इटहरी उपमहानगरको बजेट २ अर्ब १७ करोड
इटहरी — इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमेयर लक्ष्मी गौतमले बिहीबार सम्पन्न नवौं नगरसभामा आगामी आवका लागि २ अर्ब १७ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरले गत आवमा १ अर्ब ७८ करोडको बजेट प्रस्तुत गरेको थियो । यो चालु वर्षको तुलनामा ३९ करोड ४५ लाख रुपैयाँले बढी हो ।
आगामी आर्थिक वर्षका लागि संघीय समानिकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख रुपैया विनियोजन गरेको छ ।
यस्तै, प्रदेश समपुरक अनुदान १ करोड, संघीय राजस्व बाँडफाँड १५ करोड १६ लाख, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) २ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड आन्तरिक स्रोतबाट ४१ करोड, मर्मत संभार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड, ऋण प्राप्त गर्ने ५ करोड नगद मौज्दात परिवर्तनबाट २९ करोड नगद मौज्दातबाट आय गर्ने उपमहनगरले लक्ष्य राखेको छ ।
उपमहानगरले शित भण्डारसहितको आधुनिक कृषि बजारको निर्माण कार्य चालु वर्षबाट सुरु गर्ने लक्ष्य राखेको छ । जसका लागि ५ करोड ५८ लाख रकम विनियोजन गरिएको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि भने बजेटले खासै चासो देखाएको छैन । चालु वर्षमा समेत भौतिक निर्माण मर्मत तथा सुधारलाई अघि बढाइने उपमेयर गौतमले बताइन् ।
आगामी आर्थिक वर्षमा कृषि तथा पशु विकास कार्यक्रमका लागि २ करोड ५० लाख र शिक्षा क्षेत्रका लागि २ करोड रकम विनियोजन गरिएको छ ।
प्रकाशित : असार १०, २०७८ २१:५९