छन् । जसमध्ये दोस्रो लहरमा मात्र १० हजार ९ सय ५६ जना संक्रमित भएका हुन् । जिल्लामा सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘संक्रमण दर बिस्तारै घट्ने क्रममा त छ । तर, सन्तोषजनक भने छैन,’ चम्लागार्इंले भने, ‘अझै पनि ३२ प्रतिशतमा संक्रमण देखिएको अवस्था छ ।’ उनले संक्रमण फैलिने क्रम अझै नरोकिएकाले नियन्त्रणमा कठिनाइ भएको बताए । ‘स्वास्थ्य मापदण्ड पालना गरेनौं, संक्रमण हुनबाट जोगिएनौं भने संक्रमित हुनेको अवस्था अझै बढेर नजाला भन्न सकिँदैन,’ उनले भने । बजारमा भीडभाड पुनः बढेकाले संक्रमणको जोखिम पनि बढेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बजारको भीडभाड घटाउन स्थानीय तह र उद्योग वाणिज्य संघहरूलाई कडाइका साथ अनुगमन गर्न आग्रह गरेको बताए ।

कोरोना संक्रमितका लागि जिल्लामा स्थानीय तहसहित ८ सय ७४ बेडको आइसोलेसन, ५ सय बेडको होटल क्वारेन्टाइन, ८१ बेडको आईसीयू, १ सय २३ बेडको एचडीयू उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६६ हजार ६ सय ४६ जनाले कोरोनाको पहिलो तथा ८ हजार ३ सय ५६ जनाले कोरोनाको दोस्रो डोज खोप लगाएका छन् । जिल्लामा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल र कनकाई नगरपालिकास्थित कोटीहोममा एकका लागि एक अभियानले स्थापना गरेको पीसीआर ल्याबबाट कोरोना परीक्षण हुने गरेको छ ।

निषेधाज्ञा सातौं हप्तामा

जिल्लामा सातौंपटक निषेधाज्ञाको समय थप भएको छ । कोरोना संक्रमित हुनेको संख्या आशातीत रूपमा नघटेको भन्दै जिल्ला कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले जिल्लामा असार २१ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

डीसीसीएमसीले निषेधाज्ञा जारी राखे पनि जिल्लामा व्यापार, व्यवसाय तथा कार्यालय सञ्चालन गर्न भने खुकुलो पार्ने नीति अख्तियार गरेको छ । डीसीसीएमसीको बैठकले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुग्ध डेरी, पुस्तक, हार्डवेयर, इलेक्ट्रोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्ताकपडा, जुत्ता–चप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी/मोटरसाइकल सो–रुम, प्लास्टिक तथा मेसिनरी पसलहरू बिहान ६ देखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । गत हप्ता यी पसलहरूलाई मध्याह्न १२ बजेसम्म मात्र खोल्न दिइएको थियो ।

प्रशासनले होटल तथा रेस्टुरेन्टहरूलाई भने अझै बन्द राख्ने निर्णय गरेको छ । होटल तथा रेस्टुराँलाई टेक–अबे सेवा मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । मलखाद, बीउबिजन, कुखुराका चल्ला, दाना, पशुपन्छीका आहारलगायतका कृषिसम्बन्धी पसलहरू स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी बिहान ६ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने गरी खुकुलो गरिएको छ ।

प्रकाशित : असार १७, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?