कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्थानीय तहहरूको बजेट सार्वजनिक

कोरोना नियन्त्रण लक्षित बजेटमा सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता
प्रदेश १ ब्युरो

विराटनगर — आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ का विभिन्न स्थानीय तहले बिहीबार अनुमानित बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार जिल्लाका स्थानीय तहहरूले निर्धारित समयमै बजेट ल्याएका हुन् ।

स्थानीय तहहरूको बजेट सार्वजनिक

ओखलढुंगाका आठै स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । अधिकांश स्थानीय तहले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । कोभिड १९ ले पारेको प्रभावलाई केन्द्रित गरी बजेट विनियोजन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

चिशंखुगढी गाउँपालिकाले विभिन्न आन्दोलनका क्रममा सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने योजना ल्याएको छ ।

चम्पादेवी गाउँपालिकाले केन्द्रीय विद्युत् प्रसारण जोड्ने कामलाई प्राथमिकता दिँदै स्वास्थ्य शिक्षा, कृषि पर्यटन र सामाजिक विकासमा बजेट विनियोजन गरेको छ । कुल बजेट अंक धेरै देखिए पनि पुँजीगततर्फ अधिकतम ४० प्रतिशत रकम मात्र विनियोजित छ । केही स्थानीय तहको त २० देखि ३० प्रतिशत मात्र बजेट पुँजीगततर्फ विनियोजन गरिएको छ । बाँकी सबै चालु शीर्षकमा छन् ।

स्थानीय तहमा निर्वाचित भइसकेपछिको अन्तिम कार्यकाल भएकाले पनि जनप्रतिनिधिहरूले लोकप्रिय शीर्षकहरूमा बजेट विनियोजन गरेका छन् । ‘कनिका छरे जसरी बजेट विनियोजन गरेकै कारण देखाउन लायक विकासका पूर्वाधार बन्न सकेका छैनन,’ उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले भने, ‘यो प्रवृत्तिको अन्त्य नभएसम्म परिवर्तन सम्भव छैन ।’

ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापनसहित हरेक स्वास्थ्य संस्थालाई आधुनिकीकरण गर्दै लैजाने नीतिअनुरूपको बजेट व्यवस्था गरेको छ । बिहीबार जिल्लाका अधिकांश गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सिरिङवाका गाउँपालिका प्रमुख कोरोना संक्रमित भई उपचारमा रहेकाले बजेट रोकिएको छ । अघिल्ला वर्ष सडकलाई प्राथमिकता दिएका स्थानीय तहले यो बजेटमा शिक्षा क्षेत्रलाई जोड दिएका छन् । उत्कृष्ट विद्यार्थीलाई ल्यापटप, नगद पुरस्कारदेखि १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था पनि गरिएको छ ।

धरान उपमहानगरको २ अर्ब ३ करोड ६४ लाख

धरान उपमहानगरले २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो चालु आर्थिक वर्षभन्दा ३१ करोड २८ लाख ५६ हजार ५ सय रुपैयाँले बढी हो । उपमहानगरले कोरोना महामारीजस्ता महामारी नियन्त्रण, शिक्षा, युवा तथा खेलकुदमा प्राथमिकता दिंदै बजेट विनियोजन गरिएको छ । त्यसैगरी सहरी योजना तथा भौतिक पूर्वाधार र स्वास्थ्यमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ ।

व्ययतर्फ सामाजिक विकासमा १ करोड, आर्थिक विकासमा ९० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख, पर्यटनमा ३५ लाख, सूचना तथा सञ्चारमा ३० लाख, साहित्य कला र संस्कृतितर्फ २५ लाख, व्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा ५० लाख, मजदुर कल्याड कार्यक्रममा ५ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणमा ७५ लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरको आन्तरिक आयतर्फ २७ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय समानीकरण अनुदान ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदान २ करोड १ लाख ४७ हजार, संघीय राजस्व बाँडफाँट १७ करोड ३ लाख ८६ हजार रुपैयाँ प्रस्तुत गरिएको छ ।

इटहरीको बजेट २ अर्ब १७ करोड

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बिहीबार २ अर्ब १७ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु वर्षको तुलनामा ३९ करोड ४५ लाख रुपैयाँले बढी हो ।

