असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान- प्रदेश १ - कान्तिपुर समाचार

असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान

करिब १ हजार ६ सय रोपनीमा लगाइएको बाली नोक्सान
विप्लव भट्टराई

इलाम — किबी उत्पादनका लागि अग्रणी इलामका किसान असिनाले बगान नष्ट भएपछि समस्यामा परेका छन् । गत वैशाखमा नै आएको असिनाका कारण किबीमा नराम्रो क्षति भएपछि कृषकले राहतको माग गरेका छन् । कृषि ज्ञान केन्द्रले क्षतिको यकिन विवरण निकालेर सम्बन्धित निकायमा राहतका लागि पठाए पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन । 

इलामको सन्दकपुर–३ तालगाउँका कृषक असिनाले असर गरेको किबीको बोट देखाउँदै। तस्बिर : विप्लव/कान्तिपुर

२० वर्षयताकै ठूलो असिनापानीले किबीसहित अलैंचीमा पनि क्षति पुर्‍याएको छ । जस्ताको छानो छेड्ने गरी आएको असिनाले लटरम्म फलेको किबी सखाप भएको छ । ‘किबीको बोट वयस्क भएर फूल र चिचिला मज्जा लागेका बेला असिनाले नराम्ररी प्रभाव पार्‍यो,’ सन्दकपुर ५ तालगाउँका कृषक गोपाल खतिवडाले भने, ‘यो पटकको उत्पादनमा ९० प्रतिशतभन्दा धेरै क्षति भएको छ भने आगामी ३ वर्षको उत्पादनमा यसको असर रहन्छ ।’

सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको व्यापक असर देखिएको छ । धेरै किबी उत्पादन हुने सन्दकपुरको तालगाउँ क्षेत्रका किसानले लाखौं मूल्य बराबरको उत्पादन नष्ट भएको बताए ।

तालगाउँ क्षेत्रमा मात्रै वार्षिक एक लाख किलोभन्दा धेरै किबी उत्पादन हुने गरेको छ । तर असिनाले सबै बगानमा क्षति पुर्‍याएकाले लगानी नै जोखिममा परेको किसानको भनाइ छ । पटक/पटक बाली विमाका लागि पहल गर्दा पनि गर्न नसक्दा बगान नष्ट हुँदा रित्तो हात बस्नुपर्ने अवस्था आएको अगुवा कृषक तारामणि खतिवडाले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र इलामले असिनाको क्षतिबारे तथ्यांक संकलन गरेको छ । जिल्लाका करिब एक हजार ६ सय रोपनी क्षेत्रमा लगाइएको किबी बालीमा क्षति भएको र सोही अनुरूप राहतका लागि केन्द्रमा प्रस्ताव गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । असिनाले ६ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान छ । २०६४ सालमा इलाम किबी खेती सुरु भएर कृषक व्यावसायिक रूपमा लागेका हुन् ।

पछिल्लो सयक कृषकले गुणस्तरीय उत्पादनमा जोड दिइरहे तापनि प्राकृतिक प्रकोप, दक्ष प्राविधिकको अभाव जस्ता समस्या खेप्नु परेको छ । यहाँका कृषकले व्यावसायिक रूपमा बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

प्रकाशित : असार १२, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

तरकारीलाई बजार पाउन मुस्किल

सल्यानमा झन्डै ७ हजार परिवार व्यावसायिक तरकारी खेतीमा निर्भर
विप्लव महर्जन

सल्यान — कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले झन्डै दुई महिनादेखि निषेधाज्ञा जारी गरेपछि किसानले उत्पादन गरेको तरकारी घर र बारीमा थन्किएको छ । निषेधाज्ञाका कारण सवारीसाधन नचल्दा र व्यापारिक केन्द्रहरू बन्द हुँदा तरकारीले बजार नपाएको हो । सल्यानमा असार १७ गतेसम्मका लागि निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमणका कारण बाहिरका खरिदकर्ता नआउँदा पनि तरकारी बारीमै कुहिन थालेको हो । तरकारी बिक्री नहुँदा किसानलाई जीविकोपार्जनमा समस्या परेको छ । व्यावसायिक तरकारी उत्पादन गरेका किसानलाई निषेधाज्ञाले ठूलो मार परेको बाग्चौर नगरपालिका–७ कोटबाराका किसान मदन बुढाले बताए ।

उनले १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेका छन् । बिक्री हुने अवस्थाको फर्सी, टमाटर, काँक्रोलगायत तरकारी कुहिएर खेर जान थालेको उनले गुनासो गरे । ‘केही तरकारी काटेर गाईबस्तुलाई खुवाउँदै आएको छ्,ु’ उनले भने, ‘स्थानीय बजार बन्द छन्, बाहिरबाट खरिदकर्ता पनि आउँदैनन् ।’ उनले उत्पादन गरेको तरकारी जिल्लाका विभिन्न व्यापारिक केन्द्रका साथै दाङ र नेपालगन्जसम्म पुग्ने गरेको छ ।

लकडाउनअघिसम्म जिल्लाबाहिरका व्यापारी तरकारी खरिद गर्न उनकै बारीमा आउने गरेका थिए । तरकारी व्यवसायबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका उनले यो वर्ष आम्दानी घटेको बताए ।

कोरोना महामारीले बारीमा उत्पादन भएको काँक्रो, सिमी, धनिया, बोडी, टमाटरलगायत तरकारी कुहिँदै गएको बरलाका अर्का किसान रामबहादुर ओलीले बताए । उनले झन्डै ५ रोपनी जग्गामा तरकारी लगाएका छन् । ‘बिक्री नभएको तरकारी कुहिएरै जान थालेको छ,’ उनले भने, ‘लकडाउनअघि दैनिक ५० किलोसम्म तरकारी बजार पठाउँथे, अहिले बिक्री शून्य छ ।’

तरकारी बिक्री हुन छाडेपछि छिमेकीहरूलाई निःशुल्क वितरण गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले तरकारी बिक्री नभएपछि खेतीमा लागेको खर्च उठाउन र परिवारको जीविकोपार्जन गर्न समस्या भएको जनाए ।

निषेधाज्ञाका कारण कालीमाटीका किसान नेबबहादुर ओलीले दुई रोपनी जग्गामा लगाएको जग्गा काटेर गाईबस्तुलाई खुवाएका छन् । ‘बारीमा बन्दा छिप्पिँदै गयो, नकाटे अर्को तरकारी लगाउन पनि समस्या हुने देखियो,’ उनले भने, ‘केही तरकारी छरछिमेकमा बाँडियो, आधाजसो गाईबस्तुलाई खुवाउनुपर्‍यो ।’ उनका अनुसार एक रोपनी जग्गामा लगाएको टमाटर पनि कुहिने क्रम सुरु भएको छ । उनले तरकारी बिक्री नहुँदा लगानी उठाउन गाह्रो भएको गुनासो गरे । गत वर्ष गरिएको लकडाउनमा उनले झन्डै २ लाख रुपैयाँ घाटा व्यहोरेका थिए ।

निषेधाज्ञा लम्बिए र बाहिरका खरिदकर्ता नआए यो वर्ष कपुरकोटका किसानले उत्पादन गरेको तरकारी पनि कुहिएर जाने तरकारी हाटबजार व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिव तिलक शर्माका अनुसार कपुरकोट र आसपासका गाउँका बासिन्दाले हाटबजारमा ल्याई तरकारी बिक्री गर्दै आएका छन् ।

प्रकाशित : असार १२, २०७८ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×