२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बीपीमा बेथिति : एक्सरे र ल्याब रिपोर्ट दिनै ढिलाइ

२ घण्टामा दिनुपर्ने रिपोर्ट २४ घण्टामा, पुराना उपकरणका कारण समस्या

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समयमै एक्सरे र ल्याब रिपोर्ट दिन नसक्दा बिरामी अतिरिक्त खर्च गर्दै अन्यत्र जान बाध्य छन् । प्रतिष्ठानका पदाधिकारीहरूले सूचना प्रकाशित गरेर बिहानको समयमा सेवाग्राहीले दिएको रगत र दिशा पिसाबको कुनै पनि ल्याब टेस्टको रिपोर्ट २ घण्टामा उपलब्ध गराउने भनेको छ ।

बीपीमा बेथिति : एक्सरे र ल्याब रिपोर्ट दिनै ढिलाइ

सेवाग्राहीले भने २४ घण्टापछि मात्र रिपोर्ट पाउने गरेको गुनासो गरेका छन् । एक्सरेलगायत सामान्य ल्याबको रिपोर्ट २४ घण्टामा मात्र पाउनु भनेको सेवाग्राहीले अतिरिक्त खर्च व्यहोर्न बाध्य हुनु हो ।

प्रतिष्ठानले सामान्यतया बिहान ८ बजेदेखि १२ सम्मका एक्सरे र ल्याब टेस्टहरूका रिपोर्ट अपराह्न २ बजेपछि दिने भनेको छ । तर व्यवहारमा ठीकविपरीत भएको मोरङको बेलबारी नगरपालिका २ बाट आएका रत्नमाया तामाङले बताइन् । उनले भनिन्, ‘निषेधाज्ञाका बेला सार्वजनिक सवारीसाधन नचलेकाले बिरामी पनि कम हुने भएकाले झन छिटो सेवा पाइला भनेर आएको रगतको एउटा रिपोर्ट निकाल्न २४ घण्टा लगाइदिए ।’

मंगलबार बिहान श्रीमान्सँग मोटरसाइकलमा आएकी तामाङले सामाजिक स्वास्थ्य बिमाको पुर्जीबाट मेडिसिन विभागको ओपीडी हुँदै ११ बजे ल्याब टेस्टका लागि रगत दिएकी थिइन् । उनका अनुसार ल्याब टेस्टका लागि ओपीडीमा बसेका चिकित्सकहरूले लिभर फङ्सन टेस्ट (एएलटी, एएसटी, अल्कालाइन फोस्फेटेस, एल्बुमिन, विलुरुविन), लिपिड प्रोफाइल टेस्ट (टोटल कोलेस्टेरोल, एचडीएल कोलेस्टेरोल, एलडिएल कोलेस्टोरल, ट्राइग्लिसिराइड) एस क्रिटिनिन, युरिक एसिड, सुगर फास्टिङका लागि रगत र पिसाबको नमुना दिएकी थिइन् ।

भीडभाड नभएका बेलासमेत सरदर दुईदेखि चार घण्टामा रिपोर्ट दिनुपर्नेमा बुधबार दिउँसो आउनु भनेर फर्काएको तामाङले बताइन् । कोरोना महामारीका कारण सार्वजनिक सवारीसाधन नचले पनि एम्बुलेन्स र निजी मोटरसाइकल र स्कुटीमा आउने बिरामीको संख्या दैनिक ४ सयदेखि ६ सय जनाभन्दा बढी पुग्छ ।

प्रतिष्ठानको केन्द्रीय प्रयोगशालामा भएको बायोकेमेस्ट्री ल्याबको मेसिन नौ वर्ष पुरानो छ । त्यसको क्षमता प्रतिघण्टा ३ सयवटा मात्र रिपोर्ट दिन सक्छ । बायोकेमेस्ट्री ल्याब विभागका प्रमुख प्रा.डा. निर्मल बरालले भने, ‘दिनुपर्ने त दुई–तीन घण्टाभित्रै हो । दक्ष जनशक्ति नभएको होइन । तर हामीसँग पुरानो एउटामात्र मेसिन छ । त्यसले कति धानोस् ।’

