धनकुटाको पाख्रिबास नगरपालिकामा नगरसभा चलिरहँदा तोडफोड- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटाको पाख्रिबास नगरपालिकामा नगरसभा चलिरहँदा तोडफोड

रमेशचन्द्र अधिकारी

धनकुटा — नगरसभा चलिरहँदा धनकुटाको पाख्रिबास नगरपालिकामा तोडफोड भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला र नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीको अगुवाइमा तोडफोड भएको नगर प्रमुख बिर्खबहादुर राईले जानकारी दिए ।

तोडफोडबाट नगरपालिका भवनको झ्यालका अधिकांस सीसा फुटेको, ५५ वटा कुर्सी तोडफोड र कार्यालयका गमला फुटाइएको मेयर भण्डारीले जानकारी दिए । ‘दुःखद घटना भएको छ, हामीमाथि आक्रमणको प्रयास गरियो,’ उनले भने, ‘तर हामीले कुनै प्रतिवाद गरेनौं । घटनाबाट कम्तिमा पाँच लाखको क्षति पुगेको छ ।’

वडा भेला नगरी आफूखुसी नगरसभा गरिएकोले आफूहरु विरोधमा उत्रनु परेको उक्त समूहको भनाइ छ । वडाध्यक्ष निरौला, कांग्रेस नगरसभापति भण्डारीसहित जनता समाजवादीका जितेन्द्र माम्पाङ, माओवादी केन्द्रका बलराम खड्का लगायतको समूह तोडफोडमा सामेल रहेको नगरपालिकाको दाबी छ । उनीहरुले नगरसभा स्थगित गरिनु पर्ने मागसहित प्रदर्शन गरेका थिए ।

यसैबीच धनकुटाको महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ६४ करोड ५४ लाख ९५ रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख मञ्जु कार्की अधिकारीले सार्वजनिक गरेको बजेटमा वित्तीय समानीकरणमा १० करोड ३३ लाख, केन्द्र सरकार राजश्व बाँडफाडबाट ७ करोड ५५ लाख १० हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ५८ लाख २८ हजार रकम उल्लेख गरिएको छ । यस्तै, महालक्ष्मी नगरपालिकाले नगरभित्रका एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । श्रीमतीको निधन भएको वा अविवाहित ५० वर्ष माथिका पुरुषलाई उक्त भत्ता दिइने नगर प्रमुख पर्शुराम नेपालले बताए । भत्ता यसै आर्थिक वर्षदेखि वितरण सुरु गरिने उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा धनकुटा कांग्रेस सचिव थापासहित दुईको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस धनकुटा जिल्ला सचिव ५० वर्षीय कृष्णबहादुर थापासहित दुई जनाको आइतबार राति मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा–९ विराटचोकमा पूर्व पश्चिम राजमार्गमा टिपर र को ३६ प ५९७९ नको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सोही क्रममा पूर्वतर्फ जाँदै गरेका सचिव थापा सवार को २९ प ९५५० नं. को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–७ मुगाका थापासँग सवार सोही ठाउँका २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । टिपरसँग ठक्कर दुर्घटना परेको अर्को मोटरसाइकलमा सवार इटहरी–४ का ३५ वर्षिय दिपु साहको पनि ज्यान गएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेस धनकुटाले थापा निधनको शोकमा तीन दिनसम्म कार्यालय बन्द गर्ने जनाएको छ । थापाको मूलघाटस्थित तमोर नदी किनारमा सोमबार अन्त्येष्टि गरिने कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

प्रकाशित : असार ७, २०७८ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×