कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हराएका डेढ दर्जन सीमास्तम्भको भएन खोजी

विनोद भण्डारी

विराटनगर — मोरङमा डेढ दर्जन सीमास्तम्भ हराएका छन् । स्तम्भ भएको स्थानसमेत पत्ता लाग्न नसक्ने अवस्था देखिएको छ ।

हराएका डेढ दर्जन सीमास्तम्भको भएन खोजी

हराएका र बाढीले बगाएका सीमास्तम्भ खोजी गरी नेपाल–भारत संयुक्त फिल्ड सर्भे टोलीले नयाँ निर्माण गर्नुपर्ने हो । कोभिड–१९ का कारण टोली आउन नसक्दा खोजी र निर्माणको काम हुन नसकेको सीमा अधिकारीको भनाइ छ ।

पश्चिममा केसलिया खोलादेखि पूर्वमा रतुवामाई खोलासम्म ६३ किलोमिटर सिमाना जोडिएको मोरङमा सानाठूला १ सय २३ वटा सीमास्तम्भ थिए । अघिल्लो वर्ष बक्राहा खोलाले दुइटा सहायक स्तम्भ बगाएको थियो । गत वर्ष पनि बक्राहा खोलाले रतुवामाई नगरपालिकाको सोनापुर क्षेत्रमा रहेका १५८/५, ११, १२, १३, १४ र १५ नम्बरका ६ वटा साना स्तम्भ बगाएको सशस्त्र सीमा सुरक्षा बल स्रोतले बताएको छ । मोरङमा २९ वटा मुख्य स्तम्भ, ३४ वटा सहायक, ५९ वटा साना स्तम्भ र एउटा रिफरेन्स स्तम्भ थिए ।

संयुक्त सर्भे टोली फिल्डमा आउन नसक्दा बाढीले गाएका र बेपत्ता भएका सीमास्तम्भ खोजी गर्ने र दशगजा क्षेत्रको अतिक्रमण हटाउने काममा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।‘डेढ दर्जन साना सीमास्तम्भ बेपत्ता छन् । दशगजा क्षेत्र अतिक्रमण गरेर घर टहरा बनाइएको छ,’ उनले भने, ‘यसबारे परराष्ट्र मन्त्रालयमा जानकारी पठाएका छौं ।’

दशगजा अतिक्रमण

भारतसँग जोडिएको विराटनगर महानगरपालिका १७ को दशगजा क्षेत्रमा मात्र एक सय ४ वटा घर टहरा निर्माण गरेर बसोबास गरेको पाइएको छ । जोगबनीको मुख्य नाकादेखि मटेरुवासम्मको करिब एक किलोमिटर दशगजा क्षेत्रमा नेपालतर्फ ६४ र भारततर्फ ४० वटा घर टहरा निर्माण गरेर बसोबास गरिएको छ ।

त्यही क्षेत्रको दशगजामा घर, टहरादेखि मन्दिर र मस्जिदसम्म निर्माण गरिएको छ । विराटनगर १७ को दशगजामा राम मन्दिर र १५ को दशगजामा दुर्गा मन्दिर बनाइएको छ । जोगबनीस्थित भारतको ल्यान्ड कस्टम अफिसको चेक पोस्ट र प्रहरी बिट पनि दशगजामै छ । विराटनगर १७ मा पर्ने दशगजामा भारतीय पक्षले मदरसा निर्माण गरेको छ ।

प्रकाशित : असार ११, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?