कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुल बन्नै ११ वर्ष

उदयपुर — प्राविधिक र आर्थिक समस्या आउँदा चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बन्न ११ वर्ष लागेको छ । २०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थप गरेर अहिले आएर काम सकिएको छ ।

‘अन्तिम पटक थपिएको म्याद मात्रै तीव्र गतिमा काम भएकाले निर्माण सम्पन्न भयो,’ स्थानीय भागव सुवेदीले भने, ‘पहिलेकै गतिमा भएको भए पुल निर्माण सम्पन्न हुन अझै १० वर्ष लाग्थ्यो ।’ पुलको मुख्य भागको काम सकिएको छ । स्ल्याप ढलान, रेलिङको काम भइसकेको र अब स्पान जोड्ने बीचको भागको ढलानको काम भइरहको गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ ।

पुलसँग सडकलाई जोड्ने दुई छेउमा बाँध निर्माण पनि सकिएकाले दुई सातामा पुलको पूर्ण रूपले काम सकिने योजना कार्यालयले जनाएको छ । पुल निर्माणको सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट दिक्तेल सडक आयाजनाले गर्दै आएको छ ।

‘ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ,’ चौदण्डीगढी नगरपालिका–५ वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘पुलको पिलर राख्नुपर्ने खोलाको पानीमुनिको सतहमा ठूलो ठूलो रूख भेटिएकाले पनि काम ढिलाइ भएको हो ।’ पुल निर्माणको ठेक्का महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले लिएको हो । तर सुरु सुरुमा ठेक्का लिएको महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयले बताए । ‘पुल निर्माण कार्य सकिएको छ,’ निर्माण कम्पनीका केदार तिमल्सिनाले भने, ‘आर्थिक र प्राविधिक कारणले काममा ढिलाइ भएको हो ।’ विशेष गरेर पानीको सतहमुनि भएको ठूलठूला रूखका कारण ३ वर्षसम्म काममा अवरोध गरेको उनले बताए ।

पुलको लागत करिब ११ करोड २७ लाख रुफैयाँ रहेको गाईघाट दित्तेल सडक आयोज प्रमुख गोविन्दप्रसाद खकुरेलले बताए । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) हुनेछ । ‘एक वर्षअघि नै पुल निर्माण सम्पन हुनुपर्ने हो,’ प्रमुख खकुरेलले भने, ‘तर विभिन्न कारण देखाउँदै ठेकेदारले काम गर्न नसक्दा ढिलो भएको छ ।’ आकस्मिक कुनै ठूलो विपत् आइलागेन भने दुई सातामा पुल पूर्ण रूपमा सम्पन्न हुने उनले बताए ।

९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ । पुल निर्माणमा लापरबाही गरेका करण निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवानासमेत तिरेको छ ।

प्रकाशित : असार ८, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?