कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हेलचेक्य्राइँले अस्पतालबाटै संक्रमित

जितेन्द्र साह

विराटनगर — भौतिक दूरीको पालन नगर्दा विराटनगरस्थित कोसी अस्पतालभित्रै सेवाग्राही, स्वास्थ्यकर्मी एवं कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् । 

हेलचेक्य्राइँले अस्पतालबाटै संक्रमित

उच्च रक्तचाप र मधुमेहका रोगी बुबाका लागि उक्त अस्पतालको बिमा काउन्टरको फार्मेसीबाट औषधि लिएर फर्केको सातापछि विराटनगरका एक युवकमा लक्षण देखियो । परीक्षणमा संक्रमण पुष्टि भयो । ‘कोसी अस्पताल पुगेको थिएँ, भौतिक दूरीको रत्तिभर पालन नगरिएको लामै लाइन थियो,’ उनले भने, ‘चर्को घाममा कति बेर कुर्ने सोचेर घुइँचोमा उभिएर औषधि लिने क्रममा संक्रमित भएँ ।’

छालासम्बन्धी समस्याले अस्पताल पुगेकी विराटनगरकी एक गृहिणीको पीडा यस्तै छ । ‘छाला रोगका तीनमध्ये एक चिकित्सक मात्र उपस्थित थिए, जचाउन आउनेको चाप थियो,’ उनले भनिन्, ‘केही दिनपछि कोरोनाका सबै लक्षणसहित बिरामी परेँ, मबाटै तीन परिवारजनसमेत संक्रमित भए ।’

सिकिस्त छिमेकीलाई लिएर उक्त अस्पताल पुगेका स्थानीय अर्का एक व्यक्तिको भोगाइ चकित पार्ने खालको छ । ‘ओपीडीमा खटिएका चिकित्सकले पीसीआर गर्न भनेकाले छिमेकीलाई लिएर फिभर क्लिनिकमा गएँ,’ उनले भने, ‘रिपोर्टमा छिमेकी नेगेटिभ देखिए तर १० दिनपछि ज्वरोखोकीसहित मेरो जीउ दुख्न थाल्यो, परीक्षणमा पोजिटिभ देखिएँ ।’

‘निजी अस्पतालमा ड्युटीमा खटिएका सुरक्षागार्डले जमघट गर्न दिँदैनन्, इमर्जेन्सी र ओपीडीमा बिरामीबाहेकलाई जान दिँदैनन्,’ कोसी अस्पतालको पछिल्तिर घरमा बस्ने लक्ष्मी कार्कीले भनिन्, ‘कोसी अस्पतालको स्थिति हाटबजार जस्तो हुन्छ, बिमा काउन्टर बाहिरको हुल व्यवस्थापन गर्न सुरक्षा गार्ड खटाइएको देखिन्न ।’

गार्ड खटिएको ठाउँमा पनि स्थिति उस्तै छ । टोकन सिस्टम लागू हुँदासमेत सेवाग्राही पूर्जी काउन्टरमा भीड लगाउने गरेको सुरक्षागार्ड आइतबहादुर लिम्बूले बताए । यस्तो लापरबाहीले संक्रमणको जोखिम बढाउने उनले बताए ।

सेवामा खटिने क्रममा गत वर्ष १ सय ५० र यसपालि ६० गरी अस्पतालका २ सय १० कर्मचारी संक्रमित भइसकेको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमन लाल दासले बताए । ‘सक्दो सम्पूर्ण सावधानी अपनाइरहँदा पनि अस्पतालका कर्मचारी संक्रमित भइरहेका छन् भने असावधानी, लापरबाही तथा अटेरी गर्दा सेवाग्राही संक्रमित हुनु अस्वाभाविक होइन,’ उनले भने ।

एकैपटक ठूलो संख्यामा चिकित्सक एवं कर्मचारी संक्रमित भएर अस्पताल बन्द गर्ने अवस्था नआओस् भनेर अहिले आलोपालो ड्युटीमा खटाउने गरेको मेसु डा.दासले बताए । ‘स्थिति सुध्रिएर अवस्था सामान्य भएपछि सम्पूर्ण जनशक्ति परिचालन हुन्छ,’ उनले भने । उक्त अस्पतालमा स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीसहित ४ सय ६८ जना कार्यरत छन् ।

कोरोना संक्रमणको दोस्रो चरणको कहर कायमै रहे पनि उक्त अस्पतालमा दैनिक औसत ५ सय बढी सेवाग्राही पुग्छन् । तीमध्ये झन्डै २ सय ५० विमित हुन्छन् । अस्पतालका अनुसार संक्रमण दर घटेपछि सेवाग्राहीको संख्या बढ्न थालेको छ । सामान्य दिनमा अस्पतालमा १ हजारको हाराहारीमा सेवाग्राही आउँदा बिमा काउन्टरमा पुग्ने लगभग ५ सय ५० हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : असार १२, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?