आगामी आर्थिक वर्षका लागि संघीय समानीकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपूरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजस्व बाँडफाँट १५ करोड १६ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) २ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँट मालपोत रजिस्ट्रेसन ३२ करोड आन्तरिक स्रोतबाट ४१ करोड, मर्मत सम्भार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड, ऋण प्राप्त गर्ने ५ करोड नगद मौज्दात परिवर्तनबाट २९ करोड नगद मौज्दातबाट आय गर्ने उपमहनगरले लक्ष्य राखेको छ ।

उपमहानगरले शीतभण्डारसहितको आधुनिक कृषि बजारको निर्माण कार्य चालु वर्षबाट सुरु गर्ने लक्ष्य राखेको छ भने कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि भने बजेटले खासै चासो देखाएको छैन । चालु वर्षमा समेत भौतिक निर्माण मर्मत तथा सुधारलाई अघि बढाइने उपप्रमुख गौतमले बताइन् ।

आगामी आर्थिक वर्षमा कृषि तथा पशु विकास कार्यक्रमका लागि २ करोड ५० लाख र शिक्षा क्षेत्रका लागि २ करोड रकम विनियोजन गरिएको छ । बेलबारी नगरपालिका नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार र पुँजीगततर्फ ४८ करोड ४३ लाख ५६ हजार बजेट विनियोजन गरेको बताइन् ।

रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख ४५ हजार ९ सय २२ रुपैयाँको प्रस्तुत गरेको छ । नगर उपप्रमुख केशवकुमारी खरालले कृषि तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर प्रस्तुत गरेको बताइन् ।

यस्तै, सुनवर्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका, मिक्लाजुङ गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । यस्तै, आउँदो वर्षका लागि ७० करोड ७१ लाख ८० हजारको बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाले बिहीबार ल्याएको बजेट तथा नीति कार्यक्रम ल्याए । रौतामाई गाउँपालिकाले पालिका केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्ने, पालिकाको प्रशासनिक भवन, मुर्कुची–पुवाँरे भन्ज्याङ सडक कालोपत्रे जस्ता योजनालाई गौरवको आयोजनाको रूपमा लिइएको हो । बजेटमा गरिबलाई ओढ्ने, सुत्केरीलाई कोसेली, विद्युत् विस्तार, सडक तथा सिँचाइ विस्तार, कृषि, स्वास्थ्यजस्ता कार्यक्रममा प्राथामिकता दिइएको देखिन्छ ।

पूर्वाधार प्राथमिकतामा

भद्रपुर नगरपालिकाले सामाजिक विकासमा २९ करोड ८९ लाख ३० हजार रकम विनियोजन गरेको भद्रपुरले पूर्वाधार विकासमा भने ३४ करोड ३२ लाख रुपैयाँ विनियोजन गर्दै बजेट ल्याएको छ । बिर्तामोड नगरपालिकाले पनि पूर्वाधार विकासलाई नै प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ ।

मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिकाले पनि पूर्वाधारलाई नै बढी बजेट विनियोजन गरेको छ । बिहीबार नै गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका र बुद्धशाति गाउँपालिकाले पनि बजेट ल्याए ।

सीमा घटाउँदा नगरसभा स्थगित

झापाको एउटाबाहेक १४ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । शिवसताक्षी नगरपालिकाले भने नगरका ६ जना वडाध्यक्षले विरोध जनाएपछि बिहीबार बजेट प्रस्तुत गर्न सकेन । वडामा चालु वर्षको भन्दा कम बजेट सीमा दिएको भन्दै शिवसताक्षीका ४, ६, ७, ८, ९ र १० नम्बरका वडाध्यक्षले विरोध जनाएका थिए ।

नगरले वडाहरूलाई ४० लाखको मात्र सीमा दिएको थियो । वडाहरूले चालु वर्ष ६० लाख बजेट खर्च गरिरहेका छन् । ‘आगामी आर्थिक वर्षका लागि १ करोड वडा सिलिङ हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ ६ नम्बरका वडाध्यक्ष मनोज खुलाल कार्कीले भने ।

स्थगित नगरसभा असार १७ गतेका लागि तोकिएको कार्कीले बताए । वडा सिलिङ नबढे आगामी नगरसभामा पनि विरोध जनाउने इजमले बताए ।

-विनोद भण्डारी (विराटनगर), कुम्भराज राई (ओखलढुंगा), आनन्द गौतम (ताप्लेजुङ), प्रदीप मेन्याङ्बो (सुनसरी), सुम्निमा चाम्लिङ (इटहरी), डिल्लीराम खतिवडा (उदयपुर), र अर्जुन राजवंशी (बिर्तामोड)

प्रकाशित : असार ११, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?