२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘सबै क्षेत्रमा बजेट कम’

विगतभन्दा यस वर्ष वास्तविक धरातलमा टेकेर यथार्थपरक बजेट ल्याएको दाबी 
देवनारायण साह

विराटनगर — प्रदेश १ सभामा मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल सकिएको छ । छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आफूले गत, विगतभन्दा यस वर्ष वास्तविक धरातलमा टेकेर यथार्थपरक बजेट ल्याएकाले सबै क्षेत्रमा बजेट घटेको जवाफ दिएका छन् । 

‘सबै क्षेत्रमा बजेट कम’


पूजाआजामा बजेट विनियोजन भएकोप्रति प्रदेशसभा सदस्यहरूले गरेको आलोचना गर्नु अनुचित भएको आङ्बुहाङले बताएका हुन् । मनोरञ्जन, संस्कृति, धर्म शीर्षकमा २२ करोड ६० लाख विनियोजन गरेको उनले बताए ।

मनोरञ्जनात्मक तथा खेलकुद सेवातर्फ १८ करोड ७३ लाख, अनुसन्धान तथा विकास सांस्कृतिक, धार्मिक, भाषा, कला, संस्कृति, पुरातत्त्व संरक्षण, पुस्तकालय विकास कार्यक्रमका लागि १ करोड ३१ लाख छुट्याइएको छ ।

यस्तै मनोरञ्जन, संस्कृति, धर्म अन्य वर्गीकरण नभएको शीर्षकमा २ करोड ५६ लाख ८४ हजार विनियोजन गरिएको छ । मनोरञ्जनात्मक तथा खेलकुद सेवा शीर्षकअन्तर्गत राष्ट्रिय युवा परिषद् संघ ससर्त अनुदानमा १९ लाख, राष्ट्रिय खेलकुद परिषद् संघ ससर्त अनुदान २ करोड ७७ लाख, राष्ट्रिय युवा संघ परिचालन ससर्त अनुदान ५ करोड ५५ लाख, युवा तथा खेलकुद कार्यक्रमहरू १० करोड २२ लाख विनियोजन गरेको आङ्बुहाङले बताए ।

पर्यटन विकास कार्यालयमा १ करोड ४८ लाख २७ हजार, प्रदेश संग्रहालयका लागि १ करोड ८ लाख ५७ हजार बजेट विनियोजन गरिएको उनले जनाए । पुँजीगतभन्दा चालुतर्फको खर्च बढी भएको प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्न यथार्थपरक नभएको आङ्बुहाङको भनाइ छ । ‘पुँजीगततर्फ १५ अर्ब ५ करोड र चालुतर्फ विनियोजित बजेटमा विकास कार्यक्रम खर्च ७ अर्ब ४० करोड र स्थानीय तहको वित्तीय हस्तान्तरण ३ अर्ब २२ करोड रहेको छ,’ उनले भने, ‘यसरी पुँजीगत विकास खर्चतर्फ कुल बजेटको ७९ प्रतिशत अर्थात् २५ अर्ब ६७ करोड ७९ लाख बजेट विनियोजन गरेको छु ।’

ऐनमा व्यवस्था भएअनुसार पदाधिकारी र कर्मचारीहरूको भत्ता बजेटमा कटौती भए पनि त्यसका लागि बजेटको व्यवस्था गर्ने आङ्बुहाङले प्रतिबद्धता जनाए ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारलगायत समग्र स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत ढंगले बजेट विनियोजन गर्न नसकेको उनले स्विकारे । ‘प्रदेशमा आवश्यकता अनन्त र स्रोतसाधन सीमित भएकाले कुनै पनि क्षेत्रमा आवश्यकताअनुसारको बजेट विनियोजन हुन सकेको छैन,’ आङ्बुहाङले भने, ‘अस्पतालहरूको स्तरोन्नतिका लागि भौतिक पूर्वाधारसँगै जनशक्तिको पनि व्यवस्थापन गर्दै लग्ने व्यवस्था गर्छु ।’ बजेटमा कोभिड–१९ बाट जोगिन जनचेतना र रोग लागेपछि भौतिक निर्माण र उपकरणहरू खरिद गर्ने विषयमा वास्तविक धरातलमा नै टेकेर बजेट विनियोजन गरेको उनले प्रष्टीकरण दिए ।

शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा, सीपमूलक शिक्षा, प्रविधिमैत्री शिक्षाका लागि प्रदेशको सामर्थ्यकै आधारमा बजेट विनियोजन गरेको आङ्बुहाङको भनाइ थियो ।

गत, विगत वर्षको बजेटमा मध्यकालीन खर्च संरचनाअनुसार शतप्रतिशत बजेट नआएको तर आफूले यस वर्ष मध्यकालीन खर्च संरचनाका आधारमाा बजेट ल्याएको उनले दाबी गरे ।

प्रकाशित : असार ९, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?