१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पढाइमा प्रोत्साहन गर्न छात्रालाई साइकल

अर्जुन राजवंशी

बिर्तामोड — वडाको अधिकांश भाग नदीले घेरिएको छ । वर्षको ५ महिना आवतजावतमा कठिनाइ भोग्नुपर्छ । सवारी साधन पाइँदैन । गौरीगन्ज गाउँपालिका–१ महाभाराका स्थानीयको दैनिकी कष्टकर छ ।

पढाइमा प्रोत्साहन गर्न छात्रालाई साइकल

पूर्वाधार विकास पर्याप्त हुन नसकेको गौरीगन्ज–१ मा शिक्षा र स्वास्थ्यको अवस्था पनि कमजोर नै छ । नदी तर्न नसकेकै कारण धेरै बालबालिका स्कुल जानबाट वञ्चित छन् । जाँदै गरेका पनि बीचमै पढाइ छाड्न बाध्य हुन्छन् ।

आदिवासी समुदायको बाहुल्य रहेको यहाँ विविध समस्या देखाउँदै छोरीलाई स्कुल पठाउने चलन छैन । पठाइहाले पनि नजिकैको प्राथमिक या आधारभूत विद्यालयसम्म मात्र । टाढाको विद्यालयमा पढ्न नपठाउँदा वडाका छोरीहरूले माध्यमिक तहसम्मको शिक्षा पाउन नसकिरहेको अवस्था छ ।

वडाको उक्त समस्यालाई सम्बोधन गर्न गौरीगन्ज–१ नम्बर वडा कार्यालयले छोरी–बुहारीलाई निःशुल्क साइकल वितरण कार्यक्रम अघि बढाएको छ । वडाले गत वर्षदेखि साइकल वितरण सुरु गरेको हो ।

गत वर्ष कक्षा ११ मा अध्ययनरत वडाभित्रका सबै ३५ जना छात्रालाई साइकल वितरण गरिएको थियो । उक्त कार्यक्रमको प्रभावले यस वर्ष वडाका ४७ जना छात्राले कक्षा ११ अध्ययन गरिरहेका छन् । वडा कार्यालयले यस वर्ष पनि ४७ जना सबैलाई शुक्रबार साइकल वितरण गरेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।

‘साइकल वितरण गर्न थालेपछि छोरी–बुहारीलाई क्याम्पस पढ्न पठाउनेको संख्या बढेको देखिन्छ,’ वडाध्यक्ष राजवंशीले भने, ‘साइकल पाएपछि छात्राहरूलाई पनि समयमै क्याम्पस पुग्न र घर फर्किन सहज भएको छ ।’ वडास्तरीय कार्यक्रमअन्तर्गत यस वर्ष ६० लाख रुपैयाँको साइकल वितरण गरेको उनले बताए ।

वडाले सामुदायिक विद्यालय अध्ययनरत छात्रालाई मात्र साइकल वितरण गरेको वडासचिव भोजराज अधिकारीले बताए । साइकलले छात्रालाई विद्यालय जान सहज हुनुका साथै बाटोमा सुरक्षाका हिसाबले पनि प्रभावकारी देखिएको अधिकारीले बताए । साइकलले विद्यालय जान/आउन सहज बनाउने विद्यार्थी सुमित्रा हस्दाले बताइन् । ‘एउटा साइकल नहुँदा मेरो पढाइ झन्डै रोकियो,’ उनले भनिन्, ‘वडा कार्यालयले साइकल दिन्छ भन्ने थाहा पाएपछि परिवारले मलाई पढ्न पठाएको हो,’ उनले भनिन् ।

साइकल वितरणले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई पनि समाधान गर्ने बालकल्याण माविका प्रधानाध्यापक भीम कोइरालाले बताए । उनले गौरीगन्ज–१ ले जस्तै अन्य वडाले पनि छात्रालाई साइकल वितरण गरे विद्यालय आउने बालबालिका तथा छात्राको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : असार ११, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?