२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हलेसीगढी मासेर खेल मैदान बनाउने निर्णयको विरोध

डम्बरसिं राई

खोटाङ — ऐतिहासिक हलेसीगढी मासेर खेल मैदान बनाउने निर्णयप्रति स्थानीयले विरोध जनाएका छन् । 

हलेसी तुवाचुङ नगरपालिकाले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटडाँडास्थित हलेसीगढी मासेर खेल मैदान बनाउने निर्णण गरेकोप्रति स्थानीयले विरोध जनाएका हुन् ।

नगरपालिकाको वैशाख १९ गतेको निर्णयले उक्त क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने निर्णय गरेको थियो । नगरप्रमुख इवन राईको अध्यक्षतामा बसेको बैठकले कित्ता नं १७ को ५४ रोपनी, १४ आना, एक पैसा, एक दाम क्षेत्रफल रहेको जग्गामा खेल मैदान बनाउने निर्णय गरेको हो । खेल मैदान बनाउँदा ऐतिहासिक हलेसीगढी ध्वस्त हुने, सरकारी तथा सामुदायिक वनसमेत नष्ट हुने भएकाले उक्त पुरातात्विक महत्वको ठाउँ संरक्षण गर्न अनुरोध गरिएको स्थानीयले बताए । यो चण्डीडाँडा रावापानी, बुर्खा, सल्लेनी सामुदायिक वन क्षेत्रसमेत भएकाले अन्यत्र नै खेल मैदान बनाउनु पर्ने स्थानीय इच्छाराम राईले बताए ।

डिभिजन वन कार्यालय खोटाङले पनि वन क्षेत्रमा खेल मैदान बनाउने निर्णयपछि त्यसलाई रोक्न गत जेठ ३० गते नै पत्राचार गरेको छ । पत्रलाई समेत बेवास्ता गर्दै खेल मैदान बनाउने प्रक्रिया बढाइएको स्थानीय तथा दुर्छिमका पूर्वगाविस अध्यक्ष कुबेरमणि राईले बताए । हिन्दू, बौद्ध र किरातको त्रिधार्मिकस्थलअन्तर्गत किरात धर्मालम्बीहरुको क्षेत्र भएकाले यसको संरक्षण गर्नु पर्ने अर्का राईले सुनाए । यसक्षेत्रमा साकेलाथान, तीनचुला र किरात ज्ञानकेन्द्र बनाइनु पर्ने स्थानीयको माग छ ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईले भने बजेट आइसकेकाले यसबाहेक अन्यत्र खेल मैदान बनाउने विकल्प नदेखिएको बताए । खेल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ३० लाख बजेटआइसकेको नगरप्रमुख राईले सुनाए । ‘यो निर्णयबाट पछि हट्न सकिँदैन’,नगरप्रमुख राईले भने ।

प्रकाशित : असार १२, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?