उनका अनुसार प्रतिघण्टा ८ सय ल्याब रिपोर्ट निकाल्ने मेसिन प्रतिष्ठानमा कम्तीमा पनि ४ वटा हुनुपर्ने तर एउटा पुरानो मेसिनले धान्नुपरेको छ ।

उनले बायोकेमेस्ट्रीसम्बन्धी ल्याबटेस्ट गर्ने बिरामीको चाप अत्यधिक भएकाले पटकपटक व्यवस्थापनलाई नयाँ र दुई घण्टाभित्र रिपोर्ट निकाल्न सक्ने आधुनिक मेसिन खरिद गर्न माग गरेको बताए । पछिल्लो समयमा व्यवस्थापन पक्षसँग रिपोर्ट दुरुस्त आउने र सेवाग्राहीले अनलाइनमार्फत नै आफ्नो रिपोर्ट हेर्न पाउने ब्रान्डिड बायोकेमेस्ट्री मेसिन माग गरेको पनि बरालले बताए ।

रेडियोलोजी विभागका डेमोस्ट्रेटर बीएमआईटी कार्यक्रम तथा टेक्निकल इन्चार्ज मुकेशकुमार झाले पनि एक्सरे, भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डप्लर अल्ट्रासाउन्ड गराउने बिरामीको चाप अत्यधिक भएको तर मेसिनहरू भने १५ देखि २० वर्ष पुरानो भएकाले रिपोर्ट निकाल्नमा ढिलाइ हुने गरेको स्विकारे ।

उनले भने, ‘एउटा सामान्य एक्सरे गरेको आधा घण्टमा रिपोर्ट त दिने प्रयास गरिरहेका छौं । प्रतिष्ठानमा दैनिक २ सय देखि ३ सय सामान्य एक्सरे हुने गरेका छन् । इमर्जेन्सीमा करिब दैनिक १ सय २० वटा एक्सरे हुने गरेको छ । भिडियो एक्सरे अल्ट्रासाउन्ड ७० देखि ८० वटा हुने गरेको छ । डप्लर अल्ट्रासाउन्ड पाँचदेखि सात वटा हुने गरेको छ । त्यस्तै बायोप्सी एक्सरे पनि दैनिक पाँच सातवटा हुने गरेको छ । तर के गर्ने मेसिन नै पुरानो र थोरै छ ।’ उनका अनुसार रेडियोलोजी विभागअन्तर्गत पुरानो प्रविधिको डिजिटल एक्सरे २ वटा र एनालग प्रविधिको एउटा छ भने इमर्जेन्सीमा एउटा छ ।

पुरानो प्रविधिमा आधारित भएका ती एक्सरे मेसिनले दिएका कतिपय रिपोर्टहरूका ‘इमेज क्वालिटी’ नहुने भएकाले चिकित्सकले दोहोर्‍याइ तेहेर्‍याइ एक्सरे गर्न लगाउने गरेको पनि झाले बताए । प्रतिष्ठानका नाक, कान, घाँटी (इएनटी), बालरोग, मेडिसिन विभागका विभिन्न युनिट, हाडजोर्नी, सर्जिकल लगायतका ओपीडबाट आउने बिरामीका लागि एउटामात्र एक्सरे मेसिन भएकाले लामो पालो पर्खिनुपर्ने, एक्सरे गरेपछि इमेज क्वालिटी नहुने समस्याले ढिलाइ हुने गरेको झाले बताए ।

प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका प्रमुख एडिसनल प्रोफेसर डा. नारायण भट्टराईले आफ्नो विभागमा खासै समस्या नभएको दाबी गरे ।

प्रकाशित : असार १०, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?